सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नेपालगन्जमा जल्यो पूर्व प्रधानमन्त्री भट्टराईको पुत्ला

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पुत्ला जलाएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा धार्मिक हिंसा भड्काउने गरी हिन्दूहरुको आस्थामाथि प्रहार गरेको भन्दै आक्रोशित भएर नेपालगन्जमा भट्टराईको पुत्ला जलाएका छन् ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध अभद्र टिप्पणी गरेको भन्दै राप्रपा र राष्ट्रिय प्रजातन्त्रिक युवा संगठनले पूर्वप्रधानमन्त्री भट्टराईको पुत्ला दहन गरेका हुन् । नेपालगन्ज वडा नं ४ का वडाध्यक्ष एवं राप्रपाका नेता मोहम्मद सफिक बेहनाले भट्टराईले गरेको ट्वीटप्रति आपत्ति जनाएका थिए ।

डा.भट्टराईले भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाइरहेको तस्वीर ट्वीट गरेका थिए । उक्त तस्वीरमा लेखिएको विषयले हिन्दूहरूको अपमान भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । भट्टराईले भारतीय सहपाठीमार्फत पाएको तस्वीर भन्दै आदित्यनाथको तस्वीर ट्वीट गरेका छन् ।

पूर्वप्रधानमन्त्री डा.भट्टराईले उक्त तस्वीरमा ‘विश्वास खतरनाक चिज भएको र त्यसले दूध फालेर मुत्र पिलाउने’ भनाइ उल्लेख छ । सोही अभिव्यक्ति मुख्यमन्त्री आदित्यनाथले नदीमा दूध चढाइरहेको तस्वीरमा राखेर सामाजिक सञ्जालमा पोष्ट गरिएपछि हिन्दू धर्मप्रति आस्था राख्ने व्यक्तिहरूले आपत्ति जनाएका छन् ।

बहुसङ्ख्यक सनातन धर्मावलम्बीहरुले आफ्नो आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको भनेर भट्टराईलाई आरोप लगाएका छन् । राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले हिन्दूविरुद्ध अभद्र र धार्मिक हिंसा भड्काउने खालको टिप्पणी गर्नेलाई यथाशीघ्र कानुनी कारबाही गर्न माग गरे ।

नेपालगन्जमा भएको बिरोध प्रदर्शनमा युवाहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन राप्रपाका नेता एवं नेपालगन्ज वडा नं. ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले गरेका थिए । कार्यक्रममा युवा संगठनका नगर अध्यक्ष रबि बर्मा, राप्रपा महिला संगठनका अध्यक्ष इन्दिरा शाही, नेपालगन्ज वडा नं. ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता, राप्रपा नेता दिपेन्द्र सिंह लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १८:५१