सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

माओवादी अध्यक्ष प्रचण्डले भने, ‘ओली विक्षिप्त छन्, बार्दलीमा बर्बराउँछन्’

केपी ओलीलाई ‘महाराजधिराज’ भनेकोमा प्रचण्डले माधव नेपाललाई भेटेरै दिए धन्यवाद

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ता हुने भनिए पनि निश्चित नभएको बेला नेता नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । दुवै नेताबीच शनिवार बिहान कोटेश्वरस्थित नेता नेपालको निवासमा भेटवार्ता भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा जाने बेला प्रचण्ड कोटेश्वरस्थित नेपालनिवास पुगेका थिए । ‘यहाँ आउने क्रममा म माधव कमरेडकोमा यसो पसेर आएको हुँ,’ उनले कार्यक्रम भने । गठबन्धन जोगाउने विषयमा प्रयास जारी रहेको अध्यक्ष प्रचण्डले बताए । भेटमा नेपालले ओलीलाई महाराजधिराज भनेको विषयमा चर्चा भएको पनि प्रचण्डले बताए ।

‘हिजो माधवजीले विल्कुल सही कुरा भन्नुभयो । आममाफीको घोषणा बाफ रे बाफ महाराजाधिराजले माफी दिनुभयो, हामी नाच्ने हो कि भन्नुभयो नि त ! सटिक व्यंग्य उहाँले दिनुभएछ । मैले उहाँलाई धन्यवाद भनेको छु । बडो सुन्दर व्यंग्य थियो,’ प्रचण्डले भने । बरिष्ठ नेता नेपालले साउन ८ गते आयोजित पुष्पलाल स्मृति दिवसमा ओलीले घोषणा गरेको आममाफीको जवाफ फर्काएका थिए ।

नेपालले भनेका थिए, ‘हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो, एम्नेस्टी इज ग्रान्टेड । महाराजाधिराज उवाच । हामी कति गदगद भयौं । वाह वाह वाह । महाराजधिराज कति खुशी भएछन् । हामीलाई आममाफी मिलेछ । नाच्नुपर्ने भयो । खुशी हुनुपर्ने भयो ।’ सत्ताबाट बाहिरिएसँगै केपी ओली विक्षिप्त बनेका प्रचण्डको भनाइ थियो । ‘केपी ओली अहिले विक्षिप्त छन् । कहिले बालकोटको बार्दलीमा बर्बराउँछन् । उनको यो बर्बराहट धेरै दिन रहन्न,’ प्रचण्डले भने ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार १३:५०