सूचनाको शक्ति - The Power Of Information

        

विशेष प्रसङ्ग

भारतको ‘खोप कूटनीति’, कसरी अगाडि बढ्ला नेपाल–भारतसँगको सम्बन्ध ?

काठमाडौं । विश्वनै आक्रान्त बनेको कोरोना भाइरसबाट नेपाल पनि नराम्रोसँग प्रभावित हुँदा नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुस्त छ । र विश्वमै सबैभन्दा धेरै खोप उत्पादन गर्ने भारत हाम्रो दक्षिणी छिमेकी हो भने अथाह सामाथ्र्य भएको उत्तरी छिमेकी चीन छ । यी दुई ठूलो अर्थतन्त्र भएका मुलुकको बीचमा रहेको नेपालको खोप अभियान सुस्त हुनुमा यी दुबै छिमेकीसँगको नेपालको कूटनीतिक सम्बन्ध पनि एक कारण हो ।

हालसम्म भारतले नेपाललाई १० लाख डोज अनुदान र १० लाख डोज किनेको खोप उपलब्ध गराएको छ भने चीनले १८ लाख डोज अनुदान दिइसकेको छ, १६ लाख डोज अनुदान दिने घोषणा गरेको छ । किनको ४० लाख मध्ये १० लाख डोज आइसकेको छ । कोरोना महामारीबाट बच्ने एकमात्र उपाए खोप देखिरहेका बेला नेपालमा सरकार परिवर्तनपछि दुबै छिमेकीले बधाई दिँदा खोपलाई महत्व दिएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि बधाइ दिन निवासमै पुगेकी चिनियाँ राजदूत होउ यान्कीले चीनले थप १६ लाख डोज खोप अनुदान दिने घोषणा गरिन् । सोमबार प्रधानमन्त्री देउवालाई फोन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिटै खोप उपलब्ध गराउने बाचा गरेको स्वयम प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

भारतसँग उतारचढावपूर्ण सम्बन्ध रहे पनि ओली सरकारले भारतबाटै खोप ल्याउने रणनीति अनुसार भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग खरिद सम्झौता गरेको थियो । र सो सम्झौता अनुसार पहिलो खेप १० लाख डोज डेलिभरी पनि भयो । तर, त्यसपछि भने सम्झौता अनुसारको बाँकी खोप उसले उपलब्ध गराएन । नेपाल सरकारले ताकेता गर्दा पनि सिरमले खोप उपलब्ध गराएन ।

ओली सरकारका पालामा नेपाल र भारतबीचको सम्बन्ध उतारचढावपूर्ण रह्यो । त्सो त २०७२ मा नेपालले नयाँ संविधान जारी गरेपछि शुरु भएको उतारचढावपूर्ण सम्बन्ध नेपालले नयाँ नक्सा जारी गरेपछि झन खराब अवस्थामा पुगेको थियो । लामो समय दुई मुलुकबीच कूटनीतिक तहमासमेत वार्ता भएन । तर, गत वर्षदेखि नेपाल र भारतबीच सम्बन्ध सुधारको प्रयास दुबैतर्फबाट भए ।

यसबीचमा नेपालका तत्कालिन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमण भयो भने, भारतीय प्रधानमन्त्रीका दूत रअ प्रमुख सामन्त गोयल, विदेश सचिव र थलसेना प्रमुखको नेपाल भ्रमण भयो । भाजपाका विदेश विभाग प्रमुखले पनि नेपालको भ्रमण गरे । नक्सा प्रकरणपछि लिक बाहिर गएको सम्बन्ध सुधारको प्रयास भइरहेका बेला भारतले नेपाललाई किनेको खोप पनि नदिनुलाई राम्रो मान्न नसकिने भारतका लागि पूर्वराज दूत दीपकुमार उपाध्याय बताउँछन् ।

उनले भने, ‘सरकारहरु परिवर्तन भइरहन्छन् । सरकार परिवर्तनले प्रभाव पार्नुपर्ने नेपाल–भारत सम्बन्ध होइन । यो पिपुल टू पिपुल सम्बन्ध भएका छिमेकी मुलुक हुन् । तर खोपजस्तो मानवीय विषयमा उसले सहयोग गर्न चाहेन ।’ भारतले नेपाललाई प्राथामिकतामै नराखेको उनको टिप्पणी छ । देउवा प्रधानमन्त्री बनेपछि भएको दुई देशका प्रधानमन्त्रीबीचको फोन वार्तामा खोपको विषयले प्रवेश पाएको छ । नेपालमा भारतीय कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलगायतले समयमै दोस्रो डोजको खोप लगाउन पाएन छैनन् ।

