नेपालगन्जका श्रीजंग शाह थापाथलीस्थित प्रधानमन्त्री गेस्ट हाउस पुगे । प्रधानमन्त्री बिपी कोइराला निवासमा थिएनन् । सहयोगीले पर्खन भने । भारतको कोलकाता विश्वविद्यालयबाट राजनीतिशास्त्र र डिप्लोमेसी पढेका शाह बेरोजगार थिए । यही मेसोमा तत्कालीन मन्त्री त्रिवेणीप्रसाद प्रधानले उनलाई बिपीसँग भेट्ने तारतम्य मिलाइदिएका थिए । अलि बेरमा बिपी आए ।
शाहलाई आफ्नो शयनकक्षमा डाके । जाडो याम थियो । बिपी सिरकभित्र गुट्मुटिएका थिए । टाउको मात्र देखाएर बसेका बिपीले सोधे, ‘कहाँ बस्नुहुन्छ ?’ ‘नेपालगन्ज,’ शाहले छोटो जवाफ दिए । ‘तपाईंजस्तो पढेलेखेको मान्छे बाहिर बसेर हुँदैन,’ बिपीले सुझाए । यो २०१६ सालको कुरा हो । लगत्तै शाह काठमाडौं आए । राजधानीको कान्तिपथमा जग्गा किने । २०२३ सालमा घर बनाए ।
यो घर र जग्गाको सरकारी मूल्यांकन नै यतिबेला एक अर्ब रुपैयाँ हाराहारी छ । शाह आफ्नी श्रीमती रुद्रकुमारीसँग यही घरमा बस्छन् । बिपीको सल्लाहमा जोडेको र वर्षौं वर्ष बिताएको यही घरजग्गा शाह दम्पतीले २०७४ फागुन ३ गते नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई दान गरिदिएका छन् । यो दान सहज थिएन । शाहले ‘हकदाबी’ गर्ने एक मात्र छोरीसँग मुद्दा लड्नुपर्यो । सुरुमा त उनले छोरीसँग सल्लाह गरेकै थिए ।
वर्ष दिनअघि छोरी ईश्वरी राणा र ज्वाइँ रुक्मशमशेरलाई घर बोलाएर कुराकानी गरे । आफ्नो पिताले नेपालगन्जको सम्पूर्ण जायजेथा अस्पताललाई दान दिएको सम्झाए । आफूले पनि कान्तिपथको तीन रोपनी जग्गा फत्तेबाल आँखा अस्पताललाई दान गर्ने सोच बनाएको सुनाए । छोरी ईश्वरीले शेषपछि मात्र दान दिन सुझाइन् । ज्वाइँले केही भनेनन् । ‘दानपत्र हामीलाई देखाउनुहोला,’ ईश्वरीले यत्ति भनिन् ।
शाहले दानबारे श्रीमती रुद्रकुमारीसँग कुरा गरिसकेका थिए । परिवार र एक मात्र हकवाला छोरीसँगको सल्लाहबाट उनी उत्साहित भए । बुबा फत्तेजंगको नाममा स्थापित अस्पताललाई सहयोग गर्नमा ढिलाइ गर्न चाहेनन् । काठमाडौं महानगरपालिका–१ का वडाध्यक्षलाई घरमै डाके । बकसपत्र तयार गरे । फत्तेबाल अस्पतालसँगको बकसपत्रमा लेखियो, ‘श्रीजंग शाहको कान्तिपथमा रहेको ३ रोपनी ३ आना २ पैसा २ दाम जग्गा र सो जग्गामा रहेको घर फत्तेबाल आँखा अस्पतालाई दान दिने । अस्पतालले घरजग्गा आयआर्जनबाहेक अन्य कार्यमा प्रयोग गर्न वा हक हस्तान्तरण गर्न नपाउने ।’
शाहले बकसपत्रमा हस्ताक्षर गरे । श्रीमती साक्षी बनिन् । जग्गा बकसपत्र गरिदिएपछि आँखा अस्पतालले सम्मान कार्यक्रम राख्यो । तर, शाह बिरामी परे । नेपालगन्ज जान सकेनन् । केही महिनापछि शाहले अस्पताल कर्मचारीलाई काठमाडौं डाके । अस्पताल कर्मचारी जग्गा दर्ता गर्न काठमाडौं आए । २०७४ असोज ३० गते डिल्लीबजार मालपोतमा जग्गा नामसारीका लागि दर्ता शुल्क तिरे । प्रक्रिया अघि बढ्यो । लालपुर्जा बनाउनुअघि जग्गा रोक्का भएको भन्दै मालपोत कार्यालयले प्रक्रिया रोक्यो । शाह छक्क परे ।
मालपोत कार्यालय प्रमुख पद्मनिधि सोतीले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् जग्गा रोक्का भएको जवाफ दिए । शाह हुर्रिएर प्रशासन कार्यालय पुगे । दुई दिनसम्म जग्गा कसले रोक्का राखेको पत्ता लगाउन सकेनन् । तेस्रो दिन प्रशासनले जग्गा ईश्वरी राणाले रोक्का गराएको बतायो । शाहले रोक्काको प्रतिलिपि लिए । सहमति लिएकै छोरीले जग्गा रोक्का गरेको देखेपछि उनी भाउन्न भए ।
‘बुबाआमा बिरामी हुनुहन्छ । बाबुको ब्रेन ठिक छैन । बहुलाले खाने औषधि खाइरहनुभएको छ । दानपत्र काम सदर नहोस् । म एउटा छोरी, मेरो सल्लाह नगरी काम नहोस् । जग्गा रोक्का गरिपाउँ,’ रोक्का कागजको विवरण पढेपछि उनी झनै रन्थनिए । छोरीको परिवार सम्पन्न थियो । सुवर्णशमशेरका कान्छा छोरा रुक्मशमशरेसँग उनको विवाह भएको थियो । काठमाडौंमै तीन–चारवटा र भारतको दिल्लीमा समेत घर भएकी छोरीले दान गर्न ठिक्क पारेको जग्गा रोकेको देखेर श्रीजंग मर्माहत भए ।
