बुटवल । नेपाल पत्रकार महासंघको आवरणमा खुलमखुला राजनीति गर्ने लुम्बिनी प्रदेशका एक जना पत्रकार निलम्बनमा परेका छन् ।
खेलकुद मन्त्रालय काँग्रेस आफैंले राख्नुपर्ने तथा पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले गरेका नियुक्ति खारेजीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका सचिव जयसिंह केसीलाई आफ्नै संस्थाले कारबाहीस्वरुप निलम्बन गरेको हो ।
उनले सो व्यहोराको ज्ञापनपत्र बुझाएको समाचार विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित भएलगत्तै प्रदेश अध्यक्ष बसन्त गिरीले उनलाई स्पष्टीकरण सोधेका छन् । लुम्बिनी प्रदेश सचिवको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ध्यानाकर्षणपत्र महासंघको विधान, नीति, निर्देशन, आचारसंसहिता तथा पत्रकार अनुशासनको बर्खिलापमा भएको गिरीको भनाइ छ ।
यसअघि महासंघका प्रदेश सचिव केसीले प्रधानमन्त्री देउवालाई भेटेर खेलकुद मन्त्रालय कांग्रेसले लिनुपर्ने, एमाले सरकारले नियुक्त गरेका सबै नियुक्ति खारेज गर्नुपर्ने लगायत विभिन्न माग राख्दै ध्यानाकर्षणपत्र बुझाएका थिए । उनको हर्कतको प्रेस चौतारी नेताल लगायत पत्रकारका विभिन्न संगठनले विरोध जनाएका छन् ।
आम पत्रकारहरूको समस्या समाधान तथा उनीहरूको हकहित र अधिकारका लागि स्थापित महासंघमा नेतृत्व गर्नेहरूले खुलमखुला आफ्नो व्यक्तिगत आश्थाको राजनीति गर्नु व्यावसायिक पत्रकारहरूको भावनामा चोट पुर्याउनु भएको भन्दै उनको विरोध भइरहेको छ ।
नेपाल पत्रकार महासंघको विधान २०६० को पाँचौ संसोधन २०७५ को परिच्छेद ८ अनुसार अनुसानको कार्वाहीका लागि सचिव केसीसँग स्पष्टीकरण माग गरिएको छ । साथै स्पष्टीकरण नबुझाए सम्म नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको सचिवको हैसियतले कुनै पनि गतिविधि वा क्रियाकलाप तथा पत्रकार महासंघ सम्बद्ध कार्यक्रमहरुमा सहभागी वा उपस्थिति नगर्न/नगराउन समेत बताइएको छ ।
प्रदेश सचिव केसीले प्रधानमन्त्री देउवा र सञ्चार सचिव बैकुण्ठ अर्याललाई छुट्टैछुट्टै बुझाएको माग पत्र आफैले फेसबुकबाट सार्वजनिक गरेका थिए । उनले पत्रकार महासंघ सचिवको हैसियतले बुझाएको मागपत्रमा पत्रकार हकहित र सञ्चार संस्थाका कुनै बिषय उठाएका छैनन् । पाँच बुँदे ज्ञापनपत्रमा नेपाली कांग्रेस पार्टीको बिषयमा बढि चिन्ता ब्यक्त गरिएको छ ।
नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सचिव केसीसँग माग गरिएको स्पष्टीकरण पत्र ।
नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका सचिव केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ध्यानाकर्षण पत्र
प्रदेश सचिव केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ध्यानाकर्षण पत्रको विरोधपछि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले निकालेको विज्ञप्ती :
।