बाँके । नेपालगन्ज उपमहानगरपालिकाले छात्रा डिग्री कलेज सञ्चालन गर्न लागेको छ । उपमहानगरपालिकाले भवन निर्माण अन्तिम चरणमा पुगेको र विश्वविद्यालयसंँग आबद्धता लिने प्रक्रिया पनि सुरु गरिएको जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–८ स्थित मङ्गलप्रसाद माध्यमिक विद्यालयको प्राङ्गणमा निर्माण भइरहेको अत्याधुनिक ४० कोठे भवनमा ‘नेपालगन्ज छात्रा कलेज’ सञ्चालन गरिनेछ । पश्चिम नेपालमा छात्राका लागि मात्रै उच्च शिक्षाको कुनै पनि छुट्टै कलेज नरहेकोले यहाँका मधेसी र मुस्लिम समुदायका मागअनुसार ‘नेपालगन्ज छात्रा कलेज’ सञ्चालन गर्न लागिएको नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापामगरले बताइन् ।
उनले नेपालगन्जमा छात्राका लागि मात्रै सरस्वती माध्यमिक विद्यालय र सल्यानीबाग कन्या विद्यालय सञ्चालनमा रहेको जनाउँदै ती विद्यालयबाट पढेका छात्रालाई उच्च शिक्षा प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले डिग्री कलेज सञ्चालन गर्न लागिएको बताइन् । कलेज सञ्चालनका लागि भवन निर्माण अन्तिम चरणमा पुगेको र मध्यपश्चिम विश्वविद्यालयसंँग आबद्धता लिने प्रक्रियासमेत सुरु गरी सकिएको जनाउँदै उपमेयर मगरले नयाँ आर्थिक वर्षमा कलेज सञ्चालन गरिने बताए ।
उनले ५०० छात्रा अटाउने गरी नौ करोडको लागतमा चार तले ४० कोठाको अत्याधुनिक भवन निर्माण भइरहेको जनाइन् । नेपालगन्ज उपमहानगर वडा नं.८ का वडाध्यक्ष सुरेन्द्र वैश्यले मधेसी र मुस्लिम समुदायका छात्रालाई उच्च शिक्षाका लागि कुनै पनि समस्या नहुनेसमेत बताए ।
केही वर्ष पहिलेसम्म यहाँ सरस्वती बालिका विद्यालय मात्र रहेकोले अधिकांश मुस्लिम र मधेसी समुदायका छात्रा सोही विद्यालयमा अध्ययनका लागि जाने गरेकोमा हाल आएर सल्यानीबाग कन्या विद्यालयसमेत सञ्चालनमा रहेकोले त्यहाँ पनि सोही समुदायका अधिकांश बालिका अध्ययन गरिरहेका छन् । ‘नेपालगन्ज छात्रा कलेज’ सञ्चालनमा आएपछि यहाँका मधेसी मुस्लिम र अन्य समुदायका समेत छात्रालाई उच्च शिक्षाका लागि सहज हुने लामो समयदेखि अध्यापनमा लागेकी किरन आचार्यले बताइन् ।
।