सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा जीप खस्यो, बाबुआमा बेपत्ता, तीन छोराछोरी घाइते

फाइल तस्वीर

कैलाली। कैलालीमा शुक्रबार जीप दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो कैलालीको मोहन्याल गाउँपालिका वडा न ७ बाँकास्थित चिसापानीदेखि सोल्टा जाने कच्ची सडक खण्डबाट जीप कर्णाली नदीमा खसेको थियो ।

कैलाली प्रहरीका डीएसपी प्रतिक विष्टले भने, ‘एकै परिवारका ५ जना दुर्घटनामा परेका छन् । बाबुआमा बेपत्ता छन् । तीन छोराछोरी घाइते अवस्थामा फेला परेका छन् । उनीहरुलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको छ ।’

प्रहरीका अनुसार नदीमा जीप भने फेला परेको छ । तर, जीपमा रहेका डोटीको आदर्श गाउँपालिका ३ काँडे साउलेका अन्दाजी ४० वर्षीय चन्द्र प्रकाश जोशी र उनकी श्रीमती अन्दाजी ३० वर्षीया रुवि जोशी बेपत्ता छन् । प्रहरीले उनीहरुको खोजी कार्य भइरहेको जनाएको छ ।

घटनामा अन्दाजी ८ की लक्ष्मी जोशी, अन्दाजी वर्ष २ को भुवन जोशी र अन्दाजी वर्ष ६ कि सावित्री जोशी घाइते भएका छन् । भुवन र सावित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जेठी छोरी लक्ष्मीले गाडीमा आफ्ना बाबु आमा र तीन छोराछोरी रहेको प्रहरीलाई जानकारी दिएकी थिइन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १७:१३