काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले लगाउँदै आएको जर्सी नम्बर ७७ अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग नगरिने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वकप्तान पारसले प्रयोग गरेको जर्सी नम्बर अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोगमा नल्याउने जनाएको हो।
नेपाली क्रिकेटमा पारसले दिएको योगदानको सम्मानस्वरूप खेल्ने क्रममा प्रयोग गर्दै आइरहेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।
‘पारसले नेपाली क्रिकेटलाई दिएको योगदानको कदर गर्दै ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने निर्णय भएको छ,’ सचिव प्याकुरेलले भने, ‘बैठकले जर्सी नम्बरको विषयमा मात्र निर्णय गरेको छ।
बिदाइको विषयमा भने छलफल भएको छ। तर औपचारिक निर्णय भने भएको छैन। छलफलकै क्रममा रहेकाले आउँदा दिनमा के गर्ने भन्ने बैठकले निर्णय गर्नेछ।’
झन्डै दुई दशक नेपाली क्रिकेटमा समय बिताएका पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका थिए। जुन घोषणा नेपाली समर्थक र खेलाडीका लागि अनपेक्षित निर्णय भएको थियो।
पारसको नेतृत्वमा नेपाली टोलीले डिभिजन पाँचदेखि क्रिकेट सफलताको श्रेणी उक्लिँदै आएको थियो। सफलताको क्रममा नेपालले एकदिवसीय मान्यता पाउँदा २०१४ मा विश्वकप ट्वान्टी–२० क्रिकेटमा पनि उनकै कप्तानीमा नेपालले विश्व क्रिकेटमा प्रतिनिधित्व गरेको थियो।
२००४ मा १५ वर्षको उमेरमा पारसले सिनियर टोलीमा डेब्यु गरेका थिए। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा २००४ अप्रिल २३ का दिन आइसिसी अन्तरमहादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट पारसले राष्ट्रिय जर्सी पहिरिएका थिए।
त्यसयता उनी टोलीमा महत्त्वपूर्ण खेलाडीका रूपमा आफूलाई प्रमाणित गर्दै नेपाली टोलीको नेतृत्व सम्हाल्दै अगाडि बढाएका थिए।
२००९ मा कप्तान विनोद दासको स्थानमा कप्तानको रूपमा प्रतिस्थापन भएका पारसले २०१९ मा कप्तानी पद छाडेका थिए। त्यसपछि नेपाली टोलीलाई ज्ञानेन्द्र मल्लले सम्हालिरहेका छन्।
पारसले नेपाली टोलीबाट १० वटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका छन्। उनले १० खेलबाट ३ सय १५ रन जोडेका छन्।
अर्को फर्म्याटको टी–२० अन्तर्राष्ट्रियमा ७ सय ९९ र ट्वान्टी–२० मा ५६ खेल खेल्दा १ हजार ३ सय ७७ रन बनाएका छन्।यो समाचार आजको नागरिक दैनिकमा छ ।
।