सूचनाको शक्ति - The Power Of Information

        

लथालिङ्ग विकास

निर्माण समयावधि सकिँदा पनि राष्ट्रिय गौरवका आयोजना अधुरै

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्माण आर्थिक वर्ष २०७७/०७८ भित्रै सम्पन्न गर्नुपर्ने थियो । तर, समय अवधि सकिँदासम्म ७० प्रतिशतमात्र काम मात्रै भएको छ ।

काठमाडौं । सरकारले पहिलोपटक २०६८/०६९ सालमा १७ वटा आयोजनाहरूलाई राष्ट्रिय गौरवको सूचीमा समावेश गर्यो । दोस्रोपटक आर्थिक वर्ष २०७०/०७१ मा चारवटा, तेस्रो पटक आर्थिक वर्ष २०७५/०७६ मा एउटा, आर्थिक वर्ष २०७६/०७७ मा एक र आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमार्फत ‘महाकाली सिँचाइ आयोजनालाई गौरवको आयोजनाको रुपमा विकास गरिनेछ’ भनेसँगै हाल राष्ट्रिय गौरवका आयोजना सङ्ख्या २४ पुर्याइएको छ ।

यी आयोजना ल्याउनुमा सरकारको उद्देश्य थियो, ‘समृद्ध नेपालको आधारशिला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, पूर्वाधार विकासमार्फत सघन अन्तर आबद्धता बढाउने, पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने ।’ तर, मुलुकको विकास निर्माणमा रणनीतिक महत्व बोकेका यी आयोजना पटक–पटक निर्माण अवधि थपिँदा पनि सम्पन्न हुन सकेको छैन ।

आर्थिक वर्ष २०६१/०६२ सालबाट निर्माण शुरू गरिएको गौरवको सिक्टा सिँचाइ आयोजना निर्माण आर्थिक वर्ष २०७७/०७८ भित्रै सम्पन्न गर्नुपर्ने थियो । तर, समय अवधि सकिँदासम्म काम सम्पन्न हुन सकेको छैन । सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी रामप्रसाद अर्याल हाल ७० प्रतिशतमात्र काम सकिएको बताउँछन् । उनका अनुसार जम्मा ५३ किलोमिटर नहर बनाउने योजनामध्ये ४२ किलोमिटर साना नहर निर्माण गर्न बाँकी छ भने २० किलोमिटर ठूला नहर बनाउन बाँकी छ ।

अर्यालले भने, ‘धेरै ठूला नहर बनाउने काम सकिएको छ, बाँकी काम पनि भैरहेको छ ।’ उनका अनुसार पश्चिमतिरको मूल नहर बनाउने काम सकिएको छ भने अहिले पूर्वी क्षेत्र तिरको नहर बनाउने काम भइरहेको छ । त्यस क्षेत्रमा ३० प्रतिशत काम सकिएको उनले जानकारी दिए । आगामी पुस महिनाभित्र सबै आयोजनाको काम सकेर नहरमा पानी हाल्ने योजना रहेको उनले बताए । ‘समयमा काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ ले अवरोध गर्यो, निर्माण सामग्री ल्याउन सकिएन, त्यसैले समयमा काम सम्पन्न हुन सकेन,’ उनले भने ।

उनका अनुसार २५ अर्ब दुई करोड रुपैयाँ लागत रहेको यो आयोजनाको ठेक्का कालिका र कुमार कन्स्ट्रक्सनले पाएर काम गरिरहेको छ । यो आयोजना बाँके जिल्लामा पर्छ । जिल्लाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सोही जिल्लाका साविक ४३ वटा गाविस (स्थानीय तह) र नेपालगन्ज उपमहानगरपालिका अन्तरगतको ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ गर्न पानी उपलब्ध गराउने उद्देश्य छ ।

यस आयोजनाको निर्माणाधीन पश्चिम मूल नहरबाट बाँके जिल्लास्थित राप्ती नदीको पश्चिम भेगका ३३ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य राखिएको छ भने प्रस्तावित पूर्वी मूल नहरबा राप्ती नदीको पूर्वी भेगका करिब ९ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य सरकारको छ । राष्ट्रिय गौरव आयोजनामध्ये अर्को आयोजना हो–गौतम गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल । यो आयोजना २०७२/०७३ मा शुरू भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मै यो आयोजना सम्पन्न गर्नुपर्ने गरी चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनसँग ठेक्का सम्झौता भएको थियो ।

यो आयोजना तयार भएर कहिले त २०७६ को वैशाख त कहिले माघ महिनामा विमान उडान हुने भनियो । यस्ता समाचार धेरैपटक सञ्चार माध्यमहरूमा प्रकाशित भए । तर, पटक–पटक थपिएको म्याद सकिएपनि हालसम्म विमानस्थल तयार भएको छैन । आयोजनाका अधिकारीहरूले अहिलेसम्म ९७ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका छन् । विमानस्थल निर्माण लागत ३० अर्ब ९१ करोड रुपैयाँ छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल माघ १ गते विमानस्थल शिलान्यास गरेका थिए ।

यी हुन सूचीकृत २४ आयोजनाहरू

सरकारले सिक्टा सिँचाइ, बबई सिँचाइ, रानीजमरा कुलरिया सिँचाइ, सुनकोशी मरिण डाइभर्सन, महाकाली सिँचाइ, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई गौरवको आयोजनामा समावेश गरेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, बुढीगण्डकी जलविद्युत् आयोजना, विद्युत् प्रसारण आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, रेल्वे तथा मेट्रो विकास आयोजना, हुलाकी लोकमार्ग, पुष्पलाल (मध्य–पहाडी) लोकमार्ग पनि राष्ट्रिय गौरवका आयोजना हुन् ।

उत्तर दक्षिण (कोशी करिडोर) लोकमार्ग, उत्तर दक्षिण (कालीगण्डकी करिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली करिडोर) लोकमार्ग, काठमाण्डौ–तराई मधेस द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोष, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई पनि गौरवको आयोजनामा समावेश गरिएको छ । यी आयोजनाको अधिकांश म्याद थपेर २०७८ देखि ९४ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, हाल यी अधिकांश आयोजनाहरूको निर्माण प्रगति पनि निराशाजनक छ । ठेकेदार र सरकारी आलटालकै कारण कामले प्रगति लिन सकेको छैन ।

यी योजना सकियो

२०७७/०७८ मा सम्पन्न गर्नुपर्ने भनिएको गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण भने सकिएको छ । आयोजनाको क्षमता ४५६ मेगावाट हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २१ गते बालुवाटारमा आयोजित समारोहमा भर्चुअल माध्यमबाट आयोजना उद्घाटन गरेका थिए । त्यस्तै, गौरवकै भनिएको अर्को मेलम्ची खानेपानी आयोजना पनि निर्माण शुरू भएको दुई दुई दशकपछि सकिएको छ ।

निवर्तमान प्रधानमन्त्री ओलीले गत फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलको प्रशोधन केन्द्रमा मेलम्ची पानी खसालेका थिए । पानी भने चैत १५ गतेबाट उपत्यकामा वितरण गरिएको थियो । पहिलो चरणमा दैनिक चार करोड लिटर पानी ल्याएर वितरण गरिएको थियो । पछि दैनिक १७ करोड लिटर पानी वितरण गरिएको थियो । तर, गत असारमा मेलम्ची र इन्द्रावती नदीमा चलेको ठूलो बाढीले आयोजनामा क्षति पुगेकाले हाल उपत्यकामा पानी आएको छैन ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार ०९:५१