‘सम्पत्ति रोक्का भइहाल्यो, छोरी घर आउन छाडिन्,’ शाहले भने, ‘मलाई आपत भयो ।’ उनले सिडिओ कार्यालय गएर प्रतिवादी उजुरी दर्ता गर्न खोजे । कार्यालयले इन्कार गर्यो । मौखिक जवाफ दियो, ‘मुख्यसचिवको निर्देशनमा रोक्का भएको हो ।’ शाहले मुख्यसचिव भेट्न खोजे । सकेनन् । प्रशासनले यसबीच अर्को जवाफ दियो, ‘अख्तियारबाट पनि रोक्का छ ।’ ‘अरु कारण देखाएर रोक्का गरेको भए मलाई आपत्ति थिएन । मेरो ‘ब्रेन’ खराब छ, बहुलाको औषधि खाइरहको छ भनेपछि सफाइका लागि अदालत जानुपर्यो,’ उनले भने ।
छोरी ईश्वरीले बुबाको स्वास्थ्य ठिक नभएको भन्दै नक्कली रिपोर्ट पेस गरेकी थिइन् । आमाको स्वास्थ्यसमेत खराब रहेको रिपोर्ट तयार पारेकी थिइन् । जग्गा रोक्का खुलाउन शाह प्रधानमन्त्री कार्यालय पुगे । अख्तियार पुगे । कतैबाट केही सिप लागेन । ९४ वर्षका शाह लौरो टेकेर तत्कालीन भूमिसुधार मन्त्री गोपाल दहितकहाँ पुगे । दहितले मालपोतलाई ‘नामसारी गर्न’ तोक आदेश लगाइदिए । मालपोतले भने थाहै नपाएजस्तो गर्यो ।
‘म त डिल्लीबजार मालपोत कार्यालय प्रमुख सोतीसँग बाझेँ । कहिल्यै राम्रो व्यवहार गरेनन् । तामेलीमा राखिदिन्छु भनेर बडा दुस्ख दिए,’ शाह सम्झन्छन्, ‘मन्त्रीको आदेश पनि मानेनन् ।’ उनले मालपोतविरुद्ध सूचना हकअनुसार निवेदन दिए । मालपोतले जग्गा दर्ता पास गर्न नसकिने भन्दै दरपिठ गरिदियो । उनी दरपिठविरुद्ध काठमाडौं जिल्ला अदालत पुगे । मुद्दा लिएर जानुअघि वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराए । वीरका डाक्टर सुशीलकुमार शाक्यले जाँच गरे ।
उनलाई प्रश्न सोधे । केही लेख्न लगाए । केही पढ्न लगाए । विगतको सम्झना सुनाउन लगाए । ‘यु आर एब्सुलुट्ली अलराइट,’ डाक्टर शाक्यको जवाफले श्रीजंगलाई जंग जितेको महशुस भयो । अदालतमा उनले वीरको स्वास्थ्य परीक्षण प्रतिवेदन पेस गरे । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशकुमार पौडेलले लौरो टेकेर इजलास आएका श्रीजंगलाई प्रश्न सोधे । उनले खुरुखुरु जवाफ दिए । अदालतले उक्त जग्गा शाहले आफूखुसी गर्न पाउने आदेश गर्यो ।
मालपोतको दरपिठ बदर गरिदियो । माघ १२ गते अदालतको आदेशपछि श्रीजंगले फागुन ३ गते आफ्नो घरजग्गा अस्पतालको नाममा दान गरिदिए । ‘धर्मको जीत हुन्छ । हामीले कसैको अपराध गरेका थिएनौं,’ उनले भने, ‘पशुपतिनाथको देशमा इन्साफ पाइँदैन भन्ने हुँदैन ।’ मुद्दा लडेर जग्गा दान दिएका शाहको छोरीसँग पनि कुनै गुनासो छैन । कसैको उक्साहटमा परेको उनी बताउँछन् । मुद्दापछि ईश्वरी एकपटक आमाबुबा भेट्न पुगेकी थिइन् ।
‘झगडा गर्ने कुरा भएन । ज्वाइँले बाँकी जग्गा नबेच्नू भने,’ शाह भन्छन्, ‘आखिर मेरी छोरी हो । कुनै गुनासो छैन । गल्ती त भगवान् श्रीकृष्णले पनि गरे । गल्ती स्वीकार गर्नुपर्छ । गल्ती ठिक छ भन्यो, झगडा बल्झिरहन्छ ।’ एक अर्बको सम्पत्ति अस्पताललाई दान दिएका शाहको कान्तिपथकै अन्य दुई रोपनी जग्गा सूर्य नेपाल कम्पनीले लिजमा लिएको छ । शाह लौरो टेकेर बाहिरभित्र गर्छन् ।
९० वर्षीया श्रीमती र आफ्नो स्याहारका लागि नर्स राखेका छन् । ‘अब कति वर्ष हो कुन्नि, भगवानको कृपाले केही नगरे पनि दुई–तीन वर्ष मलाई खान पुग्ने सम्पत्ति छ,’ शाहले भने, ‘यो सब मैले गरेको होइन । भगवान् पशुपतिनाथले गराइबक्सेको हो । उहाँको इच्छा नभए तपाईं पत्ता हल्लाउन सक्नुहुन्न ।’ शब्द : मनोज सत्याल, तस्वीरहरू : नारायण महर्जन, भिडियो : रमेश कार्की/सेतोपाटीबाट
।