सूचनाको शक्ति - The Power Of Information

        

माग पूरा नभए भदौ ३ गतेदेखि सत्याग्रह शुरु गर्ने डा. केसीको चेतावनी

काठमाडौं । डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गर्दै आफ्ना मागहरु पूरा नभए सत्याग्रह शुरु गर्ने चेतावनी दिनुभएको छ ।

डा. केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफूले उठाउँदै आएका मागहरु पूरा नभए भदौ ३ गतेदेखि सत्याग्रह शुरु गर्ने चेतावनी दिनुभएको हो ।

डा. केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्नुपर्ने लगायत पाँच बुँदे माग अघि सार्नुभएको हाे ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हालै भएका सम्झौताहरु कार्यान्वयन गरी शीर्ष पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने उहाँको माग छ ।

बीपी प्रतिष्ठान लगायत कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा निष्पक्ष रुपमा मादपण्ड निर्धारण गरी पदाधिकारी नियुक्त गर्नेुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा ‘बीपी प्रतिष्ठानमा अरबौँ भ्रष्टाचारका लागि दोषि पदाधिकारीहरुको उन्मुक्ति नपाउन्, त्यहाँ उस्तै भ्रष्टहरुको नियुक्ति नदोहोरियोस तथा नेपालको राजनीतिमा नीतिगत भ्रष्टाचारले जरा नगाडोस् भनेर सरकार समक्ष निम्न मागहरु राखेका छौँ। यी माग पुरा नभएमा यदी भाद्र ३ गतेदेखि सत्याग्रह सुरु गर्ने पनि जानकारी गराउँछौँ,’ भनिएको छ ।

चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई धम्क्याउने, हस्तक्षेप गर्न खोज्ने र आफ्ना अभियानका सदस्यलाई भौतिक आक्रमणको धम्की दिने व्यक्तिलाई कानुनी कारबाही गर्नुपर्ने, २०८५ सालदेखि नेपालको मेडिकल शिक्षा गैर नाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले ती नीति कार्यान्वयन सुनिश्चित गर्नुपर्ने र यसअघि आफूसँग भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने डा. केसीको माग छ।

चिकित्सा शिक्षा ऐनको संशोधन गर्दा अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था गर्न डा. केसीले माग गर्नुभएकाे छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार १५:४३