सूचनाको शक्ति - The Power Of Information

        

निषेधाज्ञा खुलेसँगै यी कारणले बढ्दैछ कोरोना संक्रमण

काठमाडौं । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस संक्रमणको ग्राफ पनि उकालो लागको छ ।

पछिल्लो १ हप्ताको तथ्यांक हेर्दा संक्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।

सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै संक्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले संक्रमणको दर बढेको पाइएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि संक्रमणदर पनि बढिरहेको बताए ।

निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटक–पटक आग्रह गरे पनि मानिसले लत्याएका छन् । यसबाट संक्रमण दर क्रमशः बढ्दै गएको पाइएको छ ।

‘खुकुलो भएसँगै संक्रमण हुने दर बढिरहेको छ । विगत १ हप्तादेखि संक्रमित हुने दर बढ्दो रहेको छ,’ उनले भने, ‘संक्रमणको रोकथाम र नियन्त्रण गरे पनि भीडभाड गर्ने र जनस्वास्थ्यमा मापदण्ड लागू नगर्दा संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन ।’

सरकारले गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएको हो । कोभिड–१९ को सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो ।

मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकीछिपी वा खुल्लमखुला जनस्वास्थ्यमा मापदण्ड उल्लंघन भइरहेको जनाएको छ । उनका अनुसार अहिले दैनिक परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा संक्रमणदर रहेको छ ।

नेपालमा शुरूदेखि अहिलेसम्मको संक्रमणदर भने १९.३ प्रतिशत रहेको छ ।

संक्रमणको दोस्रो लहर आएसँगै दैनिक १ हजार ८०० मा झरे पनि अहिले त्यो क्रमशः बढ्दै गइरहेको छ । अहिले त्यो संख्या बढेर ३ हजार पुगेको छ ।

साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा २ हजार ९३६ मा संक्रमण देखिएकामा बिहीवार साउन ७ गतेसम्म आइपुग्दा २ हजार ७१४ पुगेका छन् ।

साउन २ गते १० हजार ६६ परीक्षण हुँदा १ हजार ८७५, ३ गते ९ हजार ६२८ परीक्षण गर्दा १ हजार ८०१, ४ गते ११ हजार ६६४ परीक्षण हुँदा २ हजार ४४५, ५ गते १३ हजार १३५ परीक्षण हुँदा ३ हजार १०८ र साउन ६ गते २ हजार ८३८ जना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार मृत्यु हुने संख्या १८ सम्ममा झरे पनि बिहीवार २४ जनाको संक्रमणबाट निधन भएको छ । यसैगरी सबभन्दा बढी संक्रमणदर हुने प्रदेशमा प्रदेश नम्बर १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन् ।

ती प्रदेशमा परीक्षण गरिएकामध्ये २ जनामा १ जना संक्रमित पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।

जनस्वास्थ्यविद् डा. सागरराज भण्डारीले निषेधाज्ञा खुकुलो पारेसँगै जोखिम बढेको बताउँछन् । उनले परीक्षणको दायरा कम र खुकुलो भएसँगै मानिसको भीडभाड भएकाले नेपालमा संक्रमणको जोखिममा अझै रहेको बताए ।

‘मानिस घरमै बसेर संक्रमणलाई लुकाइरहेका छन् । संक्रमण भए पनि आइसोलेसनमा बसेका छैनन्,’ उनले भने, ‘जसले गर्दा घरपिच्छै सबै मानिसमा संक्रमण हुने डर छ ।’

उनले खोप लगाएका मानिसबाट पनि संक्रमण सार्ने जोखिम उत्तिकै रहेको बताए । ‘खोप लगाएका मानिस केही हुँदैन भन्दै जनस्वास्थ्यमा मापदण्ड लागू गरिएको देखिएको छैन,’ उनले भने, ‘खोपले संक्रमणलाई नै रोक्ने होइन । संक्रमणको लक्षणलाई मात्र कमी गराउने हो ।’

नेपालमा पहिलो लहर सकिए पनि गत चैतको दोस्रो हप्तादेखि संक्रमणको दोस्रो लहर आएको थियो । दोस्रो लहरले मानिसको जनजीवन असामान्य बनाएको थियो । संक्रमणको दोस्रो लहरले फोक्सोमा असर पुर्‍याएर अक्सिजनको मात्रा घटाउने र निमोनियाजस्ता रोग लागेका थिए ।

जनस्वास्थ्यविद् भण्डारीका अनुसार भारतमा संक्रमणको दर बढिरहेकाले नेपालमा जोखिम रहेको छ । भारतको खुला सीमाका कारण भारतबाट संक्रमण फैलने डर रहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले खुकुलो भएसँगै मानिसले जनस्वास्थ्यमा मापदण्ड प्रयोग नगर्दा जोखिम रहेको बताउँछन् ।

