सूचनाको शक्ति - The Power Of Information

        

दुर्गेशलाई बहिष्कार गर्ने लोकदोहोरी गीत प्रतिष्ठानको निर्णय

काठमाडौं । पछिल्लो समय गीतमा अराजकता निम्त्याएको भन्दै विवादको पात्र बनेका कलाकार दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले बहिष्कार गर्ने निर्णय गरेको छ ।

संस्थाको आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले गायक एवं मोडल थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको हो ।

दुर्गेशले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए । उक्त गीतको चौतर्फी आलोचना भएको थियो ।

गीत ल्याउनुअघि नै दोहोरीगीत प्रतिष्ठानले ‘ख्यास्स पुतली’ शब्दमा आपत्ति जनाएको थियो । प्रतिष्ठानले सो गीत तीजको मर्म विपरित रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने ठहर गर्दै आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत हुन आग्रह गर्दै दुर्गेशलाई पत्र नै काटेको थियो ।

तर, प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै दुर्गेशले गीत सार्वजनिक गरे । उक्त गीतले तीजको मर्ममाथी प्रहार गरेको प्रतिष्ठानले ठहर छ ।

गीतलाई लिएर सामाजिक सञ्जालदेखि महिला एवं महिलासँग सम्बन्धित संस्थाहरुले आपत्ति जनाएका छन् । आफूहरुको आग्रह अस्वीकार गर्दै गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले दुर्गेशलाई संस्थागत बहिस्कारको निर्णयमा पुगेको हो ।

गत बर्षहरुमा पनि उनले गीत संगीतमा बिकृति ल्याएको भन्दै उनले आलोचना खप्दै आएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १७:२२