रेनुका गिरी । बुटवल । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमाले र माओवादीको सरकारबाट मुलुकमा समृद्धि आउनै नसक्ने बताएका छन् ।
पार्टीको संघिय परिषदको चौथो विस्तारीत बैठकको बुधबार उद्घाटन गर्दै भट्टराईले सत्तामा गएर बाम गठबन्धनले देश खाएपनि मुलुकमा समृद्धि ल्याउन नसक्ने बताएका हुन् । उनले मुलुकमा नयाँ विकल्पको खाँचो भएकाले नयाँ शक्ति पार्टी बनाएर अघि बढेको उल्लेख गरे ।
उनले डाक्टरले मात्र क्यान्सर देख्ने र सामान्य आँखाले देख्न नसक्ने भन्दै अन्य दलले मुलुकलाई पार लगाउन नसक्ने बताए । नेता भट्टराईले सही विचार लिनेहरु कहिलेकाहिँ एक्लै पर्ने गरेको भन्दै गौतम बुद्ध पनि एक्लै परेको उल्लेख गरे ।
‘गौतम बुद्ध पनि ६ जनाको टोली बनाएर ध्यानमा बसेका थिए, पाँच जनाले छाडेपछि उनी एक्लै भए । आफ्ना पिता राजाले नौ पटक बोलाउँदा पनि उनी गएनन् बरु दूतलाई नै आफ्नो विचारमा सहमत गराए,’ भट्टराइले भने, ‘पुराना शक्तिबाट हामीलाई पनि नबोलाइएको होइन, तर हामी लोभमा फस्दैनौ ।’
उनले छिटो सत्तामा पुगिन्छ भन्ने सोचले पार्टीका केही नेता पलायन भएको टिप्पणी गरे । फागुन १२ गतेसम्म चल्ने परिषद् बैठकले पार्टीको भावी रणनीति बनाउने नेता विश्वदीप पाण्डेले जानकारी दिए ।
।