‘खोपले लगाएको ४ देखि ६ हप्तासम्म काम गर्दछ,’ उनले भने, ‘खोप लगाएकाले पनि स्वास्थ्यमा मापदण्ड लागू नगर्दा त्यो बीचमा जोखिम नै हुन्छ ।’

उनले केही समय अस्पतालमा संक्रमित बिरामी कमी आए पनि अहिले उपचार गर्नेको संख्या पनि बढेको बताए ।

अहिले ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १० वटा रहेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व) र रुपन्देही  रहेका छन् । यही साउन ६ गते मात्र ५ं०० भन्दा बढी संक्रमति हुने नवलपरासी (पूर्व), रुपन्देही र कास्की जिल्ला थपिएका हुन् । २०० भन्दा बढी संक्रमति हुने जिल्ला २६ पुगेका छन् ।

मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा यस हप्ता २०० भन्दा बढी संक्रमण हुने जिल्ला धेरै थपिएको जनाएको छ ।

सरकारले तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ । नेपालमा असोज वा कात्तिक महिनातिर तेस्रो लहर आउनसक्ने बताइएको छ ।

अस्पतालका निर्देशक डा बाँस्तोलाले तेस्रो लहरका रूपमा डेल्टा प्लस भेरियन्ट नेपालमा देखिइसकेकाले जोखिम शुरू भइसकेको बताए । उनले डेल्टा प्लस भेरियन्ट निकै संक्रामक रहेकाले बच्नुपर्ने बताए ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बिहीवार विज्ञप्ति जारी गर्दै संक्रमणको बढ्दो अवस्थाले तेस्रो लहर आउन सक्ने बताए । उनले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संघसंस्थालाई अक्सिजन, शय्या लगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरे ।

उनले तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको बताए ।

‘सबै अस्पताललाई अक्सिजन भर्न र श्यया तयारी अवस्थामा राख्न निर्देशन दिएका छौं,’ उनले भने, ‘तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचार कक्ष र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेको छौं ।’

उनले तेस्रो लहर बालबालिकाका लागि बढी जोखिम रहेकाले सबै स्वास्थ्य संस्थालाई बालबालिकाका लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिइसकेको जानकारी दिए ।

काठमाडौं उपत्यकामा पनि संक्रमणदर बढ्दो रहेको छ । उपत्यकामा भीडभाड र सवारी साधन चलेसँगै संक्रमण पनि बढिरहेको मन्त्रालयले जनाएको छ । साउन १ गते उपत्यकामा संक्रमित संख्या ५४१ पुगेकामा साउन ७ गते ७५१ पुगेको छ ।

साउन १ गते उपत्यका काठमाडौंमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२ जनामा संक्रमण देखिएको थियो । साउन ७ गते काठमाडौंमा ५३६, ललितपुर १३० र भक्तपुर ८५ जनामा संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा संक्रमत २ लाख १२ हजार १५२ तथा ५ हजार ९१६ सक्रिय संक्रमित रहेका छन् । ललितपुरमा ३९ हजार ५९६ संक्रमित र १ हजार ६१ सक्रिय संक्रमित तथा भक्तपुरमा २३ हजार ४४२ संक्रमित र ९३५ सक्रिय संक्रमित रहेका छन् ।

संक्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ । साउन १ गते निको हुने दर ९४.५ प्रतिशत रहेको थियो । साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४.५ रहेको छ । अहिले निको हुने दर बढ्न सकेको छैन । साउन २ गतेदेखि साउन ४ गतेसम्मको ९४.७ प्रतिशतमा स्थिर रहेको थियो ।

साउन २ गते ९४.७ प्रतिशत, ३ गते ९४.७ प्रतिशत, ४ गते ९४.७ प्रतिशत, ५ गते ९४.६ प्रतिशत  ६ गते निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

नेपालमा अहिलेसम्म भारत, चीन र अमेरिकाबाट कोरोना भाइरसविरुद्धको खोप आएको छ । ती खोप प्राथमिकतानुसार मन्त्रालयले नियमितरूपमा नागरिकलाई लगाइरहेको छ । कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप नेपालमा लगाइएका छन् ।

अहिलेम्म नेपालमा ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । सरकारले साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ चीनबाट ल्याउने भएको छ ।

पहिलो मात्रा लगाउने ३३ लाख आठ हजार ७३० र दोस्रो मात्रा लगाउने १२ लाख ८१ हजार २४० जना पुगेका छन् । नेपालमा अहिलेसम्म ७ लाख २७ हजार १६९ सङ्क्रमित पुगेका छन् । अहिले सघन उपचारकक्षमा ६३५ र भेन्टिलेटरमा १७२ जना रहेका छन् ।

संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ । संक्रमणबाट हालसम्म ९ हजार ६६१ जनाको निधन भइसकेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार ०९:४७