सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण

बझाङमा वडा सचिव र प्राविधिकमाथि मुद्दा दर्ता

बझाङ । बझाङको बुंगल नगरपालिमा सामाजिक सुरक्षा भत्ताको रकम चोरी भएको प्रकरणमा वडासचिव र प्राविधिक सहायकको नाममा मुद्दा दर्ता गरिएको छ । घटना रहस्यमय भएको भन्दै वडासचिव ओपिन्द्र महतो र सोही वडामा कार्यरत प्राविधिक सहायक खड्कबहादुर सिंहमाथि मुद्दा दर्ता गरिएको हो ।

लाभग्राहीलाई वितरण गर्न भनेर लगिएको सामाजिक सुरक्षा भत्ताबापतको ३९ लाख रकम वडासचिव महतोको कोठाबाट बुधबार राती चोरी भएको थियो । वडा सचिव महतोले अहिले बुंगल–९ र ११ को प्रसासनिक जिम्मेवारी सम्हाल्दै आएका थिए । वडासचिव महतो र प्राविधिक सहायक सिंहमाथि मुद्दा दर्ता गरी छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमल चौधरीका अनुसार वडा नं ११ का वडाध्यक्ष रामबहादुर बोहराले विश्वासघात गरेर आर्थिक तथा आपराधिक लाभ लिन खोजेको भन्दै सचिव महतो र प्राविधिक सहायक सिंहको नाममा मुद्दा दर्ता गराएका छन् । वडाध्यक्ष बोहराले आफुले सामाजिक सुरक्षा बाफतको वडा सचिव महतोले ल्याएको र लाभग्राहीलाई रकम वितरण हुन लागेको बारे जानकारी नभएको बताए ।

उनले भने, ‘यस विषयमा कुनै जानकारी हामीसँग भएन । त्यत्रो पैसा ल्याएपछि कम्तीमा पनि हामी जनप्रतिनिधिलाई सामाजिक सुरक्षा भत्ताको रकम ल्याएको छु अब वितरण गर्नुपर्छ । कहिले गर्ने ? कसरी गर्ने ? भनेर जानकारी दिनुपर्ने हो । तर सचिवले यस बारेमा हामीलाई कुनै जानकारी दिनुभएन । एक्कासी रकम चोरी भयो भनेपछि सामाजिक सुरक्षा भत्ताको रकम बुझेर ल्याएको रहेछ भन्ने थाहा पाएको हुँ ।’

घटनाको प्रकृति हेर्दा चोरी भएको भनिएको ठाउँमा शंकास्पद गतिविधि केहि नभएकाले घटना रहस्यमय भएको स्थानीय बताउँछन् । स्थानीय खडक बोहराले भने, ‘चोरी भएको भए कोठा तोडफोड हुनुपर्ने हो । त्यत्रो पैसाभित्र भएको बेला सचिवले कोठा खुलै नराख्नुपर्ने । कोठा खुलै भए पनि दराज तोडफोड हुनुपर्ने हो । चोरी भएको शंका गर्ने केहि आधार छैन, कसरी पैसा चोरी भयो ? यो घटना योजनावद्ध र सुनियोजित छ ।’

वडा नम्बर ११ का सदस्य धनवीर बोहराको घरमा भाडामा बस्दै आएका वडा सचिव महतो गत मंगलबार मात्र सदरमुकाम चैनपुरबाट रकम बुझेर वितरण गर्न वडा कार्यालय पुगेको र बुधबार सचिव महतोले सामाजिक सुरक्षा भत्ताको २९ लाख ३१ हजार रकम बुधबार वितरण गरिसकेको प्रहरीसमक्ष बयान गरेका थिए । सचिव महतोले आफू बस्ने कोठाभन्दा पर रहेको वडा कार्यालयमा इन्टरनेट चलाउन गएको बेला पैसा चोरी भएको बताएका छन् ।

प्रहरीले भने चोरी भएको भनिएको कोठा तथा पैसा राखिएको दराजमा कुनै तोडफोड नभएको जनाएको छ । वडा सचिव ओपिन्द्र महतो र प्राविधिक सहायक खड्कबहादुर सिंहलाई आपराधिक विश्वासघात गर्न नहुने अन्तरगत मुद्दा दर्ता गरेर पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १६:१३