सूचनाको शक्ति - The Power Of Information

        

समाचार

राम्रा कामका लागि ओलीलाई धन्यवाद : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि ओलीलाई धन्यवाद दिएका छन् । ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुने देउवाले बताएका छन् । कमी कमजोरीहरू सच्याउँदै सबैले मिलेर अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाले बताएका छन् ।

प्रधानमन्त्री देउवाले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गरे । प्रधानमन्त्री देउवाको प्रस्तावपछि संसदमा दलका प्रतिनिधिहरुले बोल्ने क्रम सुरु भएको छ । यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई कोभिड प्रकोपबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत लिन प्रस्ता पेस गर्ने क्रममा प्रधानमन्त्री देउवाले जनतालाई कोभिड–१९ को प्रकोपबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता हुने बताए । ‘सरकारले कोभिड रोकथामका लागि सबै उपाय अवलम्बन गर्ने छ भन्ने विश्वास दिलाउन चाहन्छु,’ देउवाले भने । प्रधानमन्त्री देउवाले अहिले मुलुक जटिताको स्थितिमा रहेको र कोभिडले प्रभावित भएको बताए ।

‘हामी सबैसँग आ–आफ्नो अनुभव छन् । ओलीले तीन वर्ष सरकारको नेतृत्व गर्नुभएको छ । उहाँले गर्नुभएका राम्रा कामका लागि धन्यवाद दिन चाहन्छु । हामी राजनीतिक दलहरु एक अर्काका शत्रु होइनौं । बरु हाम्रा साझा उद्देश्य प्राप्तिका लागि सहयात्री हौं भावनाका साथ काम गर्नुपर्छ,’ देउवाले भने । प्रधानमन्त्री देउवाले पटक पटक प्रतिनिधि सभाको विघटनका कारण देशका केही समय राजनीतिक अन्योलताको स्थिति भोग्नुपरेको बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १८:४३