सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

लुम्बिनी प्रदेश सरकार अल्पमतमा, मुख्यमन्त्री पोखरेल संकटमा

काठमाडौं । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । शुक्रबार प्रदेशसभा सचिवलायले उनीहरु पदमुक्त भएको सूचना प्रकाशित गरेको छ । शंकर पोखरेल सरकारमा मन्त्रीसमेत रहेका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त भएका हुन् ।

जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि उनीहरुमाथि पार्टीले कारबाही गरेको थियो । पार्टीले कारबाही गरेको सूचना विहीबार संसद सचिवलायमा दिइएको थियो । ८७ सदस्यीय प्रदेश सभा अब ७९ सदस्यीय भएको छ । सत्तापक्षसँग अब ३८ सांसदमात्र रहेका छन् । विपक्षीसँग ४१ सांसद छन् ।

अल्पमतमै रहे पनि जबरजस्ती एमालेका पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विपक्षीहरुले विरोध जनाउँदै आएका थिए । जसपाका तीनजना सांसद पदमुक्त भएसँगै पोखरेल स्पष्टरुपमा अल्पमतमा परेका छन् । जसपाको यो निर्णयपछि पोखरेलको संक्ट अझ बढेको छ ।

प्रदेश सभाबाट बजेट पारित नहुने देखेपछि पोखरेल सरकारले प्रदेशसभाको अधिवेशन स्थगित गरी अध्यादेशमार्फत बजेट ल्याएको थियो । तर, विपक्षीले त्यसको विरोध गर्दै आएका छन् । यसअघि पोखरेललाई एमाले समर्थित प्रदेश प्रमुख धर्मनाथ यादवको सहयोग थियो । तर, केन्द्रमा देउवा सरकार आएसँगै यादव बर्खास्त भएका छन् र अमिक शेरचन प्रदेश प्रमुख नियुक्त भएका छन् ।

शेरचन माओवादी केन्द्र निकट हुन् । त्यसैले पनि अब मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने अवस्था आउने अनुमान गरिएको छ । यसअघि पनि विपक्षीले संसद अविश्वासको प्रस्ताव ल्याएका थिए । तर, तत्कालिन प्रदेश प्रमुखले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने निर्णय दिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १६:५५