बिसं.२०२८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्क प्रशोधनको क्रममा नेपालमा कम्प्युटर प्रविधिको प्रयोग भए पश्चात नेपालले सूचना प्रविधिको क्षेत्रमा प्रवेश गरेको भए पनि हालसम्म सूचना प्रविधको क्षेत्रमा भएको विकासको सन्दर्भमा नेपालले यस क्षेत्रमा अपेक्षित प्रगति तथा उल्लेखनीय उपलब्धी हासिल गर्न सकेको छैन । तथापी यस क्रममा विगतमा केही प्रयासहरु भने नभएका होइनन् । राष्ट्रिय कम्प्युटर केन्द्रको स्थापना गरी सो केन्द्रमार्फत कम्प्युटर प्रविधिसम्बन्धी तालिम कार्यक्रम सञ्चालन र कतिपय क्षेत्रमा कम्प्युटर प्रविधिको प्रयोगको कार्य गरिएको थियो ।
आर्थिक उदारीकरणको नीति अवलम्बन संगै यस क्षेत्रमा पनि नीजि क्षेत्रको संलग्नता व्यापक बन्दै गएको र निजी क्षेत्रबाट सूचना प्रविधि शिक्षा, सूचना प्रविधिको प्रयोग र सूचना प्रविधि सम्बन्धी जनशक्तिको विकासमा उल्लेखनीय योगदान रहेको छ । आजको युग भनेको विज्ञान र प्रविधिको युग हो । हाम्रो दैनिक जीवन प्रविधिमा निर्भर छ, त्यसमा पनि सूचना तथा सञ्चार प्रविधिमा अझ बढी छ । हामी एक सेकेन्ड पनि सूचना तथा सञ्चार प्रविधिबाट अलग रहन सक्दैनौ । सूचना तथा सञ्चार प्रविधिबिना हाम्रो जीवन कस्तो हुन्छ भनेर कल्पना पनि गर्न चाहन्नौं । जुनसुकै बेला पनि हामी अपडेट भइराख्नुपर्छ । अन्यथा, हामी आफैलाई कुनै दुर्गम स्थानमा रहेको महशुस गर्न थाल्छौं ।
ध्वनि, तस्वीर, अक्षर तथा अंकको रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू, कम्प्युटर तथा दुरसञ्चार प्रविधिको प्रयोग गरि भण्डारण, सम्पादन, सम्प्रेषण, संग्रह र प्रवाहलाई सूचना प्रविधि भनिन्छ । दिनप्रतिदिन बढ्दै गइरहेको सूचना प्रविधिको विकाससंगै यसको कार्यक्षेत्र पनि फराकिलो हुदै गइरहेको छ । नेपालको सन्दर्भमा सूचना प्रविधि, बिधुतिय अथवा अनलाइनबाट गरिने कारोबारको शुरुवात एउटा नयाँ आयाम हो । सूचना प्रविधिको द्रुततर विकासले नेपालजस्ता अल्पविकसित मुलुकहरुलाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार लगायतका आर्थिक तथा सामाजिक क्षेत्रको दिगो विकास गर्ने सूवर्ण अवसरहरु प्रदान गरेको छ ।
अहिले सबैभन्दा धेरै जनसम्पर्क चाहिने तहहरू, सरकारी, गैरसरकारी संस्थाहरू, जनताको सेवामा काम गरिरहेका सार्वजनिक तहहरू, उद्योग तथा व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता कुनै पनि क्षेत्र सूचना प्रविधिको उपयोगविना अपुरो हुन्छ । एक्काइसौं शताब्दी सूचना प्रविधिको युग हो । विकासोन्मुख देशमा सूचना प्रविधिको विकासले महत्वपूर्ण भूमिका खेलेको छ । सूचनाप्रविधि को क्षेत्रमा आएको परिवर्तनलाई हरेक स्थानीय तहमा पु¥याउन आवश्यक छ । प्रविधिले एक्दमै फट्को मारिरहेको अहिलेको यो समयमा सबै क्षेत्रमा यसको प्रभाव उत्तिकै परेको छ । विद्यालय शिक्षा सिकाइमा पनि यसको उत्तिकै प्रभावमा पर्नु हाम्रो लागि कुनै आचश्र्यको कुरा होइन ।
