सूचनाको शक्ति - The Power Of Information

        

मन्त्री छनोट र महाधिवेशनबारे छलफल गर्न काँग्रेसको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ ।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेका अनुसार शुक्रबार दिउँसो २ बजे बैठक बस्नेमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको १४ औं महाधिवेशनबारे छलफल हुने छ ।

आज प्रधानमन्त्री देउवा विहान १० बजेतिर सरकारी निवास बालुवाटार सर्ने भएकाले बैठक स्थानबारे भने टुंगो नलागिसकेको पौडेलको भनाइ छ । एक घण्टापछि बैठक बस्ने ठाउँको टुंगो लाग्ने उनले बताए ।

पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री भएपछि काँग्रेसबाट आफू निकट बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्र कार्कीलाई कानुनमन्त्री बनाएका छन् । पार्टीभित्र सन्तुलन मिलाएर बाँकी मन्त्री टुंग्याउने काँग्रेस नेताहरुको तयारी छ ।

यस्तै पार्टीको आसन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल हुने छ । क्रियाशील सदस्यता छानबिन समितिले असार समान्तसम्म काम सक्ने भने पनि अझै केही काम बाँकी नै छ।

जसले साउन १२ गतेदेखि सुरु हुने वडा अधिवेशनमा प्रत्यक्ष प्रभाव गर्ने देखिएको छ । त्यसैले भदौँ १६-१९ का लागि निर्धारित महाधिवेशनको मितिबाहेक कार्यतालिका फेरि संशोधन गर्ने काँग्रेसको तयारी छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार ०९:०९