सूचनाको शक्ति - The Power Of Information

        

एसियन महिला भलिबल च्याम्पियनशिप स्थगित

काठमाडौं । २१औं संस्करणको एसियन महिला सिनियर भलिबल च्याम्पियनशिप स्थगित भएको छ।

कोरोना महामारीको कारण फिलिपिन्समा हुने भनिएको २१औं संस्करणको एसियन भलिबल च्याम्पियनशिप स्थगित भएको हो।

फिलिपिन्स सरकारले लगाएको देशव्यापी लकडाउनका कारण च्याम्पियनशिप स्थगित भएको जानकारी नेपाल भलिबल संघले दिएको छ।

आगामी अगस्ट २९ देखि सेप्टेम्बर ४ सम्म हुने भनिएको प्रतियोगिता कोरोना महामारीको कारण फिलिपिन्स भलिबल फेडेरेसनले स्थगित गरेको हो। यस प्रतियोगितामा कोभिडकै कारण नेपाललाई सहभागिताबाट वञ्चित गरिएको थियो।

प्रारम्भिक सूचीमा नेपालको नाम राखिएको भएपनि पछि नेपाललाई प्रतियोगिताबाट हटाइएको थियो। त्यसबेला यस प्रतियोगिताका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीले बन्द प्रशिक्षण समेत थालिसकेको थियो।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार ०९:२९