सूचनाको शक्ति - The Power Of Information

        

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी

फाइल तस्वीर

काठमाडौं । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना संक्रमणको जोखिमका कारण उनीहरूले अध्ययन गरेको विद्यालयमै होमसेन्टर अवधारणा अनुसार परीक्षा लिने जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव अर्यालले बताए ।

सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ ।

यहि साउन ३१ गतेदेखि ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ । परीक्षा बोर्डका अनुसार कक्षा १२ मा २८ जनाभन्दा कम विद्यार्थी भएका १ हजार, ५० जना भन्दा कम विद्यार्थी भएका २३ सय, १ सयभन्दा कम विद्यार्थी भएका ३४ सय र ५ सयभन्दा बढी विद्यार्थी भएका ८९ विद्यालय छन् ।

सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने बोर्डको भनाई छ ।

कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्ने तयारी भएको तर १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको सदस्य सचिव अर्यालले जानकारी दिए ।

बैठकमा सांसद खगराज अधिकारीले होम सेन्टरबाट परीक्षा लिंदा त्यहीँकै निरीक्षक नहुने व्यवस्था गर्न सुझाव दिए । “नत्र चोरेर पास गराउने पनि हुन सक्छ,” अधिकारी ले भने ।

सांसद मानबहादुर बिश्वकर्माले विद्यार्थीले उच्च शिक्षा पढ्न नसक्ने गरी कुनै कार्य कतैबाट हुन नहुने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १३:२३