बाँके । आगामी साउन १७ गतेदेखि अन्तरप्रदेश नेपालगन्ज–पोखरा सिधा उडान हुने भएको छ । हालसम्म संघीय राजधानी काठमाडौंबाट मात्र प्रदेश स्तरीय उडान भइरहेको अवस्थामा पहिलो पटक बुद्ध एयरले अन्तरप्रदेश हवाई उडान सेवा सुरु गर्न लागेको हो ।
पहिलो पटक अन्तर प्रदेश नेपालगन्ज–पोखरा उडान भर्न लागेको कम्पनीले प्रारम्भिक चरणमा साताको ३ दिन अर्थात आइतबार, बुधबार र शुक्रवार सो स्थानमा नियमित उडान भर्ने जनाएको छ । साथै, केही समयपछि यात्रुको माग र चापका आधारमा दैनिकी उडान भर्ने योजना समेत कम्पनीले बनाएको बुद्ध एयरले जनाएको छ ।
पछिल्लो समय बुध्द एयरले काठमाडौं केन्द्रित उडानलाई क्रमशः प्रदेशहरुबाट पनि विस्तार गरिरहेको छ । यस उडानबाट दुबै शहरका जनता लाभान्वित हुनुका साथै दुबै स्थानको पर्यटन क्षेत्रको प्रवर्द्धनमा समेत सहयोग पुग्ने कम्पनीको विश्वास छ । यसले नेपालगन्जबाट केही घण्टाको दुरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतिर पनि पर्यटकीय मुभमेन्ट हुने र नेपालगन्जबासी पनि पर्यटकीय शहर पोखराका पर्यटकीय स्थल हिमाल श्रृंखलाको आनन्द लिन सक्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।
यसले उडानबाट नेपालगन्ज नजिक रहेका भारतीय शहरहरु लखनउ, कानपुर आदि गन्तव्यका पर्यटकहरु समेत आकर्षित हुनेमा कम्पनी विश्वस्त रहेको जोशीले बताए । पोखरा गण्डकी प्रदेशको केन्द्रिय राजधानी हो भने नेपालगन्ज लुम्बिनी प्रदेशको मुख्य औद्योगिक शहरका रुपमा रहेको ऐतिहासिक, धार्मिक शहरका रुपमा परिचित हो ।
।