सूचनाको शक्ति - The Power Of Information

        

एमाले संसदीय दल

एमाले संसदीय दलको बैठक आज बस्दै, माधव पक्ष उपस्थित होला ?

बैठक दिउँसो ३ बजे बस्ने

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज(शुक्रबार) बस्दै छ ।

बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाउनुभएको हो ।

साउन ३ गतेलाई संसद बैठक बोलाइएपछि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको भट्टराईले बताउनुभयो ।

बैठकमा माधव नेपाल पक्षका सांसदसहित पार्टीका सबै १२१ सांसदलाई बोलाइएको बताइएको छ । तर, ओलीले बोलाएको उक्त बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ ।

पार्टीभित्र विवाद रहेको र त्यसमा समझदारी नभएसम्म कुनै पनि बैठकमा नजाने नेपाल पक्षका सांसद विरोध खतिवडाले बताउनु भएको छ ।

एमाले वरिष्ठ नेता माधव नेपाल पक्षका २६ सांसदले प्रधानमन्त्रीमा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेपछि ओली प्रधानमन्त्रीबाट हट्नुभएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार ०८:२६