सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा आयुर्वेद स्टिम बक्स उपचार पद्दती


संगिन शर्मा । बाँके । आयुर्वेद औषधालय कोहलपुर शाखाले अत्याधुनिक प्रविधिको स्टिम बक्स भित्राएको छ । आयुर्वेदिक पद्दतीबाट बिभिन्न रोगहरुको उपचार गर्दै आएको शाखाले स्वधन (बाफले सेक्ने) र स्नेहन (मसाज गर्ने) पद्धती मार्फत उपचार सेवा प्रारम्भ गरेको हो ।
स्टिम बक्सको माध्यमबाट बाथको समस्या भएकाहरु तथा हाड जोर्नी, नशा र ढाडका बिरामीहरुले सहज रुपमै स्वास्थ्य लाभ गर्ने भएकाले यस्तो प्रविधि भित्र्याइएको आयुर्वेद औषधालय कोहलपुर शाखाका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिरामीहरुलाई विशेषरुपमा तयार पारिएको काठको बाकसमा राखी बाफका माध्यमबाट उपचार गर्ने पद्दतीलाई नै स्टिम बक्स वा स्वधन प्रविधि भनिन्छ ।
अण्डकोषको समस्याबाट गुज्रिरहेका कोहलपुरस्थित कालिकानगर १० का लक्ष्मीप्रसाद काफ्लेले नयाँ प्रबिधि निकै सहज र भरपर्दो रहेको बताए । हाडजोर्नीको समेत समस्या रहेको बताउँदै काप्mलेले स्टिम बक्स प्रविधिबाट उपचार गराएको १ हप्तामै राम्रो सुधार भएको प्रतिक्रिया दिए । आयुर्वेद औषधालयको केन्द्रिय कार्यक्रम अनुसार सबै जिल्लाहरुमा शाखा बिस्तार गर्ने क्रममा कोहलपुर शाखाले पनि स्टिम बक्स र शिरोधारा प्रविधि भित्र्याएको कार्यालय प्रमुख श्रेष्ठ बताउँछन् ।
विगत लामो समयदेखि विभिन्न रोगले ग्रसित बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको औषधालयले आफ्नो सेवा विस्तार गर्ने क्रममा नयाँ प्रविधि भित्राएको बताउँदै श्रेष्ठले दैनिक २० देखि २५ जना विरामीहरुले सेवा लिदै आएको जानकारी दिए । यद्यपी आवश्यक जनशक्तिको अभावमा प्रभावकारी सेवा दिन नसकेको श्रेष्ठले गुनासो गरे । दरबन्दी अनुसारको कर्मचारी नभएकाले कार्यालय सहयोगीको भरमा सेवा संचालन गर्नुपरेको उल्लेख गर्दै श्रेष्ठले स्थानिय सरकारमार्फत आवश्यक जनशक्ती पूर्तिका लागी पहल गरिएको जानकारी दिए ।
कोहलपुर नगरपालिकासँगको समन्वयमा जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम समेत सञ्चालन गर्दै आएको आयुर्वेद औषधालय कोहलपुरले निशुल्करुपमा अस्वगन्धा र आमलकी चुर्नसमेत वितरण गर्दै आएको छ । सबै रोगका बिरामीहरुले प्रयोग गर्न मिल्ने भएकाले नगरभित्रका वृद्धवृद्धाहरुलाई निशुल्क रुपमा आयुर्वेदिक औषधिहरु वितरण गर्दै आएको श्रेष्ठले बताए । नगरपालिकाले सो कार्यक्रमका लागी ५ लाख बजेट छुट्टाएको बताउँदै श्रेष्ठले स्थानिय रुपमै जडिबुटि उत्पादन गर्नुपर्नेमा जोड दिए ।
‘स्थानीयस्तरमा उत्पादन हुने जडिबुटिबाट गुणस्तरीय औषधी उत्पादन गर्न सकिन्छ,’ श्रेष्ठले भने, ‘कोहलपुर नगरपालिकाले औषधि उत्पादनका लागि आवश्यक मेसिन उपलब्ध गराएको खण्डमा हामी आफै औषधी उत्पादन गर्न सक्षम छौं ।’ श्रेष्ठले निकट भविश्यमै औषधालय परिसरमा विभिन्न प्रजातीका जडिबुटीहरु उत्पादन गर्ने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ०६:०४