सूचनाको शक्ति - The Power Of Information

        

शान्ति सुरक्षा

नेपालगन्जमा कमजोर सुरक्षा, प्रहरी बिट रित्तै, ‘ट्राफिक बुथ’ अलपत्र

शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरी बिट राखिए पनि अधिकांश बिटमा प्रहरी नहुँदा सुरक्षा कमजोर हुँदै गएको छ ।

बाँके । नेपालगन्जले दिन प्रतिदिन आफ्नो स्वरुप परिवर्तन गरिरहेको छ । नेपालगन्ज बजार क्षेत्रका भित्रि सडकहरु फराकिला पारिँदै छन् । जीर्ण सडक, पुलपुलेसा, नाला लगायतका संरचनाहरुले स्वरुप परिवर्तन गरेका छन्, सडक चौडा पारिएका छन्, सडकहरु रातभर झिलिमिली छन्, चोकचोकमा उच्च क्षमताका बत्ती (हाइमाष्ट) जडान गरिएको छ ।

शहर जति विकासको गतिमा अघि बढिरहेको छ, सुरक्षा चुनौति पनि उत्तिकै थपिएको छ । सुरक्षा चुनौतिलाई ध्यान दिएरै नेपालगन्जका मुख्य चोकहरुमा प्रहरी बिट राखिएका छन् । चोकचोकमा राखिएका रंगरोगनसहित चिटिक्क पारेर राखिएका प्रहरी बिट भने बेकामे बनेका छन् । बिटमा प्रहरी छैनन् ।

घरबारी टोलमा सडक निर्माणका क्रममा ढालेर झाडीमा फालिएको प्रहरी बिट कहाँ छ प्रहरीलाई नै थाहा छैन । बिटको सदुपयोगमा हालसम्म कसैले चासो देखाएको छ । गत बर्ष नेपाल खानेपानी संस्थान नेपालगन्ज कार्यालय नजिकै बेवारिसे अवस्थामा झाडीमा फालिएको प्रहरी बिट अहिले कहाँ छ प्रहरीले त्यसको खोजीसम्म गरेको छैन ।

प्रहरीलाई कतै बिट नभएर दिनरात घाम, पानी, धुलोले हैरान ब्यहोर्नुपरेको छ भने कतै भएका बिटहरुको पनि सही सदुपयोग हुन सकेको छैन । नेपालगन्जका कारकाँदो, न्यूरोड, त्रिवेणीमोड, भेरी अस्पताल अगाडि, बाँकेगाउँ, घरबारी टोलका प्रहरी बिट रित्तै छन् । नेपालगन्जको सेतु विक चोकमा चिटिक्क परेका प्रहरी बिटमा महीनौंदेखि प्रहरी छैनन् ।

सुरक्षा चुनौतिलाई ध्यानमा राखेरै नेपालगन्जका चोकचोकमा प्रहरी बिट रंगरोगनसहित चिटिक्क पारेर राखिएका छन् । तर ती बिटमा प्रहरी छैनन् भने घरबारी टोलमा रहेको प्रहरी बिट गत बर्ष झाडीमा फालिएको थियो, अहिले त्यो कहाँ छ कुनै जानकारी छैन । न्यूरोडमा चिटिक्क परेको प्रहरी बिट छ, त्यहाँ प्रहरी छैनन् ।

नेपालगन्ज उपमहानगरपालिकाका हरेकजसो चोक र टोलमा शान्ति सुरक्षाका लागि स्थापना गरिएका प्रहरी बिट नै अहिले प्रहरीविहीन छन् । सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशील मानिएका ती क्षेत्रमा शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरी बिट राखिए पनि अधिकांश बिटमा प्रहरी नहुँदा सुरक्षा कमजोर हुँदै गएको छ ।

उपमहानगरका अधिकांश प्रहरी बिटमा प्रहरी नबस्दा ताल्चा लागेको देखिन्छ । स्थानीय प्रेम ओली भन्छन्, ‘नेपालगन्ज बजार क्षेत्र सुरक्षाको दृष्टिकोणले चौबिसै घण्टा चोकचोकमा प्रहरी राखिनुपर्ने हो, तर यहाँ राखिएको प्रहरी बिटमा प्रहरी हुँदैनन् ।’ नेपालगन्जको त्रिवेणी मोडस्थित प्रहरी बिटमा प्रहरी बसेको कहिल्यै पनि नदेखको स्थानीयवासीको भनाइ छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ स्थित नेपाल खानेपानी संस्थानको कार्यालय नजिकै झाडीमा बेवारिसे अवस्थामा फालिएको प्रहरी बिट । हाल उक्त प्रहरी बिट कहाँ र कस्तो अवस्थामा छ भन्ने प्रहरीलाई नै जानकारी छैन ।

