सूचनाको शक्ति - The Power Of Information

        

युएफा सुपर कप उपाधि चेल्सीलाई

एजेन्सी । यस वर्षको युएफा सुपर कप फुटबल प्रतियोगिताको उपाधि चेल्सीले जितेको छ ।

नर्दन आयरल्याण्डको बेलफाष्टमा गएराति भएको खेलमा स्पेसिन क्लब भियारियाललाई पेनाल्टी शुट आउटमा हराउँदै इंग्लीश क्लब चेल्सीले उपाधि जितेको हो ।

खेलको पहिलो हाफमै चेल्सीका हकिम जियचले गोल गर्दै टोलीलाई अग्रता दिए । दोस्रो हाफमा भियारियालका जेरार्ड मोरेनोले एक गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुग्यो ।

अतिरिक्त समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेलको छिनोफानो टाई ब्रेकरबाट भएको हो । टाई ब्रकेरमा चेल्सी ६–५ ले विजयी भयो ।

सुरुवाती ५ प्रहारमध्ये दुबै टोलीले ४–४ गोल गरेपछि सडन डेथबाट विजेता छानिएको हो । सडन डेथको दोस्रो प्रहारमा भियारियालका कप्तान राउल अल्बियोलको प्रहार चेल्सीका गोलरक्षक केपा अरिजाबालागाले रोकेपछि चेल्सी विजयी भएको हो ।

युएफा सुपर कपमा च्याम्पियन्स लिग र युरोपा लिग विजेताले प्रतिस्पर्धा गर्ने गरेका छन् । सुपर कपको उपाधिसँगै चेल्सीले यो सिजनको इंग्लीश प्रिमियर लिगमा राम्रो दाबेदारी दिने संकेत गरेको छ ।

प्रिमियर लिगको नयाँ सिजन भोलिबाट सुरु हुँदैछ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार ०७:३५