काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापतिका आकांक्षीहरुको दौडधुप र बैठकहरुले तीब्रता पाएका छन् । यसक्रममा शनिबार कोइराला परिवारका तीन नेताको लन्च मिटिङ्ग भयो । काँग्रेस मुलतः कोइराला परिवारको विरासतमा स्थापित पार्टी हो ।
तर, १३ औं महाधिवेशनदेखि पार्टीको कमाण्ड कोइराला परिवारबाट टाढा गएको छ र सरकारको नेतृत्व गरे पनि इतिहासमै काँग्रेस यति कमजोर पनि छ । यहिबेला शनिबार बीपी पुत्र महामन्त्री डा.शशांक कोइराला, नोना पुत्र केन्द्रीय सदस्य डा.शेखर कोइराला र गिरिजा पत्री केन्द्रीय सदस्य सुजाता कोइरालाबीच महामन्त्री कोइरालाको निवासमा छलफल भएको छ ।
शनिबार महाराजगन्जस्थित महामन्त्री शशांक कोइराला निवासमा भएको छलफलमा राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको हो । कोइराला परिवारभित्र पार्टीको कमाण्ड फेरि कोइराला परिवारमै फर्काउने गरी छलफल भएको छ । यी तीनैजना कोइराला सभापतिका आकांक्षी हुन् । तीमध्ये सुजाताको स्वर अलि कमजोर छ ।
तर, शशांक र शेखर भने आफू नै उम्मेदवार हुनुपर्ने भन्दै तिब्र तयारी गरिरहेका छन् । संस्थापन इतर समूहलाई एकजुटमात्र बनाएर नपुग्ने र कोइराला परिवारभित्र पनि एकजुट हुनुपर्ने अवस्था देखिएपछि कोइराला परिवारका नेताहरुले लामो समयपछि शनिबारका लन्च मिटिङ्गमा सामान्य पारिवारिक भेटघाट भएको शशांकको सचिवालयले जनाएको छ ।
शशांकका स्वकीय सचिब भरत तिवारीले भने, ‘यो सामान्य पारिवारिक भेट हो । तर, यस्तो बेला भएको भेटमा राजनीतिक विषयमा छलफल त हुने नै भयो । कोइराला परिवार मिलेर जानुपर्छ भन्नेमा छलफल भएको छ ।’ तीन कोइरालाहरु मिलेर जानुपर्छ भन्ने भए पनि कसरी मिल्ने भन्ने विषयमा भने हालसम्म कुनै सुत्र फेला नपरेको शेखर निकट स्रोतले बतायो ।
स्रोतले भन्यो, ‘मिलेर जाने भन्ने कुरा त भएको छ । तर कसरी, कसलाई अगाडि सार्ने भन्ने विषयमा कुनै फर्मुला फेला परिसकेको छैन ।’ १३ महाधिवेशन लगत्तै देश दौडाहा शुरु गरेर सभापतिको भावी उम्मेदवार बन्ने घोषणा गरेका शेखर सजिलै ब्याक हुने सम्भावना छैन भने शशांकले भने वर्तमान सभापति शेरबहादुर देउवालाई पराजित गर्न सक्ने आफूमात्र एक्लो उम्मेदवार भएको दावी गरिरहेका छन् ।
१४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने योजनाका साथ उनी १३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका थिए र जितेका पनि थिए । पार्टीको महाधिवेशनका नजिकिँदै गर्दा कांग्रेस नेताहरु निकै दौडधुपमा देखिएका छन् । नेतृत्व आफ्नो पक्षमा पार्न विभिन्न समुहमा विभाजित भएर लागिपरेका छन् । राष्ट्रिय राजनीतिलाई कांग्रेसको नेतृत्वमा अगाडि बढाउँदै महाधिवेशन सफल बनाउने विषयमा पनि नेताहरुबीच छलफल भइरहेको छ ।
।