काठमाडौं । देशको जलविद्युत् विकासमा निजी क्षेत्रको भूमिका अतुलनीय छ । केन्द्रीय प्रणालीमा जडितमध्ये करिब आधा विद्युत् निजी क्षेत्रकै योगदान हो । सरकारले विद्युत् विकासमा निजी क्षेत्रलाई प्रवेश गराएको २५ वर्षमा हासिल भएको यो उपलब्धि प्रशंसनीय मान्न सकिन्छ ।
जलविद्युत्मा सशक्त एवं संगठितरूपमा अघि बढेको कम्पनी हो, सानिमा हाइड्रो पावर । यो कम्पनीले अहिलेसम्म केन्द्रीय प्रणालीमा साढे ३१ मेगावाट जोडिसकेको छ । नेपाल विद्युत् प्राधिकरणको चिलिमे कम्पनीपछि ‘सानिमा’लाई सफल र जिम्मेवार कम्पनी मान्ने गरिएको छ । विद्युत् उत्पादनमा हाम फालेको निजी क्षेत्रका लागि पनि सानिमा एउटा सफल उदाहरण हो ।
जलविद्युतको ज्ञान सिक्ने, सिकाउने र कर्म गर्ने पाठशाला पनि भएको छ, सानिमा । अध्ययन वा कामको सिलसिलामा विश्वका विभिन्न मुलुकमा छरिएका नेपाली (गैरआवासीय नेपाली) को पहलमा कम्पनी स्थापना भयो । अर्थात, २०५५ साल चैतमा ‘सानिमा हाइड्रो पावर कम्पनी’ जन्मेको हो । स्थापनाको करिब दुई दशकमा कम्पनीले ३ जलविद्युत् आयोजना निर्माण गरिसकेको छ ।
साढे २ मेगावाटको सुनकोसी, २२ मेगावाटको माई र ७ मेगावाटको माई–क्यासकेड कम्पनीले निर्माण गरेका आयोजना हुन् । उक्त परिमाणको विद्युत्ले केन्द्रीय प्रणालीलाई दरिलो बनाउन सहयोग पुर्याएको छ । सुनकोसी (२.६ मेगावाट) सिन्धुपाल्चोकको धुस्कुनमा सञ्चालित २.६ मेगावाटको ‘सुनकोसी स्मल’ कम्पनीले निर्माण गरेको पहिलो आयोजना हो । यसलाई गैरआवासीय नेपालीले लगानी गरेको आयोजनाको रूपमा पनि लिने गरिन्छ ।
२०५५ सालमा अनुमतिपत्र लिएर आयोजना अघि बढाइएको थियो । २०६० सालमा निर्माण सुरु भएको आयोजना २ वर्षमा पूरा भयो । र, उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो । उत्पादन थालेको १२ वर्षपछि २०७१ सालमा जुरेमा पहिरो आयो । त्यसको एक वर्षमै अर्थात् २०७२ बैशाख १२ गते विनाशकारी भूकम्प गयो । उक्त दुई प्राकृतिक दुर्घटनाले आयोजना पूर्ण क्षतिग्रस्त भयो ।
विद्युत्गृह दुई पटक पुनर्निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । अहिले विद्युत्गहमा कुनै समस्या छैन । र, निरन्तर सञ्चालन भइरहेको छ । यहाँबाट वार्षिक ५ करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जानकारी दिएको छ । सानिमा माई (२९ मेगावाट) सुनकोसी निर्माणपछि कम्पनीले थप जिम्मेवारी बोध गर्यो । र, २९ मेगावाटका दुई आयोजनाको अनुमतिपत्र लिएर अध्ययन तथा निर्माण अघि बढायो ।
योसँगै उसको लगानीको दायरा पनि फराकिलो गयो । कम्पनीले ईलामको माई खोलामा २२ मेगावाटको माई र ७ मेगावाटको माई–क्यासकेड अघि बढायो । यी दुई आयोजना निर्माण गर्न छुट्टै ‘सानिमा माई हाइड्रो पावर कम्पनी’ स्थापना गरियो । यो सानिमाको सहायक कम्पनी हो । माईले २०७१ साल फागुन १४ गते र माई–क्यासकेडले २०७२ माघ २९ गतेबाट व्यापारिक उत्पादन सुरु गरेका हुन् । यी आयोजनाबाट अहिले निरन्तर विद्युत् उत्पादन भइरहेको छ ।
