सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

फेरिँदै कम्दीको मुहार, वडापालिकाको प्राथमिकतामा ‘सडक सञ्जाल’

जनप्रतिनिधि आएपछि वडाको विकासले गति लिएको छ । वडाभित्रका सडकहरु स्तरोन्नती भइरहेका छन् ।

बाँके । जनप्रतिनिधि आउनुअघि डुडुवामा स्तरीय सडक थिएनन् । अझ भनौं पक्की सडक नै थिएनन् । कच्ची र धुलाम्मे सडकले स्थानीयहरुलाई आवतजावतमा निकै सास्ती हुन्थ्यो । नेपालगन्ज आउजाउ गर्न निकै सास्ती खेप्नुपथ्र्यो । स्थानीय तहको निर्वाचनपछि भने डुडुवा गाउँपालिका वडा नं. ५ को मुहार फेरिएको छ । अहिले ५ नम्बर वडाभित्रका सडकहरु स्तरोन्नती भइरहेका छन् ।

जनप्रतिनिधिको सक्रियता र मेहेनत तथा प्रयासले केन्द्र, प्रदेश र र स्थानीय तहको सहकार्यमा यहाँका गाउँबस्तीहरु सडक सञ्जालले घेरिँदै गएका छन् । विकास भएको त्यो बेला देखिन्छ, जतिबेला गाउँठाउँका सडकहरु पक्की बन्छन् । अहिले भित्री सडकहरु पिसीसी भएका छन् । अझ भनौं वडापालिकाभित्र सबै गाउँ र बस्तीहरु सडक सञ्जालले जेलिँदै गएका छन् ।

एक वर्ष पहिलेमात्रै पनि नेपालगन्जबाट वडा नम्बर ५ कम्दीका विभिन्न गाउँमा जाँदा सास्ती खेप्नुपथ्र्यो । बाटोको अवस्था दयनीय हुँदा हिँड्डुल गर्नै मुश्किल पर्ने वडा नं. ५ का सडकहरु स्थानीय सरकार आएपछि सुधारिँदै गएका छन् । केही सडकहरु पक्की बनेका छन् भने केही सडक ग्राभेल तथा माटो पटान गरी स्तरोन्नती गरिएको छ । जनप्रतिनिधि आएपछि वडाको विकासले गति लिएको छ । वडाभित्रका सडकहरु स्तरोन्नती भइरहेका छन् ।

कम्दी क्षेत्रको अवस्था पहिलेभन्दा निकै फेरिएको छ । सडकहरुको स्तरोन्नति गरिएपछि यहाँका गाउँहरुमा आउजाउ गर्न समस्या छैन । कच्ची सडकलाई स्तरोन्नती गरेर ग्राभेल गर्ने र ग्राभेल भइसकेका सडकलाई पिसीसी गरेर पक्की बनाउने काम भइरहेको वडापालिकाले जनाएको छ । स्थानीय तहको निर्वाचन भएसँगै डुडुवा गाउँपालिकाका सबै वडाहरु सडक सञ्जालले जोडिएका छन् ।

गाउँपालिका वडा नम्बर ५ अन्य वडाभित्रका सडक स्तरोन्नति र विस्तार भएका छन् । वडापालिकाले प्रत्येक टोलमा सडक सञ्जाल बिस्तार गरिसकेको छ । ‘वडाका सबै टोलमा सडक सञ्जाल बिस्तार गरिसकेका छौं,’ डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष पर्शुराम बुढाथोकीले भने । उनका अनुसार वडा नम्बर ५ का सबै बस्तीहरु मुख्य सडक सञ्जालसँग जोडिएका छन् ।

स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि आएसँगै अहिले गाउँबस्तीका सडकहरु स्तरोन्नतीसँगै फेरिएका छन् । यहाँ धेरै सडकहरु गुणस्तरीय बनेका छन् । पालिका क्षेत्रभित्र पर्ने राप्ती नदीसँग जोडिएको हुलाकी राजमार्गसँग अर्को मुख्य सडकका रुपमा कम्दी–राँझा चक्रपथले जोडिएको छ । राँझा एयरपोर्ट नेपालगन्ज वडा नं. १९ र २० को सीमानामा छ । त्यहाँको बजारले यस वडाको धेरै व्यक्तिलाई प्रभावमा पारेको छ ।

जनप्रतिनिधि आएपछि सामान्य वर्षामा पनि हिँड्न नमिल्ने बाटो पक्की ढलान (पिसीसी) भएका छन् । अधिकांश सडक बाटोहरुको मर्मत सम्भार भएका छन् । जसले गर्दा यहाँको दैनिकीमा अहिले सहज बनाएको छ । मुख्य सडकका रुपमा मिलनचोकदेखि राँझा एयरपोर्टसम्म अहिले ६ मिटर चौडाईमा ६ किलोमिटर बाटो निर्माण भइरहेको छ । मदनापुर चोकदेखि गुन्नापुर–कोहलपुर नगरपालिकाको सीमासँग जोडिएर ८ मिटर चौडाई भएर ६ किलोमिटर बाटो पनि निर्माणकै क्रममा छ ।