शान्ति सुरक्षाका लागि स्थापना गरिएको प्रहरी बिटमा प्रहरी नै नभएपछि प्रहरी बिटको के काम ? भन्दै स्थानीय दिलबहादुर थापाले तत्काल प्रहरी पठाउनुपर्ने माग गरे । ‘प्रहरी बिट बनाएको पाँच–छ महिनासम्म प्रहरी बसेको देखियो र सुरक्षाको दृष्टिकोणले राम्रो भएको महसुस भएको थियो तर केही समयपछि बिटमै प्रहरी बस्न छाडे,’ थापाले भने ।

बेलाबेलामा कुनै न कुनै घटना भइरहने नेपालगन्जमा शान्ति सुरक्षा बलियो बनाउन विगतदेखि नै प्रहरी बिट स्थापना गरिए पनि अहिले भने प्रहरी नै नबस्दा असुरक्षाको महसुस भएको कपडा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले गुनासो गरे । उनले अहिले बजारमा फेरी चोरीका घटना बढ्न थालेको जनाउँदै सबै बिटमा प्रहरी राख्निुपर्ने बताए ।

नेपालगन्जको त्रिवेणी मोड, भानुभक्त चोक, भेरी अस्पताल चोक, शान्तिनगर चोक, घरवारी टोल लगायतका स्थानमा रहेका प्रहरी बिटमा प्रहरी नरहेको स्थानीयवासीको गुनासो छ । पछिल्लो समय नेपालगन्ज उपमहानगरको शान्तिनगर, बसपार्क, सदरलाइन आसपास चोरी डकैती, लुटपाट, महिलामाथि दुव्र्यवहार र लागूऔषधको कोरोबार बढिरहेको पाइएको छ ।

लामो समयदेखि प्रहरी बस्न छोडेपछि बिटहरू जीर्णजस्तै बन्न लागेका छन् । प्रहरी बिटमा फोहोर राख्न थालिएको स्थानीयवासीले बताएका छन् । धम्बोझी, वीपीचोक, पुष्पलाल चोक, त्रिभुवन चोक, पुरैना, बसपार्कको प्रहरी बिट भने खाली छैनन् । प्रहरी बिटमा प्रहरी नै नहुने भएपछि दुरुपयोग उस्तै बढेको छ ।

गत बर्ष बिटमा प्रहरी नभएको फाइदा उठाउँदै बिटमै मासु पसल सञ्चालन गरेको पाइएको थियो । नेपालगन्ज–८ को रानीतलाउ नजिकको सब्जीमण्डीमा मासु व्यवसायी रिजवान कुरैसीले प्रहरी बिटमै मासु पसल सञ्चालन गरेको भेटिएको थियो । उनले प्रहरी बिटमा खसी काट्नका लागि प्रयोग हुने सामाग्रीसहित मासु पसल नै सञ्चालनमा ल्याएका थिए ।

‘ट्राफिक बुथ’ पनि अलपत्र

ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा निर्माण गरिएका ‘ट्राफिक बुथ’ अलपत्रजस्तै छन् । न त त्यहाँ ट्राफिक प्रहरी राखिएको छ न त ट्राफिक व्यवस्थापनबारे ट्राफिक प्रहरीलाई चिन्ता नै छ । नेपालगन्जका विभिन्न स्थानमा निर्माण गरेका ११ वटा ट्राफिक बुथ प्रयोगविहीन जस्तै छन् ।

नेपालगन्जको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जेब्राक्रसिङ्गमै साइकलदेखि मोटरसाइकल र गाडी पार्किङ गर्दासमेत ट्राफिक प्रहरीलाई वास्ता छैन । यसरी जेब्राक्रसिङ र बीच सडकमै सवारी साधन पार्किङ गर्दा सर्वसाधारणलाई आवतजावतमा समस्या भइरहेको छ । नेपालगन्जको व्यस्त बजार त्रिभुवन चोकमा दैनिकजसो जेब्राक्रसिङमै गाडी रोकिन्छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मुख्य चोक धम्बोझीमा रहेको ट्राफिक प्रहरीविहीन ट्राफिक बुथ । लाखौं रकम खर्चिएर बनाइएका नेपालगन्ज नगरभित्रका आधा दर्जन ट्राफिक बुथमा ट्राफिक प्रहरी हुँदैनन् ।

