सूचनाको शक्ति - The Power Of Information

        

सुदूरका १४ सांसदले दिए भीम रावललाई राजीनामा फिर्ता लिन दबाब

धनगढी । नेकपा एमाले सुदूरपश्चिम (माधव समूह)का प्रदेशसभा सदस्यले एमाले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । संघीय सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न उनीहरूले आग्रह गरेका हुन् ।

काठमाडौं पुगेर प्रदेशका १४ जना प्रदेश सांसदले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् । रावलकै निवासमा पुगेर भेटेका उनीहरुले निर्णयमा पुनर्विचार नगरेमा आफूहरुले पनि प्रदेश सांसद पदबाट राजीनामा दिने चेतावनीसमेत दिएको स्रोतले जनाएको छ ।

रावलले उनीहरूको दिएको सुझावलाई ग्रहण गर्दै आवश्यक निर्णय लिने आश्वासन दिएको स्रोतको दाबी छ । पार्टी एकताका लागि गठित कार्यदलको संयोजक र सर्वोच्च अदालतमा हस्ताक्षर गरेकाले नैतिकताका आधारमा सांसद पदबाट राजीनामा दिएको रावलको भनाइ छ ।

रावलले माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेपछि २९ असारमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष सांसद पदबाट राजीनामा दिएका थिए । तर, सभामुखले उनको राजीनामा स्वीकृत गरेका छैनन् । रावललाई पार्टीभित्रबाट समेत राजीनामा फिर्ता लिन दबाब छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १४:२७