सूचनाको शक्ति - The Power Of Information

        

इन्टरनेट नहुँदा अनलाइन कक्षा पढ्न विद्यार्थीलाई समस्या

जाजरकोट । बारेकोट गाउँपालिका–२, तलीआगरका रोकायगाउँका भीमबहादुर नेपाली घरबाट अनलाइन कक्षा पढ्न सदरमुकाम खलङ्गा आएका छन् । भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा बीएड दोस्रो सेमेस्टरमा अध्ययनरत उनी गाउँमा इन्टरनेट सुविधा नभएपछि अनलाइन कक्षाकै लागि बजारमा डेरा लिन बाध्य भएका हुन् ।

अहिले कोरोना महामारीको कारण विभिन्न विद्यालय र कलेजले वैकल्पिक शिक्षाका रूपमा अनलाइन कक्षा चलाइरहेका छन् । तर, जाजरकोटका ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच नहुँदा विद्यार्थी पढ्नबाट वञ्चित भइरहेका छन् । कुशे गाउँपालिका–१, अर्छानीका अनिलले कोरोना महामारीमा वैकल्पिक शिक्षाको थालनी भए तापनि आफूहरूलाई झन् सास्ती भएको बताए ।

नेपालगन्जमा सीएमए अध्ययनरत उनी घरमा इन्टरनेट नभएपछि सदरमुकाममा भाडाको कोठामा बस्न बाध्य भएको उनले बताए । शहरतिर पढ्न गएका अधिकांश विद्यार्थी कोरोनाको डरले गाउँ फर्केका छन् । तीमध्ये केही विद्यार्थी सदरमुकाममा आएर पढे पनि धेरैजसो विद्यार्थी गाउँमै बसिरहेका छन् ।

घरको काम गर्ने, गाईभैंँसी चराउने काममै उनीहरूको दैनिकी बितिरहेको छ । बारेकोट गाउँपालिका–१, रामीडाँडाका नन्दलाल विकले बजारमा कोही नहुँदा पढाइ छुटिरहेको बताए । ‘अरु साथीहरूको पढाइ धेरैअघि बढिसक्यो । आफू भने गाउँमै खाली हात बस्नुपरेको छ । कोरोना कम भयो भने जानुपर्ला,’ उनले भने ।

जाजरकोटका विद्यालयमा अनलाइनबाट पढाइ भएको छैन । यसले अभिभावकलाई चिन्तित तुल्याएको छ । नलगाड नगरपालिका–३ का नन्दलाल वलीले दुई वर्षदेखि बालबच्चाको पढाइ बिग्रिएको गुनासो गर्नुभयो। श्री मावि जुनीचाँदेका शिक्षक प्रवीन विकले भने शहरका विद्यालयमा भर्ना भएका तर गाउँमा इन्टरनेटको पहुँच नभएका क्षेत्रका विद्यार्थी थप मारमा परेको बताए । जिल्लाका अधिकांश विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको अवस्था उस्तै छ ।

अनलाइन कक्षालाई सरकारले प्राथमिकता दिए पनि जाजरकोट सदरमुकाममा समेत इन्टरनेटले राम्रो काम नगरेको जानकारहरू बताउँछन् । नेपाल पत्रकार महासङ्घ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले गाउँमा टेलिफोन गर्न पाउँदा सौभाग्य सम्झने अवस्था आएको बताए । दुर्गम जिल्लाका विद्यार्थीलाई इन्टरनेट पहुँचको लागि सरकारले विशेष प्याकेज सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १०:०९