सूचनाको शक्ति - The Power Of Information

        

आज र भोलि दिउँसोपछि पानी पर्ने सम्भावना

काठमाडौँ । अहिले देशका धेरै ठाउँमा पानी पर्न रोकिएको छ ।

आज र भोलि लगातार झरी पर्ने सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन् ।

बिहान र दिउँसोको समयमा पानी नपरे पनि बेलुका र रातिको समयमा पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यस्तै यी प्रदेशमा चट्याङ्ग पर्ने सम्भावना पनि रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

यसपालि मनसुन भित्रिएसँगै लगातारजसो भइरहेको वर्षाले धेरै ठाउँमा बाढी पहिरो गएको छ । नेपालमा जेठमा मनसुन भित्रिएको थियो ।

गृह मन्त्रालयका अनुसार पछिल्लो तीन महिनामा प्राकृतिक विपद्का घटनामा परेर १ सय १४ जनाको ज्यान गएको छ ।

वैशाख १ गतेदेखि हिजोसम्मको तथ्याङ्कले पहिरोमा २९, बाढीमा २७ र डुबानमा परेर ८ जनाको ज्यान गएको देखाएको छ ।

यस्तै, चट्याङ्गबाट ३५ जना, आगलागीबाट ११, डढेलोबाट ३ जना र हावाहुरीका कारण एक जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

यसपालि अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम धेरै रहेको विज्ञले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार ०८:०७