काठमाडौं । नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्यलाई कारवाही गर्न माग गरेका छन् । २०७८ साउन २८ गते बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै इलाका प्रहरी कार्यालय नवलपरासी बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युको कारक भएको र भ्रष्टाचार निवारण ऐन २०६९ को दफा २ क ७१८ बमोजिम भ्रष्टाचार हुने कसुरसमेत गरेको भन्दै कारवाही गर्न माग गरेका हुन् ।
प्रतिनिधिसभाको बैठकमा सांसद कँडेलले व्यक्त गरेको घटना विवरण
साउन २३ गते नवलपरासी पश्चिम बर्दघाटमा प्रहरी चेकजाँचका क्रममा ५९५ थान मोबाइलसहित २ जनालाई पक्राउ गरेको थियो । प्रदेश नम्बर ३–०१–०२३ च ५५४४ को सेतो पिकअपमा उनीहरुले अवैध मोबाइल तस्करी गरेर ल्याएका थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय बर्दघाटमा आवश्यक कारवाहीका लागि राखिन्छ । चोरी पैठारी गरेको ल्याएको मोबाइल र सवारी साधानलाई महेशपुर भन्सार पठाउने प्रक्रिया पूरा नहुँदै ३ घण्टापछि पक्राउ व्यक्तिलाई छाडिएको थियो ।
प्रहरीले छोडेपछि लुम्बिनी प्रदेशको सिमाना काट्दै दाउन्ने हुँदै गण्डकी प्रदेशको दुम्कीबासमा इलाका प्रहरी कार्यालय कावासोतीले चेकजाँच गर्ने क्रममा अघिल्लो दिन बर्दघाट प्रहरीले छोडिदिएको मोबाइलसहित २ जना पक्राउ पर्छन् । जिल्ला प्रहरी कार्यालय कावासोतीले सोधपुछ गर्दा घुमुवा प्रहरी सञ्जीव धमलाको बर्दघाट बाणिज्य बैंकको खातामा १३ लाख रुपैयाँ बुझाएपछि छाड्ने निर्देशन आएपछि छाडिएको बताउँछन् । घटना सार्वजनिक भएपछि ती प्रहरी जवानलाई निलम्बन गरियो ।
साउन २२ गते जिल्ला प्रहरी कार्यालय कावासोतीले कानुनी प्रक्रिया पूरा गरी पक्राउ गरिएका सामान र व्यक्तिलाई महेशपुर भन्सारमा बुझाएको थियो । पक्राउ गरिएको मोबाइलको मूल्य १ करोड ३३ लाख मूल्याङकन गरिएको छ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्द आचार्यले नवलपरासी जिल्ला प्रहरी कार्यालयमा एसपी भई काम गरेको अनुभव पनि रहेको छ । उनले आफू मातहत रहेका प्रहरी चौकीबाट मासिक निश्चित रकम उठाउने गरेको सांसद कँडेलले दावी गरे ।
बर्दघाट इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेले ८ वर्षसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेको र ८ वठा पुरस्कार पाएको कँडेलले बताए । वाग्लेले बर्दघाट क्षेत्रमा हुने चोरी पैठारी रोकी १ करोड १७ लाख राजस्व दाखिला गरेका कर्तव्यनिष्ठ इमान्दार प्रहरी भएको उल्लेख गरे । साउन २१ गते घुस लिएर मोबाइल छाडेको बिषय कसरी सार्वजनिक गरेको भनेर प्रहरी निरीक्षक वाग्लेलाई माथिल्लो तहबाट मानसिक यातना दिएको र २०७८ साउन २५ गते उनलाई निलम्बनको पत्र थमाइएको थियो ।
आफ्नो निलम्बनको पत्र आएपछि साँझ ६ बजेपछि आफ्ना मातहतका प्रहरीलाई जम्मा पारेर उनले, ‘आफैले निर्देशन दिएर छोडाउने, अनि पछि मलाई नै फसाउने, कसैमाथि विश्वास गर्नुहुँदैन भाइहरू’ भनेर साँझ साढे ७ बजे कालो रंगको ब्याग लिई प्रहरी कार्यालयबाट निस्किएका थिए । प्रहरी कार्यालयबाट २०० मिटर अगाडि राजमार्ग पुगेपछि लु १४ प ८७५८ निलो रंगको पल्सर बाइकको ठक्करबाट उनको निधन भएको सांसद कँडेलले सदनमा जानकारी गराए । उनले २२ वर्ष प्रहरीमा सेवा गरेको इमान्दार प्रहरी भएको बताउँदै उनको लागि न्यायको माग गरे ।
सांसद कँडेलले मानसिक तनावमा रहेका उनले बाटो काट्दा सवारी दुर्घटनाबाट मृत्यु भएको देखिए पनि डिआइजी आचार्यले दिएको तनावका कारण मानसिक सन्तुलन गुमाई प्रहरी निरिक्षक वाग्लेको ज्यान गएको दावी गरे । उनले मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को कसुर र तस्करीसमेतको कसुरमा तत्काल निलम्बन गरी उच्चस्तरीय छानविन गरी तस्करी, आर्थिक लेनदेनसमेतको कल डिटेल निकाली कारवाहीका लागि उच्चस्तरीय छानविन समिति बनाउन सभामुख सापकोटालाई आग्रह गरे ।
।