नजिकै भएका नेपाल प्रहरी र ट्राफिक प्रहरी मुकदर्शक भएर हेर्ने गरेका छन् । जेब्राक्रसिङमा रोकिएका सवारी सासधनलाई सचेत बनाउने र ट्राफिक नियमको पालना गराउनेतर्फ नेपालगन्ज ट्राफिकको ध्यान जान सकेको छैन् । नगरको ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले ध्यान नदिएको स्थानीयहरु बताउँछन् ।

उपमहानगरपालिकामा सवारीसाधन पार्किङ समस्या जटिल बनेको छ । सपिङ मल, अस्पताल र ब्यापारिक प्रयोजनका लागि बनेका भवनमा समेत पार्किङस्थलको ब्यवस्था नहुँदा किनमेल तथा होटलमा खाना, खाजा, नास्ताका लागि जानेहरु सडक छेउमा सवारी साधन पार्किङ्ग गर्न बाध्य भएका छन् ।

चालकले सडक छेउमा जथाभावी पार्किङ गर्दा सडक अस्तब्यस्त भई सडक जाम हुने गरेका छन् । सडक फराकिलोसँगै पार्किङलाई पनि ब्यवस्थित गर्नुपर्ने सर्वसाधारणको माग छ । नेपालगन्जका अधिकांश सडक फराकिलोसँगै कालोपत्रे भए पनि जथाभावी पार्किङ गर्दा पहिलेको जस्तै साँघुरो लाग्ने गरेको छ ।

सडक फराकिलो भएर मात्र के गर्ने ? जथाभावी पार्किङ गर्दा सवारी साधन चलाउन मुस्किल पर्छ । दुई लेनको सुर्खेतरोड ६ लेनको बनाइएको छ । तर, फराकिलो सडकको फाइदा उठाउँदै सदरलाइनका ब्यापारी तथा किनमेल गर्ने सर्वसाधारणले सडकलाई पार्किङस्थल बनाएका छन् ।

जेब्राक्रसिङ्गमै यात्रुलाई कठिन

नेपालगन्जको सुर्खेतरोडमा बनाइएका जेब्राक्रसिङ्ग पेन्टिङ्ग नहुँदा जीर्ण बन्दै गएका छन् । पैदल यात्रुलाई सडक वारपार गर्न सहजताका लागि बनाइएका जेब्राक्रसिङ्गमै सवारीसाधनको गति तीव्र हुँदा यात्रुलाई बाटो काट्न कठिन हुने गरेको छ । यसमा चालकको हेल्चेक्र्याइँ नै मुख्य कारण रहेको ट्राफिक प्रहरी बताउँछ ।

ट्राफिक प्रहरीका अनुसार जेब्राक्रसमा पैदल यात्रुलाई पहिलो प्राथमिकता दिनुपर्ने हो, तर चालकले सवारी रोक्नु त परै जाओस् गति पनि कम नगर्ने पैदल यात्रुको गुनासो छ । ‘सवारी साधनले जेब्राक्रसको नियम मिच्ने गरेका छन्,’ एक जना ट्राफिक प्रहरीले भने, ‘सवारी चालकको हेल्चेक्र्याइँका साथै जेब्राक्रसिङ्गमै गाडी रोक्ने गरेको पाइएको छ ।’

यसरी जेब्राक्रसिङ्गमा गति कम नगर्ने सवारी चालकलाई भने ट्राफिक प्रहरीले अहिलेसम्म कारवाही भने गरेको छैन । जनशक्ति पर्याप्त नभएकाले सबैतिर हेर्न नसकिएको ट्राफिक प्रहरीको भनाई छ । नेपालगन्ज र कोहलपुरका सडकमा ट्राफिक लाइट भने अहिले पनि जडान हुन सकेका छैनन् ।

हातको इसाराकै भरमा चारैतिरबाट आएका गाडी व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको ट्राफिक प्रहरीको भनाई छ । सवारी साधन र पैदल यात्रुको संख्या उल्लेख्य रहे पनि यसको तुलनामा पूर्वाधारसहित व्यवस्थित जेब्राक्रसिङ्ग र सडक नहुँदा समस्या बढ्दै गएको छ । जेब्राक्रसिङ्ग प्रयोगमा ट्राफिक प्रहरीले कानुन अनुसार कारबाही गर्न नसकेको जानकारहरू बताउँछन् ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतवार १५:०९