सूचनाको शक्ति - The Power Of Information

        

थलारा माविमा सेनेटरी प्याड मेसिन जडान

बझाङ । छविसपाथिभेरा गाउँपालिका– ५ थलारा मावि थलारामा सेनेटरी प्याड मेसिन (भेन्डिङ) जडान गरिएको छ ।

महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरूलाई सजिलो होस भन्ने उद्देश्यले मेसिन जडान गरिएको विद्यालयका शिक्षक झलक धामीले बताउनुभयो ।

सेनेटरी प्याड प्रयोग गर्ने महिलाले मेसिनमा स्मार्ट कार्ड राखेमा सेनेटरी प्याड उपलब्ध हुने प्रविधि रहेको ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना छविसपाथिभेरा गाउँपालिकाका फिल्ड संयोजक नरेश मल्लले बताउनुभयो ।

छविसपाथिभेरा गाउँपालिका, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको लगानीमा उक्त मेसिन जडान गरिएको हो ।

मेसिन जडान गर्दै विध्यालयका प्रधानाध्यापक हिक्मत जाग्रीले सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी भएको बेला विध्यालय छाड्नुपर्ने छात्राहरूको बाध्यता हट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सेनेटरी प्याड र महिला शौचालय नभएकै कारण महिनाको चार दिन छात्राहरूले विद्यालय छोड्नुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको छ । यसले छात्राहरू नियमित विद्यालय आउने वातावरण बन्ने मैले विश्वास गरेको छु ।’

सेनेटरी प्याडको व्यवस्था र उचित शौचालयको व्यवस्था नहुनुले छात्राहरू महिनावारी भएका बेला अनुपस्थित हुने गरेको शिक्षक झलक धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ अहिले हाम्रो विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन गर्ने सुविधासहितको अलगै छात्रा शौचालय पनि छ । सेनेटरी प्याड मेसिन पनि हामीले जडान गरिसकेका छौं ।

यसले छात्राहरू नियमित रुपमा विध्यालय आउन सहयोग हुनेछ ।’ हाल विध्यालय बन्द रहेकाले मेसिन जडानसँगै सबै छात्रा र शिक्षिकाहरूलाई वितरण गर्नको लागि स्मार्ट कार्ड पनि विध्यालयलाई हस्तान्तरण गरिसकेको र विध्यालय संचालनमा आएपछी छात्रा र शिक्षिकाहरूलाई वितरण गर्ने प्रधानाध्यापक जाग्रीले बताउनुभयो ।

यस अघि छविसपाथिभेरा गाउँपालिकाका बान्निचौर मावि, शान्ति मावि र जनप्रिय मावि बगडगाउँमा सेनेटरी प्याड मेसिन जडान गरिएको हो ।

विद्यालयमा सेनेटरी प्याड मेसिन जडान भएपछि छात्राहरू पनि खुसी भएका छन् । थलारा मावि की कक्षा ९ मा अध्यनरत छात्रा जानकी क्मारी जाग्रीले भनिन्, ‘मेसिन जडानले हाम्रो महिनावारीलाई सहज बनाउनेछ ।

महिनावारी हुँदा विद्यालयबाट भाग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यो सुविधा सबै ठाउँमा पुगे झनै राम्रो हुन्थ्यो ।’

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतवार ०९:४२