बाग्लुङ । कोरोना महामारीको त्रासका कारण बैशाख यता विद्यालय खुलेका छैनन् । केही विद्यालयले भने वैकल्पिक माध्यामको प्रयोग गरेर पठनपाठन गराइरहेका छन् । केही विद्यालय अन्यौलमै छन् ।
भौतिक उपस्थितिले जोखिम बढाउने भन्दै वैकल्पिक रुपमा भर्चुअल माध्यमबाट पठनपाठन भइरहेको छ । तर, विद्यार्थी र अभिभावकले साबधानी नअपनाउँदा संक्रमण फैलिएको पाइएको छ । बाग्लुङ नगरपालिका–१२ अमलाचौरमा भर्चुअल कक्षाका लागि इन्टरनेटको सुविधा खोजीमा जम्मा भएका विद्यार्थीका कारण गाउँभरि कोरोना फैलिएको पाइएको हो ।
अमलाचौरको मेलबोट गाउँमा अनलाइन कक्षाका लागि जम्मा भएका विद्यार्थीहरु संक्रमित भएको पाइएको हो । शनिबार जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौसहितको स्वास्थ्यकर्मी र जनप्रतिनिधि समूहले संक्रमणको स्रोत खोजी गर्ने क्रममा वाइफाई खोज्न एकै ठाउँमा जम्मा भएका विद्यार्थी सबैमा संक्रमण भएको पुष्टि भएको हो ।
‘नारायणस्थानमा कोरोना संक्रमित महिलालाई भेटेर फर्किएपछि छिमेकमा बिरामी परेका थिए । बिरामीले परीक्षणका लागि स्वाब दिएका रहेछन्, तर उनीहरुका छोराछोरी वाइफाईको खोजीमा अरु बालबालिकासँगै बसेका थिएँ,’ मेलबोटकी रुपमा सुनुवारले भनिन्, ‘जम्मा भएकै दिन उनको रिपोर्ट पोजेटिभ आयो, सँगै बसेका अरु तीनजना केटाकेटी पनि दुई दिनपछि बिरामी परे ।’
उनीहरु तीनै जनामा संक्रमण पुष्टि भैसकेको छ । मेलबोटमा मात्रै चार जना १८ वर्षमुनिका बालबालिका संक्रमित छन् । अन्य धेरै बालबालिकामा रुघाखोकी, ज्वरोजस्ता लक्षणहरु देखिएको अमलाचौर स्वास्थ्यचौकीका प्रमुख कृष्णप्रसाद शर्माले बताए । लक्षण भएका बिरामीले सावधानी नअपनाउने र जाँचका लागि स्बाव दिएपछि पनि गाउँ डुल्ने परिपाटीकै कारण कोरोना फैलिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख गुरौले बताए ।
‘स्रोत खोज्दा सबैले उस्तै कारण हो भन्ने शंका गर्नुहुन्छ,’ गुरौले भने, ‘पाहुना लाग्दा र वाइफाई खोज्दा गाउँमा कोरोना फैलिँदैछ ।’ गाउँमा निषेधाज्ञाको पालना नहुनु र स्वास्थ्यका मापदण्ड नअपनाउनु अर्को कारण भएको गुरौ बताउँछन् । गाउँमा नौजना संक्रमित छन् । होम आइसोलेसनमा रहेका बिरामीले संक्रमण नभएकासँग न दूरी कायम राखेका छन् न सावधानी नै अपनाएका छन् ।
संक्रमित बालबालिकाहरुमा खोकीको समस्या छ । बोल्दा र लामो सास फेर्दा खोकी बढी लाग्ने गरेको एक संक्रमित बालकले बताए । अभिभावक र गाउँमा लक्षण देखिएका अन्य सबैको परीक्षणको तयारी भैरहेको स्वास्थ्यचौकी प्रमुख शर्माले बताए । अमलाचौरको मेलबोटमा कोरोनाको दोस्रो लहर प्रारम्भ हुने बेलामा समेत सबैभन्दा धेरै संक्रमित थिए । संक्रमितले लापरवाही गरेको भन्दै सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो ।
।