सानिमा माईले ‘माई’ बाट वार्षिक ६२ करोड र माई–क्यासकेडबाट १८ करोड रुपैयाँ आम्दानी गरिरहेको छ । विद्युत् उत्पादन सुरु गरेको २ वर्षमै ‘सानिमा माई’ नाफामा गइसकेको छ । कम्पनीले लगानीको दायरा थप फराकिलो बनाउँदै गएको छ । ताप्लेजुङको तमोर नदीमा २८५ मेगावाटको माथिल्लो तमोर र ७३ मेगावाटको मध्यतमोरमा क्रमशः ८० प्रतिशत सेयर र ४८ करोड रुपैयाँ लगानी गर्दैछ ।
यसले कम्पनीको आर्थिक क्षमता सबल बन्दै गएको देखिन्छ । यस्तै, रामेछापको लिखु खोलामा चालू वर्षदेखि निर्माण हुने २८.१ मेगावाटको तल्लो लिखुमा ४५ करोड लगानी गर्दैछ । उता रसुवामा निर्माण हुने १४.३ मेगावाटको माथिल्लो मैलुङमा पनि कम्पनीको १५ करोड रुपैयाँ लगानी हुनेछ ।
तमोर सानिमा इनर्जी
‘तमोर सानिमा’ सानिमा हाइड्रोको दोस्रो कम्पनी हो । २८५ मेगावाटको माथिल्लो तमोर निर्माण गर्न कम्पनी स्थापना गरिएको हो । विद्युत् विकास विभागले छिट्टै आयोजनाको उत्पादन अनुमतिपत्र जारी गर्दैछ । यस्तै, प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने अन्तिम तयारी हुँदैछ । सम्भाव्यता अध्ययन तथा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) समेत तयार भएको आयोजनाको काम आगामी आर्थिक वर्षदेखि सुरु गर्ने योजना छ ।
सानिमा मिडल तमोर हाइड्रो पावर
तमोर नदीमै सानिमाले ७३ मेगावाटको अर्को आयोजना निर्माण गर्दैछ । यो २८५ मेगावाटको माथिल्लो तमोरको क्यासकेड हो । आयोजना निर्माण गर्न ‘सानिमा मिडल तमोर हाइड्रो पावर लिमिटेड’ स्थापना गरिएको छ । मिडल तमोरको चालू वर्षभित्रै निर्माण सुरु हुँदैछ । प्राधिकरणसँग पिपिए भइसकेको आयोजनाको पहुँचमार्ग, आवासगृह लगायत निर्माणपूर्वको तयारी पूरा भएको छ । अहिले ठेकेदार छनोट प्रक्रिया भइरहेको छ । २०७८ साल भदौबाट उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाबाट वार्षिक ४३०.५२ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । यसबाट वार्षिक २ अर्ब ३० करोड रुपैयाँ आम्दानी हुने अनुमान छ ।
स्वेतगंगा हाइड्रो पावर कम्पनी
रामेछापस्थित २८.१ मेगावाटको तल्लो लिखु निर्माण गर्न स्वेतगंगा हाइड्रो पावर कम्पनी स्थापना गरिएको हो । यो आयोजना पनि चालू वर्षभित्रै निर्माणमा जाँदैछ । २०७८ मंसिरबाट उत्पादन सुरु गर्ने लक्ष्य राखिएको आयोजनाबाट वार्षिक १७०.८५ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । यस्तै, वार्षिक ९२ करोड रुपैयाँ आम्दानी हुने जनाइएको छ ।
माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनी
