सूचनाको शक्ति - The Power Of Information

        

सार्वजनिक सुनुवाईको माग राख्दै वडा कार्यालयमा तालाबन्दी

बझाङ ।  सार्वजनिक सुनुवाईको माग राख्दै वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

बझाङको जयपृथ्वी नगरपालिका –६ नौराको वडाकार्यालयमा आर्थिक वर्ष वितिसक्दा समेत सार्वजनिक सुनुवाई नभएको भन्दै स्थानिय युवाहरु संगठित भई सोमवार वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

वडामा आएको बजेट अर्कै शिर्षका रकमान्तर गरी दुरुपयोग भएको भन्दै युवाहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडाले आर्थिक वर्ष वितिसक्दा समेत वडाको सार्वजनिक सुनुवाई नगरेको र वडाको केही बजेट रकमान्तर गरी गाउँको सहकारीमा लगानी गरेकाले यसको लेखाजोखा माग्न वडा कार्यालयमा तालाबन्दी गरेको युवाहरुले जानकारी दिएका छन् ।

वडाकार्यालयले आमधारा कृषि सहकारीको जिपमा लगानी गरेको बजेट फिर्ता गर्नुपर्ने,वडाको सार्वजनिक सुनुवाई गरिनुपर्ने र आगजनी भएको सहकारीको जिप चाँडो संचालनमा ल्याउनुपर्ने, दोषीलाई चाँडोभन्दा चाडो कार्वाहीको दायरामा ल्याउनु पर्ने जस्ता मागहरु राख्दै युवाहरुले वडाकार्यालय तालाबन्दी गरेको स्थानीय देबेन्द्र बहादुर सिंहले बताउनुभयो ।

सार्वजनिक सुनुवाई नभएसम्म वडाकार्यालयमा लगाएको ताला नखोल्ने समेत सिंहले बताउनुभयो ।
गाउँमा सेवा दिदै आएको एकमात्र आमधारा कृषि सहकारीको जिप सहकारीका पदाधिकारीले अन्य गाउँका ब्यक्तिलाई भाडामा दिने निर्णय गरेपछि एक साता अघि अज्ञात समुहले उक्त सहकारीको जिपमा आगजनी गरेका थियो ।

जिपमा आगजनी भएपछि गाउँमा खाद्ययन्न लगाएतका समानहरु ढुवानी गर्ने असहज भएको भन्दै सहकारीको जिप छिटो संचालनमा ल्याउनुपर्ने युवाहरुको माग रहेको छ ।

पटक पटक वडाको सार्वजनिक सुनुवाईको माग राख्दा समेत वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहले अटेर गरेको युवाहरुको भनाई छ ।

जयपृथ्वी नगरपालिका ६ नं.वडा स्थित आमधारा कृषि सहकारीको जिपमा आगजनी गर्ने ब्यक्तिको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यस अघि पनि वडाको बजेट अनियमिता भएको भन्दै तालाबन्दी भएको थियो भने वडामा तालाबन्दी गरिएको यो दोस्रो पटक हो ।

तालाबन्दीको बिषयमा वडा अध्यक्ष नरेन्द्र बहादुर सिंह संग बुझ्न खोज्दा मोबाईल अफ रहेको छ । वडा सदस्य गणेश सिंहलाई खबर गर्दा आफु विरामी भएर धनगडी गएको र त्यो विषयमा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १०:२०