बाँके । साविकको कम्दी गाउँ विकास समिति, संघीय संरचनापछि पालिकामा गाभिएसँगै उक्त गाविस हाल डुडुवा गाउँपालिकाको ५ नम्बर वडामा समेटिएको छ । नेपालगन्जको नजिक भएको यस कम्दीसँगै अरु गाविस मिलेर हाल पालिकाका रुपमा रहेको डुडुवा गाउँपालिकाको पुनःसंरचना भयो । यस पालिकामा साविकका कम्दी, हिरमिनिया, होलिया, बेतहनी र बनकट्टी गाविस मिलेर ६ वटा वडामा बिस्तार भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकासँग पनि जोडिएको डुडुवा गाउँपालिकाका यो वडा पनि नेपालगन्जको सीमासँग जोडिएको छ । पालिकाका अन्य वडाहरु नेपालगन्जसँग जोडिएका छन् । अन्य वडामा एउटामात्र माध्यमिक विद्यालय छ भने यस वडामा दुई वटा सामुदायिक विद्यालय रहेको छ । डुडुवा गाउँपालिकाका अन्य वडामा विद्यालय भए पनि शैक्षिकरुपमा वडा नं.५ सबैभन्दा अब्बल देखिन्छ ।
गाउँपालिकामा रहेका ६ वटा वडामध्ये शिक्षित वडाका रुपमा यसलाई लिने गरिएको छ । दुवै माध्यमिक विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुमध्ये केही इन्जिनियर, डाक्टर बनिसकेका छन् भने गाउँका युवाहरु नेपाली सेना, नेपाल प्रहरीको उच्च तहमा पुग्न पनि सफल भएका छन् । यस वडाका ९५ प्रतिशत जनसंख्या शिक्षित रहेको वडा कार्यालय कम्दीले जनाएको छ ।
डलैपुर टोलमा रहेको ज्ञानदिप माध्यमिक विद्यालयमा प्राविधिक धारको पढाई हुन्छ । प्राविधिक (एलोक्ट्रोनिक्स) र सव–ओभरसियरको अध्यापन हुने गरेको छ भने मिलन चोकस्थित सहिद स्मारक माध्यमिक विद्यालयमा अन्य संकायको अध्यापन हुने गरेको छ । ज्ञानदिप सञ्चालित प्राविधिक शिक्षा अध्ययन गर्न कर्णाली तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीहरु आउने गरेको विद्यालयले जनाएको छ ।
गाउँपालिकाले शिक्षा क्षेत्रमा राम्रो लगानी गरिरहेको छ । दुइटै माध्यमिक विद्यालयमात्र यो वडामा रहे पनि यहाँ शिक्षा क्षेत्रलाई नमूना बनाउन वडा कार्यालयले योजना बनाइराखेको छ । ज्ञानदिप माविलाई नमूना बनाएर यस पालिका तथा वडाका युवालाई शिक्षित एवं उपलब्धीमूलक शिक्षा प्रदान गर्नुपर्ने वडाको योजना छ । यहाँ विद्यालय स्थापना भएदेखि हालसम्म पाँच हजार बढिले प्रवेशिका परीक्षा दिइसकेका छन् ।
कक्षा १ देखि नै अङ्ग्रेजी आवश्यक
शिक्षामा सुधार ल्याउन वडापालिका लागिपरेको छ । शिक्षालाई गतिशिल बनाउन आवश्यक रहेकोले यहाँका सरकारी विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकका बालबालिका सामुदायिक विद्यालयमै पढाउने परिपाटीको विकास आवश्यक छ । सामुदायिक विद्यालयका शिक्षक तालिम प्राप्त भए पनि यहाँका धेरै बालबालिका निजी विद्यालयमा जाने गरेकोले शिक्षा परिपाटीलाई सुधार ल्याउनुपर्ने स्थानीय बताउँछन् ।
उदाहरणका लागि डलैपुरस्थित ज्ञानदिप माध्यमिक विद्यालयलाई लिन सकिन्छ । यहाँ २०७७ सालमा ८५२ जना विद्यार्थी रहेका छन् । शिशुदेखि कक्षा १० सम्म साधारण र कक्षा ९ देखि कक्षा १२ सम्म प्राविधिक धार (इलेक्ट्रोनिक इन्जिनियर) टिएसएलसीको अध्यापन भइरहेको छ । ज्ञानदिप विद्यालयका प्रधानाध्यापक लक्ष्मण हमालले २०७७ सालमा टिएसएलसीमा मात्रै ११२ जना विद्यार्थी सहभागि भएको जानकारी दिए ।
