बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेले लामो र मध्यम दूरीका सवारीसाधन सञ्चालन गर्न सम्बन्धित निकायलाई सूचित गरेको छ।
त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीको आवागमनसमेतलाई दृष्टिगत गरी लामो र मध्यम दूरीका यातायात सञ्चालनका लागि अनुमति दिइएको प्रशासनले जनाएको छ।
प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीहरुको आवागमनसमेतलाई दृष्टिगत गरी जनस्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन नेपाल सरकारको साउन ४ गतेको निर्णय तथा गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको पत्रबाट समेत लेखिआएको हुँदा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न गराउनु हुन सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ।’
नेपालगञ्ज क्षेत्रमा वैशाख ९ र जिल्लाभरी वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी रहेको छ। लामो दूरीका सवारीसाधन सञ्चालन भइरहेका थिएनन्।
स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो गर्दै लगेपछि मध्यम दूरीका सवारीसाधन सञ्चालनमा आइसकेका थिए।
।