सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा इदकाे शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास लिएकी छन्।

मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुसलमानमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवद्र्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने जनाएकी छन्।

उनले भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएकाले विश्वव्यापी महामारी कोभिड–१९ को सङ्क्रमण अझै कायम रहेकाले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्डका साथै निषेधाज्ञाका नियमको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउन आग्रह गरेकी छन्।

राष्ट्रपति भण्डारीले यस पर्वले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गरेकी छन्।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक भएको स्मरण गर्दै ‘इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजाह (बकर–इद)को अवसरमा शुभकामना दिएका छन्।

नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उपराष्ट्रपतिले विभिन्न समुदायका चाडबाड, रीतिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताएका छन्।

उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘भाइचारा र पारिवारिक मिलनका रुपमा मनाइने इस्लाम धर्मवलम्बीको महान् पर्व इद–उल–अजाहले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने मैले विश्वास लिएको छु।’

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर अझै पनि नियन्त्रणमा आइनसकेको र अझै फैलन सक्ने जोखिम रहेकाले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर इद मनाउन उपराष्ट्रपतिले आग्रह गरेका छन्।

यस्तै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन्।

उनले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन्।

कोभिड–१९ को महामारीका कारण हाम्रा सामाजिक र सांस्कृतिक धरोहरका यस्ता पर्वहरू सबैले सँगै बसेर हर्षाेल्लासका साथ मनाउन कठिनाइ भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कोभिड–१९ को प्रभाव नपरोस् भनी स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगताका साथ मनाउन सबैमा अनुरोध गरेका छन्।

प्रधानमन्त्री देउवाले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग गरोस् भन्ने कामना गरेका छन्।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ०९:३०