काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाटै राजीनामा दिने चेतावनी दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका शीर्ष नेताद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईसँग झोक्किँदै देउवाले दुई दिनभित्र मन्त्रीमण्डललाई पूर्णता दिने वातावरण नबनाए आफैं राजीनामा दिने चेतावनी दिएको बालुवाटार स्रोतले जनाएको हो ।
देउवालाई भेट्न शनिबार बालुवाटार पुगेका प्रचण्डले वार्ताको सुरूमै देउवाको रिसको सामना गर्नुपर्यो । कुराकानीको सुरूवातमै देउवाले आइतबारसम्म मन्त्रीको लिष्ट नदिए आफैंले राजीनामा दिने चेतावनीसमेत दिए । देउवा रिसाउन थालेपछि एकछिन प्रचण्डलाई फकाउन हम्मेहम्मे परेको बालुवाटार स्रोतले जनाएको छ ।
अध्यक्ष प्रचण्डले माधव नेपाललाई दोष थुपार्दै देउवालाई शान्त बनाउने प्रयास गरेका थिए । ‘माधव जीको समस्या तपाई हामीले नबुझे कसले बुझ्छ ? उहाँलाई पर्खिन खोज्दा ढिलाई भएको हो । मन्त्रीको नाम दिन मलाई कुनै समस्या छैन । कांग्रेस र माओवादीका मन्त्रीमात्र समावेश गरेर मन्त्रीमण्डल विस्तार गर्दा राम्रो सन्देश जाँदैन,’ प्रचण्डले देउवालाई भने ।
प्रचण्डले सोमबारसम्म जसरी पनि मन्त्रिमण्डललाई पूर्णता दिने प्रयास गरौं भनेपछि देउवा केही शान्त देखिएका थिए । शनिबार नै देउवाले जसपाका शीर्ष नेताद्धय भट्टराई र यादवलाई बालुवाटार बोलाएर मन्त्री छान्न किन ढिला गरेको भन्दै जङ्गिएका थिए । यादवले मन्त्री छान्न २–४ दिन लाग्न सक्ने बताएपछि देउवाको रिस पुनः थामिएन ।
‘तपाईं नै बन्नुस् प्रधानमन्त्री, तपाईं नै चलाउनुस् सरकार’ भन्दै देउवा पुनः झोक्किए । लामो समयसम्म मन्त्रिमण्डल विस्तार हुन नसक्दा बाहिर राम्रो सन्देश नगएको भन्दै देउवाले मुन्टो बटारेपछि भट्टराईले अब ढिलो गर्न हुँदैन भन्दै प्रचण्डले सोमबारसम्म मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गर्न आग्रह गरेको सुनाए ।
यादवले पनि अन्य दलले मन्त्रीको नाम टुङ्गो लगाए जसपाको कारण मन्त्रीमण्डल विस्तार नरोकिने बताए । देउवाले आइतबार साँझसम्म जसरी मनि मन्त्री बनाउनुपर्नेहरूको लिष्ट दिन भन्दै सोमबार जसरी पनि मन्त्रीमण्डललाई पूर्णता दिने बताएका थिए । तर गठबन्धनमा रहेका अन्य दलले मन्त्री हुनेको नामावली नपठाउँदा मन्त्रीमण्डल विस्तार हुन सकेको छैन ।
दोधारका बीच सरकारमा सहभागी हुने तयारीमा नेपाल समूह पार्टी एकताको पहल भैरहेको भन्दै सरकारमा सहभागी हुन हिच्किचाएको माधव नेपाल समूह गठबन्धनका नेताहरूको लगातारको आग्रहपछि सरकारमा सहभागी हुने भएको छ । तर उसले पार्टी एकताको सम्भावनालाई पनि कायमै राख्दै गैरसांसद्लाई सरकारमा पठाउने भएको छ ।
आफ्ना पार्टी कमिटीमा नभएका तर शुभेच्क्षा राख्ने आफूनिकटका तीन स्वच्छ व्यक्तित्वलाई सरकारमा सिफारिस गर्ने नेपालको तयारी छ । स्रोतका अनुसार नेपालले केही समयपछि विकसित घटनाक्रमलाई हेरेर थप निर्णय लिने जनाइएको छ । पार्टी फुटे पनि त्यसको अपजस आफ्नो भागमा नपरोस् भन्नका लागि नेपालले यस्तो जुक्ति लगाएको बताइन्छ ।
नेपाल समूहले तत्काललाई तीन मन्त्रालय मात्र मागेकोले सोहीअनुसार मन्त्रालयको भागवण्डा मिलाइएको बालुवाटार स्रोतले जनाएको छ । जसअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्रालय र एक राज्यमन्त्री, नेकपा माओवादी (केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले ६–६ मन्त्री र एक एक राज्यमन्त्री पाउने भएका छन् ।
।