सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

बाँकेमा न मास्क न भौतिक दूरी, सचेतनाका नाममा बजारमा भीडभाड

कोरोना भाइरस संक्रमण पटक्कै छैन भन्ने मानसिकता नागरिकमा मात्रै होइन कार्यान्वयन गर्ने निकायका कर्मचारीहरुमा पनि परेको छ ।

बाँके । बाँके जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ । पहिलो र दोस्रो लहरबाट लङ्ग्रिँदै गरेको बाँकेमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर घट्दै गएपछि निषेधाज्ञा अति खुकुलो बनाइएको छ । सरकारले भीडभाड नगर्न र मास्क लगाउन अनिवार्य गरिरहेको छ । तर बाँकेमा कोरोनाको संक्रमण नै छैन की भन्ने यहाँको भीडभाडले देखाएको छ ।

गाडीको भीड बढ्दा सवारी चलाउन पनि सकस हुन थालेको छ । बाटोमा समुहमा हिडडुल उत्तिकै बढेको छ । गाडीमा भीडभाड उस्तै बढेको छ । मन्दिर दर्शन गर्ने र रेस्टुरेन्टमा खानेको भीडभाड पहिलेजस्तै देखिन्छ । बाँकेका मुख्य शहरमा बढेको भीडभाडले बाँके जिल्ला ‘कोरोना फ्रि’ जस्तै देखिन्छ । बजार, यातायात पहिलेकै अवस्थामा सञ्चालनमा भइरहेका छन् ।

बाटोको भीडभाड पहिले जस्तै छ । आजभोलि भीडभाड त यस्तो छ की बाँकेमा कोरोनाका कुनै संक्रमित छैनन् । कसैको मुखमा मास्क हुँदैन, अनि भौतिक दूरी पालना त झनै कसैले पालना गरेको देखिँदैन । कोरोनाको जोखिम कायमै रहे पनि जिल्लाका प्रमुख बजार र कार्यालयमा सर्वसाधारणले न मास्क लगाउने गरेका छन् न त भौतिक दूरी नै कायम गरेको पाइएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य मापदण्ड पालनामा भइरहेको हेलचेक्र्याइँले सङ्क्रमण बढ्न सक्ने ठूलो जोखिम रहेको चिकित्सकहरूले बताएका छन् । प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै व्यापार खोल्न र यातायातका साधन सञ्चालन गर्न अनुमति दिएपछि जताततै लापरबाही बढेसँगै फेरि जोखिम बढ्ने सक्ने भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाले बताए ।

उनले खुला रूपमै स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप भइरहेकाले सङ्क्रमण पुनः नबढ्ला भन्न नसकिने बताए । भौतिक दूरीको पालनामा पूर्ण बेवास्ता गरिएको पाइएको जनाउँदै मास्क प्रयोग र भौतिक दूरीका लागि स्थानीय प्रहरी प्रशासनले कडाइ गर्नुको साटो मौन बसेको बाँकेबासीको भनाई रहेको छ ।

निषेधाज्ञा खुकुलो पारिएपछि प्रशासनले स्वास्थ्य मापदण्ड विपरीतका गतिविधि नियन्त्रण गर्न सकेको छैन । बाँकेबासीका अनुसार अधिकांश सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् र नखोल्ने भनिएका क्षेत्र पनि आफूखुसी खोलिएका छन् । तर, स्थानीय प्रशासनले बेवास्ता गरेकै कारण बाँकेमा मापदण्ड विपरीतका गतिविधि भइरहेको नागरिकहरु बताउँछन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निकै छलफल र विचार–विमर्शपछि स्वास्थ्य मापदण्ड पालनाको सर्तमा मात्र निषेधाज्ञा खुकुलो बनाइएको जनाउँदै मापदण्ड पालनाका लागि प्रहरी प्रशासनसँगै स्थानीय तहले पनि अनुगमन गर्नुपर्ने बताए । तर सरकारी निकायले सचेतनाको नाममा बजारभरी भीडभाड बढाइरहेको पनि नागरिकहरुको आरोप छ ।

बाँकेमा स्वास्थ्य मापदण्ड पालना नगरिएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँके र कसौधन वैश्य समाज बाँकेले कोभिडको खतरा र जोखिमविरुद्ध सचेतना अभियान भन्दै बजारभरी भीड जम्मा गरेर कोरोनाको थप जोखिम निम्त्याएको छ । अभियानका नाममा बिहीबार नेपालगन्जमा प्रहरी र केही अगुवाहरुले भीड जम्मा पारेर कोभिडको जोखिम निम्त्याएको स्थानीयहरु बताउँछन् ।

सरकारले कोरोनाको तेस्रो लहर तीव्रगतिमा आउन सक्ने भन्दैसचेत हुन आग्रह गरे पनि सर्वसाधारणले भने वास्ता नगरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । भेरी अस्पतालका प्रमुख डा. थापा भन्छन्, ‘संक्रमण बिस्तारे बढ्न थालेको छ, हामी भारतसँगको खुला सीमासँग हामी छौं । त्यसैले यहाँ जोखिम उत्तिकै छ । तर पुरै वेवास्ता गरिएको छ ।’

भारतीय नाका सुरक्षित नहुँदाको यथार्थ अहिले नेपालगन्जसहितका सहरले भोग्नुपरेको उनले बताए । उनले स्वास्थ्य मापदण्डमा पालना नगरे सम्भावित तेस्रो लहर थेग्नै नसक्ने गरी फैलिने चेतावनी पनि दिए । उनले भने, ‘खोप लगाउनासाथ सुरक्षित भइन्छ भन्ने सन्देश फैलिएको छ, तर चालचलनको हिसाबले जोखिममा छौं ।’

जनमानसले कोरोना सकियो भन्ने भान परेको छ । कोरोना भाइरस संक्रमण पटक्कै छैन भन्ने मानसिकता नागरिकमा मात्रै होइन कार्यान्वयन गर्ने निकायका कर्मचारीहरुमा पनि परेको छ । सरकारले तेस्रो लहर आउने बताइरहेका बेला भीडभाड बढेको छ । यसको परिणाम केही समयमा देखिने पनि स्वास्थ्यकर्मीहरुको भनाई छ ।

‘शहरमा बाक्लो आउजाउले जोखिम बढाएको छ । नागरिक पटक्कै सचेत छैनन् । सचेतनाका नाममा स्थानीय प्रहरी प्रशासन जोखिम बढाउँदै हिँडेको छ,’ नेपालगन्ज–४ का प्रकाश गिरीले भने, ‘अभियानका नाममा सबैतिर भीडभाड छ । यसले स्वास्थ्य चुनौती थप्ने त्रास बढेको छ । नियमनकारी निकायले केही कडाइ नगर्दा हेलचेक्रयाँइ बढेको छ ।’

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार ०८:४६