सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

एमालेको आन्तरिक विवाद सङ्कटपूर्ण, पार्टी विभाजनको सँघारमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आन्तरिक विवाद थप सङ्कटपूर्ण अवस्थामा पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार विश्वासको मत लिएसँगै एमालेभित्र नयाँ विवाद सिर्जना भएको छ । नेकपा (एमाले)ले सरकारलाई विश्वासको मत नदिने निर्णय गरे पनि नेपाल पक्षीय सांसदहरूले सरकारको समर्थनमा मतदान गरेपछि पार्टी विभाजनको सँघारमा पुगेको छ ।

आइतबार बसेको एमाले स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले संस्थागत निर्णयबाहिर गएर सरकारको पक्षमा मतदान गर्नुहुने सांसदहरू पार्टीमा नरहने स्पष्ट पारे । उनले संसद्को पहिलो दिन राष्ट्रपतिबाट पत्र पढेर सुनाउने र औपचारिकता मात्र पूरा गर्ने विगतको परम्परा भए पनि अचानक विश्वासको मत लिने निर्णयबाट एमाले विभाजन गराउने नियत तथा अघोषित ‘तालमेल’ छ भन्ने प्रस्ट भएको बताए ।

विभाजनको सँघारमा रहेको एमालेको एकता जोगाउन विघटित कार्यदल सदस्यहरूले प्रयास जारी नै राखेका छन् । सोही क्रममा कोटेश्वरस्थित निवासमा पुगेर कार्यदलका नौ जना सदस्यले नेता माधवकुमार नेपालसँग आइतबार बिहान भेट गरेका थिए । त्यस भेटमा कार्यदल सदस्यहरूले एमाले पार्टीको एकताबिना मुलुकको लोकतन्त्र सुदृढ हुन नसक्ने भएकाले १० बुँदे सहमतिबाट अगाडि बढ्नुपर्ने आग्रह गरेका थिए ।

कार्यदलले पार्टीको संस्थागत निर्णयबाट अगाडि बढ्नुपर्नेमा जोड दिएको थियो । सो भेटमा नेता नेपालले आफू अल्पमत रहेको कमिटीमा गएर त्यसको निर्णय मानेर जान नसकिने स्पष्ट पारेका थिए । नेता नेपालले आफू एक्लै भए पनि सरकारको समर्थनमा मतदान गर्ने बताएका थिए । नेता नेपालसँगको भेटबारे प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने, ‘हामीले कार्यदलको तर्फबाट कुरा राख्यौँ । उहाँको कुरा सुन्दा बेग्लै कोर्सबाट हिँड्न चाहनुभएको प्रस्ट देखियो ।’

रावलको राजीनामा नेकपा (एमाले) उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् । नेता माधवकुमार नेपाल पक्षीय सांसदहरूबीच नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने विषयमा विवाद भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै नेता रावलले सो घोषणा गरेका थिए ।

उनले सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा बुझाएका थिए । देश र जनतालाई सर्वोपरि ठानी आफूले अनैतिक राजनीति गर्नुभन्दा त्यसबाट अलग हुने निर्णय गरेको नेता रावलले बताए । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित नेता रावल एमाले कार्यदलको नेपाल पक्षबाट संयोजक पनि थिए । उनले राजीनामा पत्रमा लेखेका छन्, ‘प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार देखिएको छ ।’

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १०:०७