जाजरकोट । राष्ट्रिय गौरवको आयोजनाको रूपमा परिचित मध्यपहाडी पुष्पलाल लोकमार्गको पश्चिम खण्ड अन्तर्गतको जाजरकोटमा कालोपत्रे गर्ने काम सुरु गरिएको छ । पहिलो चरणमा कुदुदेखि कार्कीगाउँसम्मको ३५ किलोमिटर सडक कालोपत्रे गर्न थालिएको हो । पूर्वपश्चिम मध्यपहाडी लोकमार्गको कुल लम्बाई एक हजार ७७६ किलोमिटरमध्ये जाजरकोटमा ८२ किलोमिटर सडक पर्दछ ।
पहिलो चरणमा कुदुदेखि कार्कीगाउँसम्म ३५ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम भइरहेको छ । दुई वर्षअघि शर्मासिंह एण्ड ब्रोदर्श कम्पनीले करिब एक अर्ब रुपैयाँको लागतमा कुदु–कार्कीगाउँ सडकखण्डमा स्तरोन्नति र कालोपत्रे गर्न मध्यपहाडी आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको दुई वर्ष छ महिनाको अवधिमा ८० प्रतिशत काम सम्पन्न भएको दावी निर्माण कम्पनीले गरेको छ ।
कम्पनीका प्रमुख विश्वास उप्रेतीले सम्झौत अवधि पहिले नै काम सक्नेगरी सडक निर्माणको काम गरे पनि अघिल्लो आर्थिक वर्ष र यो वर्षको लकडाउनले समस्या सिर्जना गरेको बताए । उनले कोरोनाको प्रभावले लक्ष्यमा जटिलता आएको उल्लेख गरे । हाल मध्यपहाडी आयोजनाको योजना कार्यालय दैलेखको प्रत्यक्ष निगरानीमा सडक निर्माणको काम भइरहेको छ । यो आयोजना रुकुम पश्चिमदेखि दैलेखसम्मको काम योजना कार्यालय दैलेखले हेर्ने गरेको छ ।
आयोजनाका इन्जिनियर रविन कार्कीले कामको गुणस्तरीयता कायम गर्न आवश्यक प्राविधिक सल्लाहमा कालोपत्रे गर्ने काम भइरहेको बताए । स्थलगत अनुगमन र निरीक्षणका साथ काम भइरहेको उनको भनाइ छ । प्रतिकूल मौसम र जिल्लामा निषेधाज्ञाको समयमा पनि सडक निर्माणको काममा ६०० मजदुरले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।
।