सूचनाको शक्ति - The Power Of Information

        

गण्डकीमा एक महिनापछि मन्त्रिमण्डल बिस्तार हुँदै, आजै शपथको तयारी

कास्की । मन्त्रालयको भागबण्डा कारण करिब एक महिनादेखि मन्त्रिमण्डल बिस्तार हुन नसकेको गण्डकी प्रदेश सरकारमा अन्ततः कुरा मिलेको छ । गत जेठ २९ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका थिए । गठबन्धनमा रहेका दलहरूको रोजेको मन्त्रालय पाउन आफ्नो अडान नछाडेपछि एक महिना लामो समयसम्म मन्त्रिमण्डल बिस्तार हुन सकेको थिएन ।

मन्त्रालय बाँडफाँडमा कुरा मिल्ने सम्भावना रहँदा गठबन्धनमा रहेर पनि सरकारमा नजाने बताएको जनमोर्चा बाहेकका अन्य सबै दलका सांसदहरू मन्त्री बन्ने लबिङमा लाग्दा मन्त्री छनोट गर्न नै समस्या भयो । मन्त्रिमण्डल बिस्तार गर्न नसकेर आलोचना खेपिरहेको सरकारले गठबन्धन दलहरूबीचको वार्ता र मन्त्रीको टुङ्गो लगाउन काठमाडौंदेखि केन्द्रीय नेताहरूको शक्ति प्रयोग गरेपछि मन्त्रालय बाँडफाँडको टुङ्गो लगाएको हो ।

पटक–पटक भएका वार्तामा बाँडफाँड नमिलेकै अवस्थामा बिहीबार कांग्रेस र माओवादी केन्द्रबीचमा निर्णायक वार्ता भएको र त्यहीँबाट मन्त्रालय बाँडफाँडको कुरा मिलेको मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार भरत कोइरालाले बताए । उनका अनुसार कांग्रेस र माओवादी दुवैले दाबी गर्दै आएको भौतिक पूर्वाधार विकास मन्त्रालय कांग्रेसले पाउने भएको छ । यस्तै, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय पनि कांग्रेसले पाएको छ ।

माओवादीलाई आर्थिक मामिलासहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय र वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय परेको छ । लामो समयसम्म मन्त्रीमण्डल विस्तार हुन नसक्नुको कारण नै भौतिक मन्त्रालय बनेको थियो । यसरी कांग्रेसले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय र माओवादीले चार मन्त्रालय पाएको छ ।

कांग्रेसका कुमार खड्काले सामाजिक विकास मन्त्रालय, माओवादीकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जसपाका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र स्वतन्त्र सांसद दीपक मनाङे (राजिब गुरुङ)ले युवा तथा खेलकुद मन्त्रालय यस अगाडि नै पाइसकेका छन् । माओवादीले संसदीय दलका उपनेता रामजी बराललाई अर्थ मन्त्रालय दिएर उनैको नेतृत्वमा माओवादी सरकार जाने गरी नामावली समेत टुंगो लगाएको छ ।

बाग्लुङका सांसद चन्द्रबहादुर बुढामगरलाई कृषि मन्त्रालय र स्याङजाका दीपक घर्तीमगरलाई वन मन्त्रालयको जिम्मेवारी दिइने निधो भएको छ । प्रेस सल्लाहकार कोइरालाले कांग्रेसबाट सरकारमा को को जाने भन्ने निधो नभएकाले नामावली टुंगो लगाउन छलफल चलिरहेको र निर्णय भएपछि आजै दिउँसो शपथ ग्रहण कार्यक्रम हुने बताए । यदि कांग्रेसले सरकारमा पठाउने टुंगो लगाउन नसकेन माओवादीको तर्फबाट टुंगो लागेका तीन जनालाई मात्रै भए पनि शपथ खुवाउने तयारी भएको बुझिएको छ ।

कांग्रेसले भौतिक मन्त्रालय पाए यसअघि सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका खड्कालाई भौतिकको जिम्मेवारी दिने कांग्रेस निकट स्रोत बताउँछ । बाँकी रहेका तीन मन्त्रालयमा स्याङ्जाका मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा कँडेल, दोबाटे विश्वकर्मा, कास्कीका विन्दुकुमार थापा र स्याङ्जाकै भागवत प्रकाश मल्लको नाम चर्चामा छ । निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार ढलाएर नयाँ सरकार बनाउने बेलामा जसपालाई दुई मन्त्रालय दिइने भनेर कांग्रेसले सहमति गरेको थियो ।

अहिलेसम्मको तयारीमा जसपा एक मन्त्रालयमै सीमित छ । हरिशरण आचार्यले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय सम्हालिरहेका छन् ।जसपाको अडान भने दुई मन्त्रालय नै पाउनुपर्नेछ । यो विवादको समाधानको जिम्मा भने केन्द्रीय नेताको हातमा छ । केन्द्रले भने अनुसार नै जसपासँगको विवाद समाधान हुने देखिन्छ । तर विवाद समाधानको लागि केन्द्रबाट जसपालाई दुई मन्त्रालय दिने निर्देशन आएमा मन्त्रालय फुटाएर भाग पुर्याउनुपर्ने बाध्यता रहनेछ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार ०८:५१