सूचनाको शक्ति - The Power Of Information

        

सल्यान जिल्ला अस्पतालमा थन्किए स्वास्थ्य उपकरण

सल्यान । आवश्यक दक्ष जनशक्तिको अभावमा जिल्ला अस्पताल सल्यानमा रहेका उपकरणहरू प्रयोगविहीन बनेका छन् । सो अस्पतालमा १५ वटा आईसीयू र ६ वटा भेन्टिलेटर भए पनि जनशक्ति अभावले प्रयोगमा नआई ती स्वास्थ्य उपकरण थन्किएका हुन् ।

पहिलो चरणको कोरोना भाइरसलाई लक्षित गरी ल्याइएका आईसीयू र भेन्टिलेटर अझैसम्म प्रयोगमा आउन सकेका छैनन् । जटिलखालका बिरामीलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भए पनि जनशक्ति अभावले उपयोगविहीन छन् । एक वर्षअघि दुई करोड ६० लाख रुपियाँको लागतमा आईसीयू र भेन्टिलेटर खरिद गरिएको थियो ।

तर, जडान नै नगरी अस्पतालमा थन्किएको अस्पतालका प्रमुख भीमकान्त जैसीले बताए । अस्पतालका प्रमुख जैसीका अनुसार आईसीयू र भेन्टिलेटर सञ्चालन गर्न यहाँ उपलब्ध रहेका चिकित्सकबाट सम्भव नहुने र त्यसका लागि विशेष तालिम लिएका जनशक्तिको आवश्यकता भएको बताइएको छ ।

पर्याप्त मात्रामा अक्सिजन आपूर्ति गर्न अक्सिजन आवश्यक परेको भए पनि अस्पतालमा जनशक्ति नै छैन । अस्पतालका डा.प्रदीप शर्माले जिल्ला अस्पतालमा केही महिनाअघि सुरु गरिएको अक्सिजन कन्सन्ट्रेटरबाट मात्र बिरामीलाई अक्सिजन दिइने गरिएको बताए । जनशक्ति अभावले पुरानै उपकरण थन्किएको अवस्थामा सहयोगी निकायबाट भने भेन्टिलेटर थप भइरहेका छन् ।

अस्पतालका व्यवस्थापक दशरथ श्रेष्ठले अस्पताललाई ५० बेडसम्मको बनाउने निर्णय भए पनि कार्यान्वयन नभएको बताए । भवन निर्माणलगायतका आवश्यक प्रक्रिया सुरु भएपछि मात्र जिल्लामा स्वास्थ्य सेवा थप प्रभावकारी हुने श्रेष्ठले उल्लेख गरे ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १०:२६