सूचनाको शक्ति - The Power Of Information

        

उपेक्षामा बालन्याय

सुधारगृहमा क्षमताभन्दा दोब्बर बालक

बाँके । बाँके डुडुवास्थित आसमानपुरमा रहेको बालसुधार गृहमा क्षमताभन्दा दोब्बर बढी बालकहरू रहेकाले व्यवस्थापनमा ठूलो समस्या बढ्दै गएको पाइएको छ । ७० जनाको क्षमता भएको बाल सुधारगृहमा हाल १४४ जना बालक रहेका छन् । जसमध्ये १४३ जना नेपाली बालक छन् भने एक भारतीय बालक छन् ।

बाल सुधारगृहका इन्चार्ज विमला काउचा मगरले क्षमताभन्दा दोब्बर बढी बालकहरू हुँदा कोरोना कहरमा उनीहरूलाई कोचाकोच गरेर राख्नुपर्ने बाध्यता रहेको बताइन् । उनका अनुसार क्षमताभन्दा बढी हुँदा एकै कोठामा ४०–५० जना बालकहरू बस्नुपर्दा दाद जस्ता छाला रोगको सङ्क्रमणले बालकहरूलाई सताउने गरेको छ ।

सरुवा रोग भएका कारण केही दिन निको भएजस्तो भए पनि सँगै बस्नुपर्दा फेरि एकबाट अर्कोलाई सर्ने गरेको उनले बताइन् । बाल सुधारगृहको समन्वयमा कारागार कार्यालय बाँकेबाट स्वास्थ्यकर्मी गई बालकहरूको स्वास्थ्य परीक्षण हुने गरेको सुधारगृहले जनाएको छ । बाल सुधारगृहलाई युसेफ नामक सामाजिक संस्थाले सञ्चालन गर्दै आएको छ ।

नयाँ भवनका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भई निर्माणको कार्य थालनी भएको इन्चार्ज मगरले जानकारी दिइन् । उनले बालकहरू विभिन्न कारणले कानुनको विवाद आउने भएकाले उनीहरूलाई मनोसामाजिक परामर्शका साथै उनीहरूको आपराधिक मनोवृत्तिमा सुधार ल्याई समाजमा पुनस्र्थापना गराउन सबै लाग्नुपर्नेमा जोड दिइन् ।

मनोसामाजिक परामर्शदातासमेत रहेकी मगरले नयाँ आर्थिक वर्षदेखि नेपाल सरकार आफैँले सञ्चालन गर्ने भने पनि त्यसको कार्यान्वयन हुन नसकेको बताइन् । बालबालिकालाई दण्ड गर्नुभन्दा सुधार गर्नुपर्छ भन्ने मान्यता बालन्यायले राखे पति व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बालन्यायको क्षेत्रमा कार्यरत अधिकारकर्मीहरु बताउँछन् ।

बालकहरू किन आपराधिक क्रियाकलाप लागेको हुन्छन् भन्ने कुराको अनुसन्धान गरी उनीहरूलाई गल्तीको महसुस गराई समाजमा पुनस्र्थापना गराउनतर्फ लाग्नुपर्नेमा कारण नखोतली अपराधीको रूपमा मात्र हेर्ने प्रवृत्तिका कारण बालन्यायले अपेक्षित सफलता पाउन नसकेको अधिकारकर्मीहरुको भनाई छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार ११:३२