कक्षा कोठामा शिक्षा र सिकाइमा प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई शिक्षा दिनु डिजिटल शिक्षा र सिकाई हो । गए ती दिनहरु जहाँ विद्यार्थीहरु कापी, कलम बोकेर स्कुल आउँथे र शिक्षकहरुले कालोपाटी सेतोपाटीमा पढाउथे । यी कुराहरु डिजिटल प्रविधिले बदलिसकेको छ । विद्यार्थीहरु अब ल्यापटप, ट्याब्लेट बोकेर पढ्न थालेका छन् र शिक्षकहरु पनि प्रोजेक्ट, ल्यापटप र अरु डिजिटल सञ्चारका मध्यमबाट शिक्षा प्रदान गर्नेछन् । सूचना तथा सञ्चार प्रविधि हाम्रो व्यक्तिगत जीवनमा मात्र होइन सार्वजनिक जीवनमा पनि उत्तिकै महत्वपूर्ण छ । हाम्रो सार्वजनिक जीवन सार्वजनिक तहले प्रदान गर्ने सेवा प्रवाहद्वारा प्रत्यक्षरुपमा प्रभावित हुन्छ ।
बढी भिडभाड हुनेमध्येको सार्वजनिक तह भनेको स्थानीय तह हो जहाँ जनताले सरकारको उपस्थिति रहेको महशुस गर्न पाउँछन् । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरु ती स्थानीय तह हुन् जहाँ हाम्रो आधारभूत विवरणजस्तै जन्म, विवाह, बसाईसराई आदि घटना दर्ता गरी अभिलेख राखिएको हुन्छ । स्थानीय तहहरु भनेको स्थानीय स्तरमा विकासका गतिविधि सञ्चालन गर्ने आधारभूत इकाई हुन् । जनताका प्रतिनिधिद्वारा परिचालित हुने यी इकाईहरुले विषयगत कार्यालयहरु र सरोकारवाला तहहरुसंग समन्वय गरी विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसैले सरकारी कार्यालयहरुमध्ये स्थानीय तहका कार्यालयलाई सर्वसाधारणको बढी चासो हुने कार्यालयको रुपमा लिन सकिन्छ ।
यसकारण पनि स्थानीय तहले कुनै प्रणाली वा प्रविधि प्रयोगमा ल्याउनु अघि कर्मचारीको क्षमता र रुचीका अलावा जनताको चेतनास्तर र पहुँचको राम्रो ख्याल गर्नुपर्दछ । सञ्चारमा सर्वसाधारणको बढ्दो पहुँचले स्थानीय तहहरुले सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधि प्रयोग गर्नुपर्ने संकेत गरिरहेको छ । यसले सेवा प्रदायक र सेवाग्राही दुवैलाई फाइदा पुग्ने देखिन्छ । स्थानीय तहका कर्मचारी यसका प्रत्यक्ष लाभग्राही हुन् भने नागरिक अप्रक्ष्यक्षरुपमा लाभान्वित हुन्छन् । यदि स्थानीय तहका कर्मचारीहरु सूचना तथा सञ्चार प्रविधिका साधन प्रयोग गर्न सक्षम भएमा तिनीहरुले नागरिकलाई चुस्तदुरुस्त सेवा प्रदान गर्न सक्नेछन् । स्थानीय तहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्नुको पछाडी धेरै फाइदा छन् ।
पहिलो त डिजिटाइज गरिएपछि सूचना प्राप्त गर्न सजिलो हुन्छ जुन विकासको लागि अति आवश्यक कडी हो । दोश्रो जटिल कामहरु पनि सहज तरिकाले गर्न सकिने हुनाले थोरै समयमा धेरै काम गर्न सकिन्छ । त्यसैगरी फाइल र ढड्डाको प्रयोगमा कमी आएर कार्यालय सफा र चिटिक्क देखिन्छ । अनि डिजिटाइज गरिएका सूचनाहरु लामो समयसम्म सुरक्षित राख्न सकिन्छ जुन आवश्यक परेको बेलामा पुनस्प्रयोग गर्न सकिन्छ । एक्काइसौं शताब्दी सूचना प्रविधिको युग हो । विकासोन्मुख देशमा सूचना प्रविधिको विकासले महत्वपूर्ण भूमिका खेलेको छ ।
सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तनलाई हरेक स्थानीय तहमा पु¥याउन आवश्यक छ । हाम्रा स्थानीय तहहरुलाई सूचना तथा सञ्चार प्रविधिमैत्री बनाउन विभिन्न साधन र उपायहरु अबलम्बन गर्न सकिन्छ । कार्यालयको नामसँगै समय, तापक्रम आदि सूचनायुक्त लेड डिस्प्ले कार्यालयको गेटमै राख्न सकिन्छ । त्यस्तै कर्मचारीले आफ्नो कार्यकक्षमा छिर्नु अघि विद्युतिय हाजिरी प्रणालीमा आफ्नो औठाछाप लगाई कार्यालयमा उपस्थित भएको प्रमाणित गर्न सक्छन् । कार्यकक्षमा गएर प्रत्यक कर्मचारीले आफ्नो कम्प्युटरमार्फत कार्यालयका कामकाज गर्न सक्छन् । आफुलाई चाहिने सफ्टवेयर प्रयोग गर्न सक्छन्, त्यो अकाउन्टको हुनसक्छ, जिन्सीको या योजनाको सफ्टवेयर हुनसक्छ, आफ्नो शाखा र जिम्मेवारी अनुसार फरक फरक हुनसक्छ ।
इन्टरकमको प्रयोग गरी अन्तर शाखाबीचको सम्पर्क र समन्वय प्रभावकारी बनाउन सकिन्छ । कार्यालय प्रमुखले सिसिटिभीमार्फत आफ्ना कार्यालयको विभिन्न शाखाहरुमा भइरहेको कार्यसम्पादन अनुगमन गर्न सक्छन् । कतिपय कार्यालयमा सेवाग्राहीको भिड व्यस्थापन गर्न गाह्रो भइरहेको हुन्छ । त्यसका लागि क्यु मेनेजमेन्ट सिस्टम प्रयोगमा ल्याउन सकिन्छ । सूचना प्रवाहलाई प्रभावकारी बनाउन डिजिटल सूचना पाटी राख्न सकिन्छ । नियमितरुपमा अध्यावधिक गरिएको वेबसाइट, आधिकारिक सामाजिक सञ्जालका साइट वा मोबाइल एपमार्फत नागारिकले घरमै बसीबसी कार्यालयका सूचना प्राप्त गर्न सक्छन् । अहिले स्थानीय तहमार्फत सूचना प्रविधि सम्बन्धी कामहरु भएका छन् । अहिले स्थानीय तहमा दर्ता चलानी, राजस्व संकलन, व्यक्तिगत घटना दर्ता र अपाङ्गता परिचय पत्र–रातो कार्ड, निलो कार्ड, सेतो कार्ड, पहेलो कार्ड) अनलाइनबाट शुरु भएको छ ।
साथै सामाजिक सुरक्षा बैंकिङ्ग प्रणालीबाट वितरण भइरहेको छ भने सबै स्थानीय तहमा तलबी विवरण सफ्टवेयर जडान गरिएको छ । त्यतिमात्र होइन नागरिकले कार्यालयले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी लिन टोल फ्री नम्बरको प्रयोग गर्न सक्छन् । कार्यालयका कर्मचारी, सम्बन्धित सरोकारवाला तहहरु या कुनै संगठित समूहको बैठकबारे जानकारी गराउने रुप एसएमएस पनि एउटा प्रभावकारी साधन बन्न सक्छ । प्रत्येक कर्मचारी आफ्नो इ–मेल अकाउन्टमार्फत विभिन्न तहले मागेको विवरण वा डकुमेन्ट पठाउन सक्छन् । एमएस आउटलुक, गुगल ड्राइभ, ड्रप बक्स आदिको प्रयोग गर्न सक्षम हुन्छन् । यसले सूचना व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छ ।
।