भारतले नेपाललाई शुरुमा १० लाख डोज कोभिशिल्ड अनुदानमा दियो भने किनेको बाँकी १० लाख डोज आएको थियो । तर, त्यसपछि भारतले खोप सप्लाई नगर्दा एक डोजमै समय गुर्जानुपरेको थियो । सोमबार देउवासँगको वार्तामा मोदीले खोप सप्लाई छिटै गरिने त बताएका छन् तर मिति भने तोकिएको छैन । ओली सरकारका पालामा भारतसँग रहेको उतारचढावपूर्ण सम्बन्धलाई लिकमा ल्याउने देउवा सरकारको मूख्य लक्ष्य हुनेछ । प्रधानमन्त्री देउवाले आइतबार संसदलाई सम्बोधन गर्दै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्नु आफ्नो प्राथामिकता हुने बताएका थिए ।

उनले भनेका थिए, ‘छिमेकी बदल्न सकिँदैन । दुबै छिमेकीसँग राम्रो सम्बन्ध कायम गर्नु पहिलो प्राथामिकता हो । सम्बन्ध राम्रो बनाउनुपर्छ । तर, हाम्रो राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्छ ।’ देउवाले संसदमा सम्बोधनका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा पनि कोट्याएका थिए । उनले लिम्पियाधुराका विषयमा आफूलाई धेरै जानकारी रहेको भन्दै यी विषय पनि नेपालको हितमा उठाइने बताएका थिए । देउवाले संसदमा भने जस्तो भारतसँगको सम्बन्धलाई लिकमा ल्याउन नेपालले कस्तो पलह गर्छ त्यो भने हेर्न बाँकी छ ।

पूर्वराज दूत उपाध्याय भन्छन्, ‘नेपाल भारतको प्राथमिकतामै छैन । तर हामीले हाम्रो छिमेक नीतिलाई स्पष्ट पार्नुपर्छ । उनीहरु (भारत)ले सोध्नछन् के चाहियो भनेर, हामीले स्पष्ट हाम्रा कुरा राख्न सक्नुपर्छ । जहाँ जहाँ समस्या छन् ती विषय उठाउन सक्नुपर्छ ।’ देउवा प्रधानमन्त्री बनेपछि भारतीय नागरिक समाज उत्साहित छ । भारतीय सञ्चार माध्यमहरुले सम्पादकीय नै लेखेर ओलीलाई भारतको समर्थन रहेको तर देउवा भारतको मित्र रहेको भन्दै कोर्स करेक्सनका लागि सुझाव दिएका छन् । र तथस्ट हुनुपर्ने सुझाव दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले पनि देउवालाई बधाई दिनेक्रममा विभिन्न क्षेत्रमा आपसरी सहयोग बढाउन मिलेर काम गर्ने बताएका छन् । भारतीय विदेश मन्त्रालयले नेपाल र भारतका प्रधानमन्त्रीबीच विभिन्न आपसरी सहयोगका क्षेत्रमा मलेर अगाडि बढ्ने सहमति भएको उल्लेख गरेको छ । खास गरेर कोरोनाविरुद्धको लडाइँमा मिलेर अगाडि बढ्ने दुई प्रधानमन्त्रीबीच कुरा भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतसँगको सीमा समस्या अहिले दुईदेशबीचको सम्बन्धमा चिसोपना ल्याउने एक मुख्य विषय हो । तर, यही विषयमा दुईदेशबीच लामो समयदेखि वार्ता भएको छैन ।

देउवा सरकारले यो विषयलाई अगाडि बढाउनपर्ने दायित्व छ । केही दिन अगाडि एक भारतीय सञ्चार माध्यमसँगको डिबेटमा काँग्रेस नेता डा मिनेन्द्र रिजालले सीमा समस्याका विषयमा दुई मुलुकबीच वार्ता हुनुपर्ने र वार्ताबाटै समस्या समाधान हुनुपर्ने बताएका थिए । उनले कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा नेपाले बलियो प्रमाण जुटाएको भन्दै वार्ताका टेबुलमा प्रमाणहरु पनि पेश गरिने बताएका थिए । उता सोही डिबेटमा रहेका नेपालका लागि पूर्व राजदूत रणजित रोयले भने यो विषयमा स्पष्ट बोलनन् । तर वार्ता गर्नुपर्नेमा भने उनको पनि जोड थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १७:५४