
रविन्द्रकुमार ज्ञवाली । नेपालगन्ज शहर पश्चिम नेपालकै प्रतिष्ठित शहरमा आउँछ र पश्चिम नेपालकै एक व्यापारिक केन्द्रको रुपमा परिचित छ । नेपालगन्जलाई राजधानी बनाउन माग गर्नेहरु पनि लागेकै छन् । यहाँ राजधानी हुनको लागि सबै पूर्वाधार नरहेको पनि होइन र सम्भावना प्रवल रहनु कुनै अतिश्योक्ति पनि होइन । विगत एक दशकमा नेपालगन्जमा विकासका प्रयासहरु पनि सहजै देख्न सकिन्छ । चौडा बाटोहरु, सौर्य सडक वत्ति, बजारका शाखा सडकहरुको विस्तार आदि आदि ।
खै किन हो ? सबै कुरा हुँदाहुँदै पनि यहाँको फोहोर दिन प्रति दिन बढ्दै गैरहेको छ । नेपालका अन्य शहरहरुबाट यहाँ आउने मान्छेहरु छक्क पर्र्ने गरेको पनि पाइएको छ, यहाँको यत्रो विघ्न फोहोर देख्दा पनि सरोकारवालाहरु निकायबाट खासै उपलब्धीमूलक काम हुन सकेको पाइदैन । किन र कुन कुराले असर गरिरहेको छ त नेपालगन्जको फोहोर हुनुमा र यसको व्यवस्थापनमा ? एउटा प्रश्न रहेको छ । हुन त नेपालका अन्य शहरहरु पनि कुनै विशेष प्रशंसा गर्ने लायककै त छैनन् । तर, पनि नेपालगन्जजस्तो उपमहानगरपालिका भइसकेको सहर किन यस्तो परिस्थितिमा रहेको छ ? जबकी यहाँ सवै किसिमका सम्भावनाहरु उपलब्ध रहेका छन् । के के कारण हुन सक्छन् त यसको पछाडी ? सरकार, शहरवासी, अस्तव्यस्त बजारीकरण ? यस स्थानका वासीन्दाहरुको सरसफाईप्रतिको बानी व्यवहार वा उपमहानगरपालिकाको कार्यदक्षतामा कमी । 
यसै सन्दर्भमा एक जना विद्यालय सञ्चालक व्यक्ति हालसालै मात्र सञ्चालनमा आएको गैरसरकारी संस्था मानव र वातावरणको कार्यालयमा आएर आफ्नो दुखेसो पोख्नुभयो । लौन, साथीहरु मेरो विद्यालयको प्राङ्गण छेउमै भोजभतेर पश्चात फालिएको फोहर सड्न लागेको हुँदा दुर्गन्धले विद्यालयको वातावरण नै प्रदुशित हुन पुगेको छ । विद्यार्थीहरु नै विरामी पर्लान् भन्ने डर लाग्न थाल्यो । समस्या कसरी समाधान गर्ने होला ? मानव र वातावरण भर्खर मात्र जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भै वातावरण सम्वद्र्धनमा कसरी अगाडी बढ्ने भन्ने सोच गर्दै गरेको अवस्थामा छ र नेपालगन्जको फोहोर व्यवस्थापन एउटा विकराल समस्याको रुपमा रहेको हुँदा यस विषयमा सरोकारवालाहरुसँग छलफल गरी एउटा टोलबाट सरसफाईका कार्यक्रमहरु सुरु गर्ने सोच अगाडी सारेको छ । यस अुनसार सर्वप्रथम टोल निवासीहरुको फोहोर फाल्ने व्यवहारमा सकारात्मक सुधार ल्याउन सम्बन्धीत टोलका निर्वाचित प्रतिनिधि, टोलबासीहरु र सरोकारवालाहरुको समन्वयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तरखरमा रहेको छ ।
कुनै पनि स्थान सफा रहनमा सर्वप्रथम त त्यस स्थानका निवासीहरुलाई नै जिम्मेदार ठान्नुपर्छ । नगरहरुमा फोहोर उत्पादन हुनुमा एउटा प्रमुख कारणमा दैनिकरुपमा घर सरसफाइको क्रममा भान्छा तथा अन्य स्थानबाट निस्किने फोहोर पनि हो । यसरी घरघरबाट निस्किने फोहोरहरु नै व्यवस्थापनको लागि टाउको दुखाई भएको सवैले महसुस गरेका छन् । यदि यसरी घरपिच्छे दैनिकरुपमा निस्किने फोहोरमात्र पनि व्यवस्थापन गर्नसके शहर बजारहरुलाई अवश्य पनि धेरै सफा राख्न मद्दत पुग्ने आशा गर्न सकिन्छ ।
विश्वका अन्य मुलुकका शहरहरु सफा रहन सक्ने तर हाम्रो नेपालको शहरहरु यति धेरै फोहोर किन ? कानून र नीतिको कुनै कार्यान्वयन नै नभएर हो । यदि यस्ता कानून वा नीतिहरु छैनने भने निर्माण गर्नैपर्छ र कडारुपमा पालन हुने व्यवस्था लागु गर्न सक्नुपर्छ र अटेर गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्छ । अनि मात्र सम्भव छ सफा शरहको कल्पना । अतः मानव र वातावरणले सर्वप्रथम एउटा नमूनास्वरुप टोलबाट यसको सुरुवात गर्ने लक्ष्य राखेको छ र सम्बन्धित सवै सरोकारवालाहरुलाई यसप्रति जिम्मेवार बनाउँदै प्रहरी, प्रशासन र उपमहानगरपालिकाको समन्वयमा यो कार्यक्रम सञ्चालन गर्ने तर्खर गर्दैछ र विश्वास छ नेपालगन्ज अवश्य पनि सफा हुने दिशातिर अग्रसर हुँदैछ ।
।