सूचनाको शक्ति - The Power Of Information

        

व्यवसायीले अस्थायी संरचनामा लगानी गर्नुपर्ने बाध्यता हट्यो : मन्त्री चौधरी


रेनुका गिरी । बुटवल । प्रदेश नम्बर ५ का भौतिक तथा पूर्वाधार योजना मन्त्री बैजनाथ चौधरीले स्थायी मेला मण्डपका लागि आफुले पहल गर्ने बताएका छन् । ५ नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुले अब अस्थायी संरचनामा ठुलो लगानी गर्नुपर्ने बाध्यता हट्ने मन्त्री चौधरीले बताए ।
भैरहवामा सुरु भएको खाद्य मेलाको उद्घाटन गर्दै मन्त्री चौधरीले ५ नम्बर प्रदेशलाई आर्थिक, सामाजिक, सांस्कृतिक हरेक प्रकारले अग्रपंक्तिमा लैजाने दावीसमेत गरे । देशको दोस्रो ठुलो उपत्यका, तराईका फाँट, हिमाली क्षेत्रका साथै पहाड समिश्रण भौगोलिक बनावटका कारण पनि ५ नम्बर प्रदेश १ नम्बर हुने उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले सरकारी स्तरबाट मेलाको आयोजना गरिनु प्रशंसनीय रहेको बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले उपभोक्तालाई सचेत र जागरुक बनाउन मेला उपयोगी हुने धारणा राखे । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले पोषणयुतm खाने कुराको बारेमा उपभोक्तालाई जानकारी दिन जरुरी रहेको उल्लेख गरे ।
‘परम्परागत पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खाने बानीमा सुधार गरौं’ भन्ने नाराका साथ भैरहवामा पहिलो पटक सुरु गरिएको मेलामा पहिलो दिन दर्शकको चासो देखिन्थ्यो । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनामा तीन दिन सम्म सञ्चालन हुने मेलामा स्थानीय कृषिजन्य उद्योगसहित विभिन्न ७० वटा स्टल रहेकोे आयोजक कार्यालय प्रमुख हस्तबहादुर राईले जानकारी दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७४, शनिबार ०४:५३