सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची नदीमा पानीको सतह बढेपछि चनौटे बजारको बीच भागबाटै पानी बग्न थालेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार हेलम्बुभन्दा माथि फेरि पहिरो गएको छ । तर, कुन ठाउँमा पहिरो गयो भन्नेबारे यकिन भएको छैन । बाढी प्रभावित मेलम्चीका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । बाढीले रेडियो मेलम्ची १०७ दशमलव २ मेगाहर्जको भवन बगाएको छ ।
राति १२ बजे ४० मिनेट जाँदा रेडियोको भवन बाढीले बगाएको रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिए । गएको असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो । ‘तीन तलाको रेडियोको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो, गएरातिको बाढीले पूरै भवन नै बगायो,’ सुवेदीले भने ।
बाढी आउनुअघिको रेडियोको भवन ।
हिजो बेलुका एक्कासी मेलम्ची नदीमा बाढी आएपछि तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको थियो । हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासी बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि गएको असार १ गतेको बाढीले क्षति पुर्याएको भागबाट नै नदी बगेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
त्यतिबेला आएको बाढीका कारण मेलम्ची, हेलम्बु लगायत त्यस क्षेत्रमा ठूलो नोक्सानी भएको छ । बाढीमा परेर हराइरहेका १५ जना अझै भेटिएका छैनन् भने ५ जनाको ज्यान गएको थियो । बाढीका कारण मेलम्ची जोड्ने चुनौटेमाथिको रातो पुल पनि जोखिममा परेको छ । अहिले पुलमाथिबाट खोला बगिरहेको छ । यो पुलले हेलम्बु गाउँपालिकाको नाकोटे, अम्बाथान, तिम्बु, कियुल, चनौटे बजार र मेलेम्ची नगरपालिकाको बजार क्षेत्रसमेत जोड्छ ।
असार १ गते आएको बाढीले डुबानमा परेको रेडियोको भवन ।
गएराति आएको बाढीले रेडियोको भवन बगाए पछिको तस्बिर ।
।