सूचनाको शक्ति - The Power Of Information

        

सञ्चालन कार्यविधि बनाउँदै प्रदेश ५ का मन्त्रालय


रेनुका गिरी । बुटवल । प्रदेश नम्बर ५ को राजधानी बुटवलका मन्त्रालयहरुमा कार्यविधि बनाउने काम सुरु भएको छ । प्रदेशको अस्थायी मुकाम बुटवलमा मन्त्रालयको ब्यवस्थापनसँगै सञ्चालन कार्यविधि बनाउने काम सुरु भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक, सुविधा, प्रदेशको शान्ति सुरक्षा, संघिय प्रहरी कानून, प्रादेशिक प्रहरी तथा कारागार ब्यवस्थापन, विपद ब्यवस्थापन, सूचनाको हक, चलचित्र र हल ब्यवस्थापन, जोखिम न्यूनिकरण जस्ता बिषयहरुको कार्यविधि बनाउन सुरु भएको जनाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेत गरी आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास र भूमि ब्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयहरुले कार्यविधि बनाउन सुरु गरेका छन् भने सामाजिक मन्त्रालयको कार्यालय ब्यवस्थापन अझै सकिएको छैन ।
स्थापना भैसकेका मन्त्रालयको कार्यविधि बनाउनुका साथै प्रदेशका १२ वटा जिल्लाको लगत तथा तथ्यांक संकलन गर्ने कार्य पनि भैरहेको मन्त्रीपरिषद सचिवालयले जनाएको छ । प्रदेशका मन्त्रालयहरुका खटिएका कर्मचारी कार्यालयमा उपस्थित नभएका कारण कर्मचारी अभावमा कार्यविधि बनाउन कठिनाई भैरहेको मुख्य मन्त्रालय तथा मन्त्रीपरिषदका सचिव दिपेन्द्र काफ्लेले बताए ।
सम्पूर्ण कर्मचारी नआइसकेको हुँदा काममा ढिलाई भएको बताउँदै सचिव काफ्लेले मन्त्रालय तथा महाशाखा लगायतका कार्यालय ब्यवस्थापन काम सम्पन्न भएसँगै मन्त्रीपरिषद बिस्तार लगायतका कार्यहरु गरिने उनको भनाई छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७४, शनिबार ०४:४७