सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

कम्दीमा धार्मिक र साँस्कृतिक पर्यटन

प्राकृतिक वातावरण र रमणीय दृश्यकै कारण यस वडापालिका क्षेत्रमा आन्तरिक पर्यटनको पनि प्रशस्तै सम्भावना रहेको छ ।

बाँके । नेपालगन्ज उपमहानगरपालिकासँग सीमा जोडिएको र पर्यटनमा प्रसस्त सम्भावना बोकेको वडा हो, डुडुवा गाउँपालिका वडा नं. ५ कम्दी । पालिकामै सबैभन्दा बढि पर्यटनका सम्भावनाहरु यही छन् । ठुलो तालदेखि मठमन्दिर र पर्यटकीय दृष्टिकोणले यो वडा भरिभराउ छ । पर्यटन प्रवद्र्धन र वडाको विकासका सम्भावनाहरुलाई पहिल्याउँदै तीब्र गतिमा यहाँका पर्यटकीय पूर्वाधारहरुको मर्मत, सम्भार र संरक्षणजस्ता कार्यलाई अगाडी बढाउन आवश्यक छ ।

प्रसिद्ध मजारदेखि मन्दिर पनि यही वडामै पर्छन् । गाउँपालिकाको ठुलो वडा पनि यही हो । जसकारण यहाँ धेरै गाउँटोल छन् र पर्यटनका प्रशस्त सम्भावनाहरु पनि जोडिएका छन् । पर्यटनको सम्भावना बोकेका प्रसिद्ध हजरत कम्मर शाह बाबा मजार मिलन चोक कम्दी, तपसी बाबा मन्दिर सिद्धनिया, भवानी मन्दिर खजुरा, सैरीदेवी मन्दिर, बाहुन बगैंचाजस्ता धार्मिक महत्वका धेरै मन्दिर रहेका छन् । जहाँ वर्षेनी ठुलो मेला पनि लाग्ने गर्दछ ।

मिलन चोकस्थित हजरत कम्मर शाह बाबा मजारमा वर्षको एक पटक ठुलो मेला लाग्ने गर्छ । हरेक वर्ष पुस महिनामा लाग्ने मेला, जहाँ बाँके जिल्लाका साथै छिमेकी जिल्ला बर्दिया, दाङ्गबाट समेत मानिसहरु भाकल (आफुले मागेको कुरा) गर्न आउने गर्छन् भने छिमेकी देश भारतका विभिन्न जिल्लाबाट समेत नागरिकहरु मेला भर्न आउँछन् । यहाँ आउने व्यक्तिले गरेको भाकल पुरा हुने, औषधी उपचार गरेर ठिक नभएका बिरामीहरु निको हुने गरेको धार्मिक मान्यता छ ।

तीन दिनसम्म लाग्ने मेलामा प्रत्येक वर्ष २० देखि २५ हजारको हाराहारीमा मानिसहरु मेला भर्न आउने गरेको स्थानीयहरु बताउँछन् । यस्तै सिधनिया गाउँमा रहेको तपसी बाबा मन्दिरमा प्रत्येक वर्ष भण्डारा (सामुहिक)को आयोजना गरिन्छ । समस्यामा परेकाहरुले यहाँ गरेको भाकल पुरा भएपछि सामुहिक भण्डाराको आयोजना गर्ने गर्छन् । यहाँ प्रायले मागेको पुरा भएपछि भण्डारा गराउने गरेका चलन छ ।

यसै वडाभित्र रहेको भवानी मन्दिरको पनि आफ्नै महत्व छ । आठ वर्ष पहिला माटोका (हात्ती, घोडा) देवता देखिएको थियो । त्यसपछि यहाँ मन्दिरका रुपमा पुजापाठ गर्न थालिएको गाउँलेहरु बताउँछन् । त्यसअघि केही नभएको स्थानमा माटोका देवता देखिएपछि यहाँ सेतो हात्ती आएर गाउँमा क्षति गर्ने र मान्छेलाई दुःख दिन थालेको किंबदन्ती छ । पुजापाठ गर्न थालेसँगै हात्ती देखिन छोडेको र त्यसपछि उक्त स्थानमा मन्दिर निर्माण गरिएको गाउँलेहरु बताउँछन् ।

मन्दिर निर्माणपछि यहाँ पनि भाकल गर्ने र मेला लाग्न शुरु भएको स्थानीयहरु बताउँछन् । यस्तै बाहुन बगैचा गाउँमा रहेको सैरीदेवी मन्दिरको पनि आफ्नै महत्व रहेको छ । यहाँ प्रत्येक वर्ष शिवरात्रीका दिन मेला लाग्ने गर्छ । यहाँ बिरामी भएका मानिस निको हुन्छन् भन्ने मान्यता रहेको पाइन्छ । स्थानीयहरुका अनुसार औषधी उपचारबाट पनि सन्चो नभएकाहरु यहाँ निको हुने गरेका छन् । यो मन्दिर डुडुवा खोलाको नजिकै अवस्थित छ ।

यसै वडाको ग्राण्ड योजनाका साथ यहाँस्थित ताललाई अघि बढाइएको छ । आन्तरिक पर्यटनका लागि यो ताललाई माध्यम बनाउने योजना बनाइएको हो । नेपालगन्जसँग जोडिएको र तालको नजिकै वनजंगलसहितको हरियाली वातावरण भएकाले पनि यसलाई आन्तरिक पर्यटनको हव बनाउन सकिन्छ । वडा कार्यालय नजिकै रहेको यो तालमा बोट चलाउने योजना पनि छ । त्यसका लागि दुई वटा डुङ्गा खरिद गर्ने तयारी गरिएको छ ।

ताल वरिपरि बस्नका लागि त्यसै किसिमको संरचना निर्माण पनि गरिएको छ । यी यस्ता पूर्वाधार निर्माण र संरक्षण गर्ने सवालमा अगाडी बढ्न सकिएको खण्डमा यहाँ पर्यटन विकासमा छिट्टै उपलब्धी हासिल गर्न सकिन्छ । यससँगै सामुदायिक वन पनि रहेकाले यहाँको पर्यटनमा अझ बढि टेवा पुर्याएको छ । धार्मिक, साँस्कृतिक, जैविक, जल, खेल पर्यटन लगायतको अधिक सम्भावना बोकेको डुडुवा गाउँपालिका वडा नं.५ प्राकृतिक रुपले पनि उत्तिकै धनी छ ।

प्राकृतिक वातावरण र रमणीय दृश्यकै कारण यस वडापालिका क्षेत्रमा आन्तरिक पर्यटनको पनि प्रशस्तै सम्भावना रहेको वडापालिकाले जनाएको छ । डुडुवा गाउपालिका–५ का वडाध्यक्ष प्रशुराम बुढाथोकीले डुडुवा गाउँपालिकाका अन्य वडाभन्दा आफ्नो वडा प्राकृतिक, धार्मिक र साँस्कृतिक हिसाबले धनी भएकोले यहाँका पर्यटकीय स्थलहरुको संरक्षण तथा सम्वद्र्धनका लागि गाउँपालिकाका साथै प्रदेश र केन्द्र सरकारले पनि चासो दिनुपर्ने बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ११:४१