रसुवामा १४.३ मेगावाटको आयोजना निर्माण गर्न ‘माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनी’ स्थापना गरिएको छ । आयोजना निर्माण गर्न ठेकेदार छनोट प्रक्रिया अन्तिम चरणमा छ । २०७७ साल असारमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाबाट ७९.६६ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । र, वार्षिक ४२ करोड रुपैयाँ आम्दानी गर्नेछ ।
अध्ययन भइरहेका आयोजना
सानिमा हाइड्रोले अहिले ६९.५ मेगावाटका २ आयोजना अध्ययन गरिरहेको छ । दोलखाको जुमखोला र मैलुङ खोलामा क्रमशः ६२ मेगावाटको जुमखोला तथा ७.५ मेगावाटको माथिल्लो मैलुङको अध्ययन भइरहेको छ ।
सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ कम्पनी
यो सानिमा हाइड्रोअन्तर्गतको परामर्शदाता कम्पनी हो । २०६२ साल वैशाख २२ गते स्थापना भएको कम्पनीले १२ किलोवाटदेखि ४१५ मेगावाटका आयोजनामा परामर्शदाताको काम गरेको छ । मुख्य कम्पनी (सानिमा हाइड्रो) अन्तर्गतका सबै आयोजनाको अध्ययन यही कम्पनीले गरेको छ । स्थापनाको १२ वर्षमा देशमा मात्र नभई विदेशमा पनि परामर्शदाताको काम गर्दै आएको छ ।
अहिलेसम्म पाकिस्तान, अफगानिस्तान, केन्या, लाओस, बेलायतका २० भन्दाबढी जलविद्युत् आयोजनाको अध्ययन, नक्साङ्कन, निरीक्षण गरिसकेको छ । उत्कृष्ट सेवा दिएकै कारण २०६९ सालमा यो कम्पनीलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ ९००१ः २००८ प्रदान गरिएको थियो । यसले बेलायतस्थित हाइड्रो प्लान कम्पनीसँग पनि सहकार्य गरेर काम गर्दै आएको छ ।
सानिमा माईमा गाभिँदै
विभिन्न संघ संस्थामा मुख्य कम्पनीमा सहायक कम्पनी गाभ्ने वा मर्ज हुने चलन छ । तर, सानिमाको हकमा भने विपरित काम हुँदैछ । माउ कम्पनी ‘सानिमा हाइड्रो’ सहायक सानिमा माईमा गाभिने भएको छ । कम्पनीको पुँजी वृद्धि गरी नयाँ आयोजनामा लगानी गर्ने उद्देश्यले मुख्य कम्पनी सहायकमा मिसाउन लागिएको छ । सहायक कम्पनी आर्थिकरूपमा सबल हुँदै गएकाले पनि मुख्य कम्पनी यसैमा गाभ्न लागिएको हो ।
२२ मेगावाटको माई र ७ मेगावाटको माई–क्यासकेड निर्माण गरेको ‘सानिमा माई’ ले थप लगानी विस्तार गर्दैछ । लगानीकर्ताकै सुझावमा यसो गर्न लागिएको जनाइएको छ । गाभिएपछि नयाँ कम्पनीको नाम ‘सानिमा हाइड्रो’ रहनेछ । मुख्य र सहायक कम्पनी गाभिँदा सानिमा हाइड्रोको आर्थिक आकार ठूलो हुनेछ । योसँगै ६२ मेगावाटको जुमखोला ७.५ मेगावाटको माथिल्लो मैलुङ ‘बि’ मा लगानी गर्न सहज हुने अपेक्षा गरिएको छ ।
माथिल्लो तमोरमा सानिमा माईको ८० प्रतिशत सेयर स्वामित्व रहेकाले व्यावसायिक क्षमता विस्तार हुने दाबी गरिएको छ । लगानीको दायरा पनि फराकिलो हुँदै गएकाले ‘सानिमा माई’ जलविद्युत् उत्पादन गर्ने निजी क्षेत्रको ठूलो कम्पनी हुनेछ । र, खुद्रे कम्पनी खोलेर छरिएको लगानी पनि एकत्रित गर्न मद्दत पुग्ने देखिन्छ ।
।