यस क्षेत्रको शिक्षा क्षेत्रलाई माथि उकास्न यस विद्यालयलाई नमूना बनाउन यहाँका नागरिक अगुवाहरु लागि परेका छन् । कमैमात्र सामुदायिक विद्यालयमा सिसी क्यामराको निगरानी हुने भए त्यसमध्ये ज्ञानदिप माध्यमिक विद्यालय पनि एक हो । डुडुवाका अन्य विद्यालयमा सिसी क्यामरा हालसम्म जडान भएको देखिँदैन । साथै यस विद्यालयमा खुल्ला शिक्षा लागु गर्न विद्यालय लागि परेको छ ।
प्रधानाध्यापक हमालका अनुसार ८ देखि १० कक्षासम्म खुल्ला तथा दुर शिक्षा सिकाई पद्धति लागु गर्ने प्रयास जारी राखिएको छ । यो पद्धति हालसम्म बाँकेको कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालय र राप्तीसोनारीको पनेरिया माध्यमिक विद्यालयमा मात्रै लागु गरिएको छ । यस पद्धतिले विद्यार्थी नियमितरुपमा विद्यालय आउनुपर्ने बाध्यता नरहने तर परीक्षामा समावेश हुन पाउनेछ ।
यसले नियमित विद्यालय जान नसक्ने बालबालिकालाई अध्ययन गर्न सजिलो हुने प्रधानाध्यापक हमालको विश्वास छ । सबै विद्यालयमा प्राविधिक शिक्षा लागु नभएकाले पनि उपलब्धीमूलक शिक्षा बनाउन ६ कक्षादेखि नै प्राविधिक धारको शिक्षा लागु गर्नुपर्ने र प्लस टु प्राविधिक धारमा लानुपर्छ । नेपालको पछिल्लो केही वर्षयताको तथ्यांकलाई हेर्ने हो भने धेरैजसो युवा विदेशतिर जाने गरेका छन् ।
उनीहरुसँग सीप नभएका कारण विदेशमा दुखसमेत पाउने गरेकाले आगामी दिनमा त्यस्तो समस्या भोग्न नपरोस् भनेर कक्षा ६ देखि नै प्राविधिक धारको शिक्षाको शुरुवात गर्नुपर्ने यहाँका बुद्धिजिवीहरु बताउँछन् । स्थानीय शिक्षक भएकाले धेरैजसो आपसमै विवाद गर्ने गरेकाले यहाँको शैक्षिक सुधारका लागि बाहिरी जिल्लाको शिक्षकहरुमार्फत यहाँको शिक्षा क्षेत्र उकास्न सकिन्छ ।
शिक्षा क्षेत्रको सुधारका लागि बाहिरका कुराहरुको ज्ञान दिनुभन्दा नेपालको बस्तुस्थितिबारे अध्ययन अध्यापन हुन आवश्यक रहेको स्थानीयको जोड छ । यसका साथै शिक्षा क्षेत्रको प्रशासन ठिक भएको खण्डमा सबै कुराहरु समान हुन्छन् र सुधारको शुरुवात हुन्छ । निजी विद्यालयमा बालबालिका पठाउने अभिभावकले उनीहरुका लागि सबै खाले आवश्यकताको व्यवस्थापन गरेर पठाउँछन् ।
तर सरकारी (सामुदायिक) विद्यालय जाने बालबालिकाका अभिभावक बालबालिकाका आवश्यकताप्रति खासै मतलब नै हुँदैन । यही कारणले पनि शैक्षिक क्षेत्रको गुणस्तर खस्किँदो अवस्थामा रहेको डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष पर्शुराम बुढाथोकीको भनाई छ । उनले जबसम्म सामुदायिक विद्यालयप्रति अभिभावकको चासो र सक्रियता बढ्दैन, तबसम्म शिक्षालाई गुणस्तरीय बनाउन कठिन हुने बताए ।
उनले भने, ‘सरकारी विद्यालय जाने बालबालिकालाई न त अभिभावकले खाजा नै पठाउँछन्, न त जुत्ता, न त राम्रो लुगा नै लगाईदिन्छन् ।’ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि हप्तामा एकपटक विद्यालयसम्म जाने, आफ्ना बालबालिकाको बारेमा अभिभावकले सोधीखोजी गर्ने बानीको विकास गर्नुपर्ने आवश्यकता रहेको वडाध्यक्ष बुढाथोकीको भनाई छ ।
विद्यार्थीले घरमा पनि पढ्नुपर्छ भन्ने भावनाको विकास नहुँदासम्म विद्यालयमा मात्रै पढाएर शिक्षालाई गुणस्तरीय बनाउन नसकिने शिक्षकहरु बताउँछन् । सामुदायिक विद्यालयमा १ कक्षादेखि नै अंग्रेजी माध्यमबाट अध्यापन सञ्चालन गर्न सके निजी विद्यालय पढ्न जाने बालबालिकाहरु सामुदायीकमा आउने क्रम बढ्ने स्थानीय अगुवाहरुको भनाई छ । शैक्षिक गुणस्तर खस्किन नदिन वडा कार्यालयले अनुगमन गर्ने जस्ता कार्यहरु पनि सञ्चालन गर्दै आएको जनाएको छ ।
।