यो बाटो निर्माणका लागि गाउँपालिकाले लगानी गर्दै आएको वडाध्यक्ष बुढाथोकीले बताए । यहाँका ८ वटा भित्री सडक पिसीसी गरिएको छ । जसमा नानापुरमा २५० मिटर पिसीसी मिटर, लिवाङ्गी टोलमा ७०० मिटर, चनमरी–लडियाघाट १५० मिटर, शिवराजपुरमा ११० मिटर, नानापुरमा मुख्य सडकदेखि रुमबहादुरको घरसम्म ११० मिटर, मुख्य बाटोदेखि देउराम बुढाथोकीको घरसम्म १५० मिटर, जब्दहवामा मरीमाता मन्दिरदेखि मुख्य बाटोसम्म २०० मिटर, मुख्य बाटोदेखि १०० मिटर, डाँङ्गीटोलमा ११० मिटर रहेका छन् ।

सडक सञ्जालले घेरिँदै गरेको यस वडाका सम्पूर्ण सडक स्तरन्नतीको चरणमा छन् । मुख्य सडकका रुपमा रहेको मिलन चोकदेखि १० किलोमिटर बाटो ग्राभेल, डलैपुर विद्यालयदेखि पश्चिम तिलकपुर र पूर्व तिलकपुर जाने ५०० सडक मिटर, मिलनिया गाउँ बाटो ४०० मिटर, जब्दहवादेखि तिलकपुर २५० मिटर, डलैपुर–डाँङ्गीटोल–रंगईताल २ किलोमिटर, गोहना बाटो २०० मिटर, छग्रहवा–लडियाघाट २ किलोमिटर, बाहुन बगैंचा–छग्रहवा दुई किलोमिटर सडक ग्राभेल गरिएको छ ।

वडा कार्यालयका अनुसार यी सबै सडक गाउँपालिको बजेटबाट स्तरोन्नती गरिएको हो । यस्तै कच्ची सडकका रुपमा साविकको कम्दीमा ८ मिटरको बाटो २०० मिटर र बाहुन बगैंचामा २०० मिटर सडक छ । यो वडा पूर्वमा राप्तीसोनारी गाउँपालिकाको सीमासँग जोडिएको छ भने उत्तरमा कोहलपुर नगरपालिका र पश्चिम तथा पश्चिम उत्तरमा नेपालगन्ज उपमहानगरपालिकासँग सीमाना जोडिएको छ ।

साथै वडाभित्रका सबै सडकलाई स्तरन्नोती गर्दै लैजाने क्रममा आगामी बर्षभित्रै लडियाघाट–छग्रहवा र मुख्य सडकदेखि तिलकपुरसम्म पिसीसी गर्ने वडा कार्यालयको योजना छ । ‘स्थानीयको सहजताका लागि स्थानीय सरकारले वडाका सबै बस्तीमा सडक सञ्जाल जोड्ने लक्ष्य अनुसार काम गरिरहेको छ,’ उनले भने, ‘चार बर्षको अवधिमा हामीले धेरै भित्रि सडकहरुको स्तरोन्नती गरेका छौं ।’

यस वडाको धेरै गाउँलाई डुडुवा खोलाको बाढीले दुःख दिने गरेको छ । त्यसको व्यवस्थापनका लागि वडा कार्यालयले चार क्षेत्रमा तटबन्ध पनि गरेको छ । पश्चिम तिलकपुर, लिवाङ्गीटोल, लडियाघाट र मिलनचोकमा पर्ने डुडुवा खोलामा तटबन्ध गरिएको छ । यस्तै खजुरामा ट्रष्ट पुल निर्माण भएको छ भने लडियाघाट र लिवाङ्गी टोललाई जोड्नका लागि डुडुवा खोलमा झोलुङ्गे पुल निर्माण भएको छ ।

वडा नं. ५ कै नानापुरमा खानेपानी ट्याँकी निर्माण भएको छ । झोलुङ्गे पुल झण्डै १०० मिटर लामो रहेको वडाध्यक्ष बुढाथोकीले बताए । दुवै झुलुङ्गे पुलले नेपालगन्ज उपमहानगरपालिका र राँझा बजारसम्मको यात्रालाई छिटो र सहज बनाएको छ भने स्थानीय सरकारले वडाका प्रत्येक बस्तीमा सडक सञ्जाल पुर्याएपछि ५ नम्बर वडाका नागरिकलाई गाउँमै अन्य पेशा व्यवसाय गर्न सहज भएको पनि उनले बताए ।

सडक सञ्जालले गाउँपालिकाका सबै वडा र गाउँबस्तीलाई नजोडेसम्म विकास सम्भव नहुने भएकाले सडकको स्तरोन्नतीलाई प्राथमिकतामा राखेको वडा नं. ५ का वडाध्यक्ष पर्शुराम बुढाथोकीले बताउनुभयो । ‘चार बर्षको अवधिमा वडा फेरिएको छ । वडा नं. ५ मा जनप्रतिनिधिको सक्रियतासमेत बढेसँगै पछिल्लो समयमा वडा पुरै सडक सञ्जालमा जोडिएपछि कम्दीवासीबासीको जनजीवनसँगै दैनिकीसमेत फेरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतवार १३:५१